चौतर्फी बिरोधपछि भाडा बृद्धिबाट फिर्ता भए हवाई कम्पनी
सामान्य अवस्थामा काठमाण्डौंं–सुर्खेतको एकतर्फी हवाइ भाडा हो ६ हजार सात सय रुपैयाँ । तर, वायुसेवा कम्पनीहरुले अहिले १४ हजार रुपैयाँ भाडा उठाइरहेका छन् । सबै हवाई सेवा कम्पनीले बाढीपहिरोबाट सडकमार्ग अवरुद्ध भएपछि भाडा दोब्बर भन्दा बढी लिएका छन् ।
शुक्रबार बिहानदेखि अविरल परेको पानीका कारण जताततै बाढीपहिरोले काठमाडौं जोड्ने सबै स्थलमार्ग बन्द छन् । यस्तो मानवीय संकटका बेलामा वायुसेवा कम्पनीहरुले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाएका छन् । यसरी भाडा वृद्धि काठमाण्डौं–सुर्खेतको मात्र होइन, सबैतिरको बढाईएको छ । दसैं बिदा सुरु भएपछिका लागि खुलेको हवाई टिकटमा पनि भाडा यो स्तरको महँगो छैन, जस्तो अहिले मानवीय संकटका बेला पु¥याइएको छ । काठमाण्डौबाट बाहिरिन अहिले हवाई मार्ग बाहेक अर्को उपाय छैन । यही संकटको फाइदा उठाउँदै कम्पनीहरुले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरेका हुन् ।
आपद् विपद्मा सामाजिक उत्तरदायित्व बिर्सेका हवाई सेवा प्रदायक कम्पनीहरुको चौतर्फि आलोचना भएपछि भने ४० प्रतिशत छुट दिन बाध्य भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको छलफलमा संघले सोमबार, मंगलबार र बुधबार गरी तीन दिन हवाई भाडामा ४० प्रतिशत छुट दिने निर्णय भएको हो । वायुसेवा सञ्चालकहरुले विपद्को समयमा यात्रुलाई राहत दिन आउँदो तीन दिनसम्मको टिकटमा ‘अपर फेयर’ लागु नगर्ने र तीन दिनसम्मको टिकटमा अपर फेयरको टिकट बिक्री नगर्ने निर्णय भएको छ ।
सोमबार, मंगलबार र बुधबारको हवाई टिकटमा अब अपर फेयर लागु नहुने भएको संघका अध्यक्ष मनोज कार्कीले बताए । प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीको पहलमा आइतबार संघसँग छलफल भएको थियो । छलफलमा अधिकारीले विपद्मा सहयोग गर्न संघलाई आग्रह गरेका थिए । महानिर्देशकको आग्रहलाई स्वीकार गर्दै अपर फेयरको हवाई भाडा लागु नगर्ने गरी निर्णय भएको कार्कीले बताए ।
हरेक उडानको १५ देखि २० प्रतिशत टिकट अपर फेयरमा बिक्री हुँदै आएकोमा दुई दिन त्यो फेयरको टिकट जारी नहुने उनको भनाई छ । उदाहरणका लागि कुनै गन्तव्यमा जस्तो सुर्खेतका लागि छ हजार सात सय अधिकतम् अपर फेयर भाडा थियो भने अब त्यस्तो टिकट पनि ३५ सय रुपैयाँकै हाराहारीमा आउने छ ।
मानवीय संकटका बेलामा हवाईसेवा कम्पनीहरुले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाउन आइतबार दिउँसो हवाई सेवाको भाडा बढाएका थिए । राजधानीसँगको सडक सम्पर्क बिच्छेद भएपनि काठमाडौंबाट सुर्खेतका लागि हवाई भाडा १४ हजारसम्म हवाई कम्पनीले पु¥याएका थिए । शुक्रबार बिहानदेखि अविरल परेको पानीका कारण जताततै बाढीपहिरोले काठमाडौं जोड्ने सबै स्थलमार्ग बन्द भएका छन् । यस्तो मानवीय संकटका बेलामा हवाईसेवा कम्पनीहरुले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाएका थिए । यसरी भाडा वृद्धि काठमाडौं–सुर्खेतको मात्र होइन, सबैतिरको बढाइएको छ । दसैं बिदा सुरु भएपछिका लागि खुलेको हवाई टिकटमा पनि भाडा यो स्तरको महँगो थिएन् ।
हवाई कम्पनीको चौतर्फि आलोचनापछि
अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै हवाई भाडा नबढाउन निजी हवाई सेवा प्रदायक कम्पनीहरुसँग अनुरोध गरेका थिए । तर, काठमाडौंबाट बाहिरिन अहिले हवाई मार्गबाहेक अर्को उपाय नभएको र यही संकटको फाइदा उठाउँदै कम्पनीहरुले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरेकोमा सामाजिक सञ्जालदेखि राज्यका धेरै निकायले चासो देखाएका थिए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति हाल देशको विभिन्न स्थानमा मन्सुनी वर्षाले निम्त्यायको बाढी पहिरोकोका कारण देशभरको जनजिवन प्रभावित भएको र यस अवस्थामा सरकार र सरोकारवाला पक्षले आ–आफ्नो स्थानवाट जिम्मेवार बनी प्रभावित जनतालाई सहयोग गर्नु पर्ने देखिएको बेला हवाई कम्पनीले भाडा बढाएको बिषयमा चासो राखेको समितिका सचिव सुरजकुमार दुराले बताए । ‘हिन्दुहरुको महान चाड दशैको मुखमा आएको यस विपत्तिले नेपाली जनतामा त्रासको वातावरण रहेको र देशका विभिन्न स्थानमा बाढी र पहिरोको असरले सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको छ,’ उनले भने, ‘यस विकराल तथा प्रतिकुल परिस्थितिमा आवतजावतको विकल्पको रुपमा रहेको हवाई यातायात समेतमा आन्तरिक उडान गर्ने विमान सेवा कम्पनीहरुले आफु खुसि हवाई भाडा बढाउदा आम नागरिकमा यसले ठुलो असर पारेको देखिन्छ ।’
उनका अनुसार हवाई भाडा दरमा नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा आवश्यक निर्देशन हुन सभापति रामहरि खतिवडाले निर्देशन दिएका थिए । अहिले हवाई कम्पनीले तीन दिन भाडा छुट दिने निर्णय गरेको स्वागतयोग्य काम भएको समितिले जनाएको छ । दसैँ नजिकिएसँग सर्वसाधारणले राजधानी छाड्ने गर्छन् । तर, यहीवेला आएको वर्षाका कारण राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण अन्योलमा छन् । तर, क्षतिग्रस्त भौतिक संरचना चाँडो निर्माणका लागि सक्रियता र सडक यातायात संचालनका लागि सहजतामा भूमिका खेल्नुपर्नेमा हवाई कम्पनीहरुले लुटको योजना बनाएका थिए ।
दशैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान
यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो ।
अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षित गरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ ।