सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिन खरिदमा स्थानीय तहकै बदमासी

रमेश रावल
सुर्खेत, १९ फागुन ।
नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्यायनरत किशोरावस्थाका छात्रालाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराउदै आएको छ । जसका लागि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्यका साथ सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यबिधि २०७६ ल्याएको जारी गरेको छ ।

उक्त कार्यविधिमा महिनावारी हुने सम्पूर्ण किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन सरकारले पालिकालार्ई अनुदान रकम दिने गरेको छ । तर, सामुदायिक विद्यालयमा निःशुल्क पाउने सेनिटरी प्याड वितरणलाई प्रविधिमैत्री बनाउने नाममा कालीकोटका स्थानीय तहले आफूखुशीको भ्यान्डिङ मेसिन खरिद गर्ने गरेको पाइएको छ ।

सरकारले सामुदायिक विद्यालयका छात्राहरु महिनावारीको समयमा विद्यालय छाड्ने दर बढ्दै जान थालेपछि यसलाई रोक्ने लक्ष्यसहित ल्याएको कार्यक्रममा कालीकोटका स्थानीय तहका जनप्रतिनीधिहरुले आफुखुशी खरिद गरेका भेन्टिङ मेसिन सञ्चालनमा नआई थन्किएका छन् ।

विद्यालयमा किशोरीहरुको लागि सेनिटरी प्याड मेसिनमार्फत वितरण गर्न भन्दै उपाध्यक्ष र उपप्रमुखले मनपरी ढङ्गले खरिद गरी आर्थिक चलखेल गरेको खुलेको छ । शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाले गत आर्थिक बर्ष २०७९/०८० मा नीति तथा कार्यक्रममै समावेश गरेर सेनिटरी प्याड वितरणको योजना अगाडि सारेका थिए ।

उक्त योजना मुताविक तीनै पालिकाले सेनिटरी प्याडसँगै लाखौं रकम खर्चेर भेन्डिङ मेसिन खरिद गरी जडान गरे । सुभकालिकाले पाँच वटा माध्यमिक विद्यालयमा छात्राहरुलाई रिजाउने भन्दै दुई लाख १६ हजारका दरले उक्त मेसिन खरिद गरी जडान गरेको थियो । मेसिन जडान हँुदा छात्राहरु निकै खुशी थिए । तर, त्यो खुशी भने धेरै दिन टिक्न सकेन ।

शुभकालिकाले आफूले पहिला महिला तथा किशोरीहरुको समस्या पहिचान गरी मेसिन जडानको कार्यक्रमलाई विद्यालयस्तरमा कार्यान्वयनतर्फ लगेको शुभकालिका गाउँपालिकाकाले जनाएको थियो । सोही बमोजिम शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष पार्वती सिंहले छात्रा शैक्षिक सुधार योजना अन्र्तगतप्रति गोटा दुई लाख १६ हजारका दरले मेसिन यसमा प्रयोग हुने कार्ड खरिद गरी जडानसमेत गरिन् । १० लाख ८० हजार लागत परेका भेन्डिङ मेसिन जडान गरेको दुई महिनापछि अहिले प्रयोग विहिन बनेका छन् ।

त्यस्तै, खाँडाचक्र नगरपालिकाले सोही मेसिन शुभकालिकाले खरिद गरेको मूल्यभन्दा दोब्बर मूल्य चार लाख ५८ हजारमा खरिद गरेर चरम राज्य कोषको दुरुपयोग गरेको छ । खाँडाचक्रले प्रति मेसिन चार लाख ५८ हजार २ सय १५ का दरले सप्लायर्सलाई भुक्तानीसमेत दिइसकेको छ ।

खाँडाचक्रले पञ्चदेवल माध्यमिक विद्यालयका लागि एक वटा मेसिन उक्त रकममा खरिद गरी जडान गरेको थियो । पञ्चदेवलले विद्युत लगायतका प्राविधिक समस्याले झन्झट व्यहोर्नु परेपछि प्रयोगमा ल्याउन नसकेको जनाएको छ ।

शुभकालिकालाई मेसिन खरिदमा चार हजारले जितेको खाँडाचक्र नगरपालिकालाई खरिदमा सान्नीत्रिवेणी गाउँपालिकाले १५ हजारले उछिनेको छ । सान्नी त्रिवेणीले उक्त मेसिन र प्याड निकाल्न प्रयोग हुने कार्ड दुई लाख ३५ हजारका दरले खरिद गरेको छ । सान्नीले सात वटा मेसिनवापतको १४ लाख १० हजार रुपैयाँ सप्लायर्सलाई भुक्तानी दिएको छ ।

यो पालिकाले पनि खरीद गरेर जडान गरेका कुनै पनि भेन्टिङ मेसिन अहिले प्रयोगमा छैनन् । तीनै पालिकाले कोटेशन गरी कालीकोटकै स्थानीय फर्म रेड ईन्टरनेश्नलमार्फत मेसिन खरिद गरी विद्यालयमा जडान गरेका थिए ।

एउटै मेसिनको खरिद मूल्यमा दोब्बरले फरक आएपछिको विवादले अहिले यी पालिकामा हङ्गामा मच्चिएको छ । यी पालिकाले आफूखुशी खरिद गरेर विद्यालय, विद्यालयमा थमाएका मेसिनहरु प्रयोगमा आउन नसकेको विद्यालयहरुले जनाएका छन् ।

मेसिन खरिद मै जोडबल
सरकारले निःशुल्क उपलब्ध गराएको सेनिटरी प्याड सहजरुपमा नपाएको अवस्थामा कालीकोटका अधिकांश स्थानीय तहले भने स्मार्ट कार्ड प्रयोगगरी मेसिनबाट ‘सेनिटरी प्याड’ निकाल्ने मेसिन खरिदमा जोडबल गर्ने गरेका छन् ।

चालू आर्थिक वर्षमा सेनीटरी प्याड खरिद गर्ने कार्यक्रमका लागि खाँडाचक्रले २५ लाख छुट्टाएको र यसै रकममा भेन्डिङ मेसिनसमेत खरिद गरिने उपप्रमुख गणेश शाहीले बताए । ‘विद्यालयमा सेनिटरी प्याड राखिएपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने, ‘भेन्डिङ मेसिन आधुनिकरणका लागि खरीद गरिने हो ।’

कालीकोटका स्थानीय तहमा सेनिटरी वितरण गर्ने भेन्डिङ मेसिन छात्राहरुको लागि उपयोगी भए वा नभएको तथा यसको प्रभावकारीता र सञ्चालन तथा व्यवस्थापन लगायतका विषयमा ख्याल नगरी जडान गरिएका कारण मेसिन सञ्चालन आउन नसकेको स्थानीय हिक्मतजंङ मल्ल बताउँछन् ।

‘विद्यालयमा छात्राहरूले प्रयोग गर्छन कि गर्दैनन्, प्रविधिका हिसावले सञ्चालन गर्न आवश्यक पर्ने पूर्वाधार छन् कि छैनन् भन्ने विषयमा हेक्का नराखी खरिद गरिएकाले यी मेसिन सञ्चालनमा आउन सकेनन् ।’ उनले भने, ‘स्थानीय तहहरुले आवश्यकताभन्दा बढी महत्वकांक्षा राखेर खरिद गरिएकाले प्रयोगमा नआई थन्किन पुगे ।’

यति मात्रै होइन पालिकाले वितरण गरेका प्याड राख्ने भेन्डिङ मेसिनको बाहिर ब्यक्तिगत झै उपप्रमुखको फोटो राख्ने फेसनसमेत जनप्रतिनिधले चलाएका छन् । जनप्रतिनिधिको उक्त कदमप्रति सस्तो लोकप्रियता छर्न खोजेको भन्दै चर्को आलोचनासमेत हुन थालेको छ । गाउँपालिका उपाध्यक्षले ल्याएर भेन्डिङ मेसिन राख्नुभयो, त्यसमा उहाँको फोटो पनि राखिएको थियो’ शुभकालिका गाउँपालिका एक प्रधानाध्यापकले भने, ‘विद्यार्थीले फोटो हेर्ने बाहेक अरु केही काम छैन् ।’

छात्रा नै चलाउन जान्दैनन् मेसिन
विद्यालयमा राखिएका भेन्डिङ मेशिनमा राखिएका मेसिनमा आफूहरु स्माड कार्ड लिएर तान्न मात्रै होइन प्याड कहाँ राखिन्छ भन्नेसम्म जानकार नरहेको सान्नीत्रिवेणी गाउँपालिका स्थित एक विद्यालयकी छात्रा बताउँछिन । ‘मिन्सप्याड कति दिनपछि फेरबदल गर्ने वा नसकिनुन्जेलसम्म राखी राख्ने हो त्यसको हामीलाई कुनै जानकारी छैन’ ति छात्राले भनिन् ।

कालीकोटका केही विद्यालयले बिद्यालय नर्स कार्यक्रम अन्र्तगत छात्राहरूको समस्यासँग सहजिकरण, प्याड ब्यवस्थापन गर्ने काम गरिरहेका छन् । तर, नर्सको साटो विद्यालयमा सेनिटरी प्याडको लागि भेन्डिङ मेशिन राखेर झन समस्या भएको ति छात्रा बताइन् ।

सरकारले सामुदायिक विद्यालयमा नर्स कार्यक्रम अनिवार्य लागु गरेको भएपनि कालीकोटका अधिकांश पालिकाले हालसम्म विद्यालयमा नर्स राखेका छैनन् । पालिकाको व्यवस्थाले खाँडाचक्र नगरपालिकाका विद्यालयमा रहेका स्टाप नर्स अहिले विद्यायलमा आउन छाडेको शिक्षक नरदल शाही बताउँछन् ।

‘नेपाल सरकारले पनि हरेक सामुदायिक विद्यालयमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको छ,’ उनले भने, ‘त्यो मिन्स प्याड गाउँपालिकाका उपप्रमुखले चार लाखको भेन्टिङ मेसिनमा राखेर महंगो बनाएका छन्, विद्यालय नर्सका बारेमा सोच्न छाडेर यो अनावश्यक मेसिन खरिदमा जनप्रतिनिधिहरुले जोडबल गर्नु राम्रो होइन ।’ त्यस्तै यी पालिकाका उपप्रमुख कोषको पैसा स्वास्थ्य क्षेत्रमा खर्चिदा पालिकाको स्वास्थ्य शाखालाई समेत जानकारी नै नदिइ जनप्रनिधिले खरिदसमेत गर्ने गरेका छन् ।

सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिन खरिदमा स्थानीय तहकै बदमासी

YUGAAWHAN NATIONAL DAILY (2080-11-19)

सेनिटरी प्याड राख्ने ‘भेन्डिङ’ मेसिन खरिदमा स्थानीय तहकै बदमासी

दुध उत्पादक किसानका जायज माग पुरा गर

This will close in 0 seconds