विकासका लागि सडक नै बाधक

तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र समृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । भेरी करिडोर सडक आयोजनाले डोल्पाका लागि मुख्य सडक सञ्जाल जोडिने आधारको रूपमा रहँदै आएको छ ।

यो सडक जाजरकोट सदरमुकामबाट ५६ किलोमिटर अर्थात् तल्लुसम्म मात्र पिचका लागि दुई वर्षअघि लागेको ठेक्काको काम भइरहेको छ । भेरी करिडोरभित्रको जाजरकोटको अन्तिम भाग तल्लुबाट डोल्पाको सदरमुकाम दुनैसम्म ६२ किलोमिटर रहेको छ । यो सडकको अस्थायी ट्याक खोल्ने काम नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी नेतृत्वको टिमले गरेको थियो ।

हालसम्म सोही सडकमा केही साना सवारीसाधन चल्ने गरेका छन् । ठूला सवारीसाधन चल्नका लागि सडकको स्तरोन्नतिको काम हुन सकेको छैन । सेनाले गरेको ट्याक ओपनको काममाथि नै अहिले सबै खालका डोल्पाका क्रियाकलाप हुँदै आएका छन् । राज्यले डोल्पाको सदरमुकामसम्म सडक पु¥याउने लक्ष्य कागजमा पु¥याए पनि डोल्पालीले अनुभूति गर्ने खालको गरी पु¥याउन नसकेको ठूलीभेरीका जयकृष्ण हमालले बताए ।

ठाउँठाउँमा निर्माण हुने पुलको काम पनि जहाँको त्यहीं छ । भाषणमात्र सबै थोक भइसक्यो भन्ने तर व्यावहारिक रूपमा कुनै पनि काम नहुँदा आफूहरू दुःखी भएको उनको भनाइ छ । अघिल्लो वर्ष तल्लुबाट दुनैसम्म पिचका लागि आउनु पर्ने बजेट अहिलेसम्म स्वीकृत नहुँदा तल्लुदेखि दुनैसम्मको काम हुन सकेको छैन । भेरी करिडोरका लागि भन्दै ५० करोड बजेट विनियोजन गरेको सरकारले अहिले चालू अवस्थामा रहेको सडकमै सो बजेट नपुग्ने देखिन्छ ।

उत्ता जगदुल्ला जलविद्युत आयोजना एक सय ६ मेगावाटको केही समयभित्र निर्माणका लागि बोलपत्र गर्ने तयारी भए पनि भेरी करिडोरसँग जोडिएको त्रिवेणीस्थित पुल निर्माण कार्य पूरा नहुँदा समस्या भएको छ । आयोजनाले आफैंले गरेको बोलपत्र पुल निर्माण गर्नका लागि क्याराभानलाई जिम्मा दिएको थियो । क्याराभानले पाएको उक्त ठेक्का रेट्रोलाई बिक्री गरेर जिम्मेवारीबाट पन्छिए पनि पुल निर्माणको काम झनै ढिला भएको छ ।

पुल निर्माण एक वर्षभित्र गरिसक्ने भने पनि भाका नाघेर दुई वर्ष पछाडि धकेलिँदा पुल निर्माण हुने कुनै छाँट देखिएको छैन । आयोजना स्थलसम्म जानका लागि उक्त पुल भेरी नदीमा छिटो बनाउनु पर्ने दबाब परे पनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारी गफ लगाएर सबै काम हुन्छ भन्दै उच्च अधिकारीलाई आफ्नो पक्षमा ल्याउने काममा समय खर्च गरिरहेको आरोप लाग्दै आएको छ ।

त्रिवेणीबाट मुडकेचुला गाउँपालिकाको इलसम्म सडक निर्माण तत्काल गर्नुपर्ने भए पनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरू सबै काम गतिमै छ भन्दै गलत जानकारी दिने गरेका छन् । यद्यपि फिल्डमा खासै कुनै पनि काम नभएको डोल्पा त्रिपुराकोटका स्थानीय पत्रकार विष्णु देवकोटाले जानकारी दिए ।

आयोजनास्थलमा जान र आउनका लागि पूर्वाधार विकास कार्यालयले खोलेको ठेक्काको काम बल्ल सुरु भएको छ । त्यहाँ रहेको कडा चट्टान फोर्नका लागि विस्फोटनका काम बल्ल सुरु भएका छन् । त्रिवेणीदेखि माथि अर्थात् डोल्पाको दुनैसम्म अहिले केही ठाउँमा अस्थायी बेलिब्रिज निर्माण गरेर यातायातका साधन सञ्चालनमा छन् । बेलिब्रिज भएको ठाउँमा पुल निर्माणका लागि भएका ठेक्काको काम अझै सुरु हुन सकेको छैन ।

निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायी शक्ति केन्द्र धाउँदै ठेक्काको म्याद थप्ने काम गरिरहेको पाइएको छ । त्रिवेणीदेखि माथि डोल्पाका बाँकी ६ वटा पालिका रहेका छन् । सडक निर्माण तीव्र बनाई डोल्पाको दुनैसम्म मात्र पिचको काम भएमा मात्र डोल्पाको ६० प्रतिशत अप्ठ्यारो काम हल हुने प्रदेशसभा सदस्य शेरबहादुर बुढाले बताए । अस्थायी कच्ची सडकमा अहिले यातायातका साधन सञ्चालन गर्दा मृत्यु मार्गमा यात्रा गरेझै हुने बुढाले जानकारी दिए । जाजरकोट खण्डमा निर्माण गर्नुपर्ने पुलसमेत अहिलेसम्म निर्माण भएका छैनन् ।

जाजरकोट खण्डमा सबै काम पुरा नहुन्जेलसम्म डोल्पा जान सहज नहुने देखिन्छ । भेरी करिडोर जाजरकोट रुकुम पश्चिम हुँदै डोल्पामा जोडिने गर्दछ । भेरी करिडोर सडक आयोजनाको बाँकी भागमा ठेक्का खोल्नका लागि आयोजनाका अधिकारीहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालय धाउँदा धाउँदा हैरान भएको बताउने गरेका छन् । उपल्लो डोल्पाका तीन पालिकामा हुने विकास निर्माणका काम यही सडकका कारण ढिलो हुँदै गएको छ । दुनैबाट उपल्लो डोल्पा जान र आउन अझै पैदल यात्रा गर्नुपरिरहेको छ ।

दैनिक उपभोग्य सामग्रीदेखि अन्य सामान लिनसमेत घोडा, खच्चड तथा मानिसले पिठ्यूँमा बोक्नु पर्ने बाध्यता रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । राज्यले हामीलाई अकै देशको नागरिक झैं व्यवहार गरेको उनको आरोप छ । डोल्पाको भान्सा अझै भारी महँगो रहँदै आएको छ । इन्धनदेखि अन्य दैनिक उपभोग्य सामग्री डोल्पा लिनका लागि बाँकेको राँजास्थित विमानस्थलबाट हवाइ मार्ग हुँदै डोल्पाको जुफाल पुग्ने गरेको छ । समय समयमा कुहिएको मासुदेखि अखाद्य वस्तु डोल्पा पुग्ने गरेको छ ।

राँजा विमानस्थलमा डोल्पा पठाउने कुनै पनि सामग्रीको जाँच नहुँदा यस्तो समस्या हुँदै आएको हो । भारी सम्भावना रहेको डोल्पामा विकास निर्माणको काममा भएको सरकारी विभेदका कारण यहाँका नागरिक पीडित बन्दै गएका छन् ।

विकासका लागि सडक नै बाधक

YUGAAWHAN NATIONAL DAILY (2080-09-19)

विकासका लागि सडक नै बाधक

३४ औँ राष्ट्रिय पुरुष भलिबल सुर्खेतमा हुने