१६ वर्षीया बालिकाको बलात्कारपछि हत्याकाे न्याय माग्दै पत्रकार महासंघ जुम्लाको ध्यानाकर्षण

कालिबहादुर परियार
जुम्ला ,२ चैत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा १६ वर्षीया बालिका इनिसा विकको बलात्कार पछि भएको विभत्स हत्या घटनाले कर्णाली सहित देशभर आक्रोश र चिन्ता फैलिएको छ ।
उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपाल पत्रकार महासंघ शाखा जुम्लाले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।
पत्रकार महासंघ जुम्लाले एक ध्यानाकर्षण पत्र जारी गर्दै उक्त घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले निर्दोष किशोरी माथि भएको अमानवीय र क्रूर अपराधको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कानुनी सजाय दिलाउन राज्य संयन्त्रलाई गम्भीर बन्न आग्रह गरेको छ।
फागुन २३ गते भएको उक्त जघन्य घटना पछि पीडित इनिसा विकका आफन्त, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
पीडित परिवारले दोषीलाई कडा कारबाहीको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएको समेत बताइएको छ। यसले घटनाप्रति स्थानीय समुदायमा गहिरो आक्रोश र पीडा रहेको देखाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले समेत बालिका माथि बलात्कार पछि हत्या गरिएको पुष्टि भएको जनाइएको छ। यद्यपि घटनाको पूर्ण सत्यतथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।
नेपाल पत्रकार महासंघ जुम्लाले जारी गरेको ध्यानाकर्षण पत्रमा महिला तथा बालबालिका माथि बढ्दै गएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। महासंघका अनुसार यस्ता जघन्य अपराधले समाजमा भय र असुरक्षा बढाइरहेका छन् ।
त्यसैले राज्यले अपराध नियन्त्रण, पीडितलाई न्याय र दोषीलाई कडा सजाय दिलाउने दिशामा प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ।
महासंघले अनुसन्धान प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रभावकारी बनाउन आग्रह गर्दै पीडित परिवारलाई न्याय दिलाउन ढिलाइ गर्न नहुने उल्लेख गरेको छ। साथै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन राज्य संयन्त्र, सुरक्षा निकाय र समाज सबै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिएको छ।
जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलले पत्रकार महासंघ जुम्लाबाट प्राप्त ध्यानाकर्षण पत्र सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन् । उनले घटनाबारे सम्बन्धित निकायले आवश्यक ध्यान दिने विश्वास व्यक्त गरेका छन् ।






