२०८३ असार ४ गते
×

Now Playing

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थन्किए


पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेसिनहरू नेपालगन्जको रुपैडिया नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपैडिया नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएका हुन् ।

खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको बताएको छ ।

माघ २१ गते अर्थ मन्त्रालयमा खानी तथा भूगर्भ विभागले पेट्रोलियम अन्वेषण परियोजनाका नाममा सम्पूर्ण कर तथा महसुल छुट दिने भन्ने पत्र पठाएको थियो । अन्वेषण परियोजना प्रमुख दिनेश नापितले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको निर्णय नगरिदिँदा ट्रान्सपोर्ट कम्पनीलाई लाखौंको पेनाल्टी तिर्नु पर्ने बताए । उनले भने, ‘ढोकैमा आएको सामानको पनि दोहोरो भाडा तिर्नु पर्ने भयो ।’

२०८० असोज २२ गते गरेको पहिलो चरणको निर्णयमा चाइना जियोजिकल सर्भेका नाममा निर्णय भएको थियो तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनु पर्ने भन्दै अर्थ मत्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो । ’पत्रमा नाम परिवर्तन गरेको निर्णय गरिदिए भन्सारबाट धमाधम सामान जान्छ । एउटा पत्रका कारण सामान रोकिनु नपर्ने हो,’ परियोजना प्रमुख नापित भन्छन्, ‘चिनियाँ टोलीले हामीलाई फेलर भनिसक्यो ।’

दैलेखमा ९ जना चिनियाँ प्राविधिक टोली पुगेको छ । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजना ड्रिलिङ प्रक्रियामै थन्किएको छ । नेपाल र चीन सरकारबीच सन् २०१७ मा परियोजनामा सम्झौता भएको थियो ।

दैलेखमा पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपैडिया नाकामै थन्किए

लामाको कृति ‘अमरभूमि’ बजारमा