डोल्पामा आगो निभाउने क्रममा चार सैनिक घाइते, हेलिकोप्टरबाट उद्धार

हिमाली जिल्ला डोल्पामा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा नेपाली सेनाका चार जना घाइते भएका छन् ।
ठुलिभेरी नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइसकेको आगो सोमबार पुनः आगो फैलिएपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका हुन् ।
घाइते हुनेमा ३० वर्षीय विजय कोइराला, ३८ वर्षीय जमदार केशर बहादुर मगर,२८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोक कुमार कार्कीले जानकारी दिए ।
आइतबार निभाइसकेको आगो सोमबार पुन सुरु भएपछि सैनिकहरू निभाउन गएका थिए। जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको सेनानी कार्कीले बताए । पहिलो चरणमा घाइते दुई जनाको हेलिकोप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएको बाँकी दुई जना उद्धारका लागि हेलिकोप्टर आउन लागेका उनले बताए ।
सैनिकहरू आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका जवान पोलिएको सेनाले जनाएको छ । आइतबार देविदत्त गुल्मका सैनिक जवानहरूले आसपासको फोहोर जलाउने क्रममा आगो नजिकैको वनमा सल्किएपछि आगलागी सुरु भएको थियो ।





