हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ

हुम्लामा दैनिक आठ घण्टा लोडसेडिङ
हुम्ला, २३ पुष ।
हिल्दुम् विद्युत वितरण केन्द्रले हुम्लामा लोडसेडिङको समय बढाएको छ ।
वितरण केन्द्रका प्रमुख नारायणप्रसाद कर्णका अनुसार पावर हाउसका लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ तालिका बढाइएको हो ।
उनले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको केन्द्रले हाल दैनिक आठ घण्टा लोडसेडिङ गर्नु परिरहेको बताएका हुन् ।
यसअघि चारदेखि पाँच घण्टा मात्र लोडसेडिङ हुने गरेको थियो। पहिलेको हिउँ पग्लिसकेको र यसवर्ष हालसम्म हिमपात नभएको कारण पावर हाउसलाई आवश्यक पानीको स्रोत कम भएको हो ।
पाँच सय किलोवाट विद्युत उत्पादन क्षमता भएको पावर हाउसले हाल सामान्य र पिक हावरमा एक सयदेखि दुई सय किलोवाटसम्म मात्र विद्युत उत्पादन हुने गरेको छ । जबकि हाल सिमकोटमा एक मेघावाटभन्दा बढी विद्युतको माग रहेको छ ।
सिमकोट बजारका व्यवसायी लोकेन्द्र रावतले केन्द्रले लोडसेडिङ समय बढाएपछि उपभोक्ता मारमा परेको बताए ।
लोडसेडिङ बढेपछि फर्निचर उद्योग बन्द भएका छन् भने सेवाग्राहीले इलोक्ट्रोनिक्सका सामानहरू प्रयोग गर्न छोडेका छन् ।
बिहान र बेलुकाको समयमा विद्युत आपूर्ति नहुने भएको कारण सेवाग्राहीले दाउरा खपत भने बढाएका छन् । यसबाट तीन हजारभन्दा बढी सेवाग्राही समस्यामा परेका छन् ।






