तातोपानी गाउँपालिकाको कार्यालय परिसरमै स्याउ बगैंचा

जुम्लाको तातोपानी गाउँपालिकाले कार्यालय परिसरमा स्याउ बगैंचा स्थापना गरेको छ । कार्यालय वरिपरि खाली रहेको झण्डै तीन हजार वर्गमिटर जग्गामा स्याउ बगैंचा स्थापना गरिएको हो । पहिलो चरणमा ६५ वटा स्याउका विरुवा रोपेर बगैंचा स्थापना गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।
उनका अनुसार किसानहरु स्याउ नर्सरीबाटै विरुवा खरिद गरेर बगैंचा स्थापना गरिएको हो । हरेक शनिबार अनिवार्य जनश्रमदान गर्ने पालिकाको नीति अनुसार स्याउ रोपण गरिएको गाउँपालिकाले जनाएको छ । स्याउका विरुवा रोप्न उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश जगदिश घिमिरे र जिल्ला अदालतका न्यायाधीश कैलास गुरुङ समेत पुगेका थिए ।
![]()
कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा स्याउका विरुवा रोपिएको अध्यक्ष चौलागाईले बताए । यो बगैंचालाई पालिका भित्रको नमुना बगैंचा बनाएर किसानहरुलाई हौसला प्रदान गर्ने उद्धेश्य रहेको उनको भनाइ छ ।
बगैंचामा स्याउका विरुवा रोप्न जनप्रतिनिधिहरु, कर्मचारीहरु, सर्वसाधारण नागरिक र कृषिक्षेत्रसँग सरोकार राख्ने निकायाहरुको उपस्थिति रहेको थियो । पालिका वरिपरि धेरै जमिन बाँझो रहेकोले स्याउको विरुवाहरु रोपेर बगैंचा निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिए ।
पालिका कार्यालय परिसरमै स्याउको बगैंचा स्थापना हुँदा जुम्ली स्याउको व्यापक प्रचार प्रसार हुने र बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ । बगैंचाको संरक्षण पालिकाले गर्ने भएकोले घेराबार गर्ने र उचित मलको प्रबन्ध समेत हुने छ । अध्यक्ष चौलागाईले भने, ’यो बगैंचा आन्तरिक आम्दानीको स्रोत बन्नेछ । केही व्यक्तिहरुले रोजगारी पाउनेछन् । पालिका वरपरको वातावरण निकै सुन्दर हुने अपेक्षा राखिएको छ ।’ यो बगैंचालाई पालिका भित्रका स्याउ किसानहरुको तालिम केन्द्रको रुपमा विकास गर्ने तयारी पालिकाले गरेको छ ।
अब स्याउ सम्बन्धिका हरेक कार्यक्रमहरु यो बगैंचामै हुनेछन् । प्रत्यक्ष स्याउका विरुवासंगै राखेर मलखाद्य व्यवस्थापन,स्याउ काँटछाँट र माटो परीक्षणका कामहरु हुने कृषि शाखाले जनाएको छ । बगैंचामा रेड, रोयल र गोल्डेन डेलिसियस जातको स्याउ रोपिएको छ ।
भौगोलिक रुपमा विकट र स्याउको उच्च संभावना भएको पालिका भएकोले स्याउ खेतिलाई प्राथमिकताका साथ अघि बढाएको तातोपानीले जनाएको छ । आगामी बर्षहरुमा ओखरका विरुवाहरु समेत रोपिने गाउँपालिकाको भनाइ रहेको छ । अहिले किसानहरुको बगैंचामै कृषि प्राविधिकहरु खटाएर स्याउ बगैंचा व्यवस्थापनको कक्ष चलिरहेको छ । अब पालिकाको बगैचामै किसानहरु बोलाएर प्रशिक्षण दिइने छ ।






