यो वर्ष जुम्ली घोडा दौड गुठिचौरमा हुने
कर्णाली खेलकुद क्लब जुम्लाले सातौँ घोडा दौड गुठीचौरमा गर्ने भएको छ । फुलपातीको दिन घोडा दौड प्रतियोगिता गरिने भएको हो । पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणका लागि घोडा दौड प्रतियोगिता गरिएको कर्णाली खेलकुद क्लबका उपाध्यक्ष डाक्टर नविन थापाले बताए ।
गुठीचौर युवा क्लब र कर्णाली खेलकुद क्लबको आयोजना तथा गुठीचौर गाउँपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाको प्रायोजकमा घोडा दौड प्रतियोगिता हुने छ ।
पत्रकार भेटघाट मार्फत गुठीचौरमा घोडा दौड हुने जानकारी गराइएको हो।घोडा दौडमा प्रथम हुनेलाई १५ हजार, द्धितिय हुनेलाई १० हजार र तृतिय हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने डाक्टर थापाले जानकारी गराए । उनका अनुसार, घोडालाई दाना, मालिकलाई खाना र सम्मान पत्र समेत प्रदान गरिने छ । हालसम्म ३० वटा जति घोडा पालक किसानहरु सम्पर्कमा छन् । लगभग ७० वटा जति घोडा प्रतियोगितामा दौडिने अनुमान गरिएको गरिएको छ । विगतमा जुम्ला सदरमुकामको राजासिममा घोडा दौडाउने गरिएको र हाल उक्त स्थानमा रंगशाला निर्माण भइरहेको हुनाले दिगो रुपमा घोडा दौड गर्नको लागि गुठीचौर क्षेत्रलाई छनोट गरिएको हो ।
जुम्ली घोडाको पहिचान भारत र चीन लगायतका देशसम्म रहेकाले यसको प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिएको कर्णाली स्पोर्ट क्लबले जनाएको छ । २०५४ सालभन्दा अगाडि हरेक वर्ष जुम्ली घोडाबीच सरकारी तवरबाटै प्रतिस्पर्धा गराइने भए पनि जुम्ला विमानस्थल कालोपत्रे भएसँगै घोडा दौड प्रतियोगिता बन्द भएको थियो ।
मौलिक परम्परा र पहिचानको प्रचारप्रसार गर्नका लागि घोडा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । घोडा दौडमा गुठीचौरले १ लाख र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले १ लाख बराबर सहयोग गर्ने आयोजनक कर्णाली खेलकुद क्लबले जनाएको छ ।