धमाधम निर्माण हँुदै खेलपूर्वाधार समयमै कामसक्न चुनौती


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णाली प्रदेशमा धमाधम खेलपूर्वाधार निर्माण हुन थालेका छन् । ठेक्का सम्झौता अनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेलपूर्वाधार निर्माण भइरहेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

परिषदका अनुसार हाल डोल्पा र सल्यान बाहेक कर्णालीका अन्य आठ वटै जिल्लामा विभिन्न खेलपूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करणको तयारी स्वरुप आवश्यक खेल पूर्वाधार निर्माण भइरहेका हुन् ।

कर्णालीमा आगामी आर्थिक बर्ष २०८१ को मंसिर २ गतेदेखि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हँुदैछ । त्यसैको तयारी स्वरुप खेलकुद पोषक र खेलकुद गीत निर्माणदेखिखेल प्रशिक्षणका अभ्यासहरु समेत तिब्र रुपमा भइरहेका छन् । प्रतियोगितालाई लक्षित गरी हाल जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण कार्य जारी छ । कर्णाली प्रदेशको गौरवको आयोजनावीरेन्द्रनगरस्थितप्रदेश रंगशाला निर्माणको काम अन्तिम चरणमा आइपुगेको छ । हालसम्म रंगशाला निर्माणको काम ७० प्रतिशत सम्पन्न भएकोखेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले बताए ।

उनका अनुसार २०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणकोठेक्का सम्झौता भएको थियो ।आगामी आर्थिक बर्ष २०८१ असार ११ गते सम्झौता मिति सकिँदैछ । तर निर्माणको काम तोकिएको मिति भन्दा एक÷दुई महिना ढिला हुने देखिन्छ । एमएसि जिएसएल जेभी काठमाडौंले रंगशाला निर्माणको ठेक्का लिएको छ ।

रंगशाला निर्माणका लागि चालु आर्थिक बर्ष २०८०÷०८१ को हालसम्म ३० करोड बजेट कार्यान्वयन भएको सदस्य सचिव संज्यालले बताए । ‘अब रंगशालाको ३० प्रतिशत मात्रै काम बाँकी छ । सम्झौता अनुसार समयमै काम सक्नेगरी धमाधम काम भइरहेको छ’ उनले भने, ‘अन्य जिल्लामा बनिरहेका पूर्वाधारहरु पनि समयमै निर्माण हुने अपेक्षा छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप कुनै कमि नहुनेगरी तिब्र गतिमा काम गरिरहेका छौं ।’

निर्माणाधिन प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । उक्त रंगशालामा फुटबल मैदान, भलिवल कभर्डहल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् ।त्यस्तै, भीआइपी प्याराफिटको दुई तले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको परिषद्ले जनाएको छ ।

प्रदेश रंगशालामै ह्यान्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइदैछ । हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको बताउदै अपांगता भएका व्यक्तिका लागिपारा खेल पूर्वाधार समेत निर्माण गर्ने तयारी रहेको सदस्य सचिव संज्यालले जानकारी दिए ।

इतिहाँसमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीमा सञ्चालन हुनलागेको छ । तर कर्णालीलाई अनुुभवको अभाव छ । भौगोलिक विकटताले गर्दा पनि सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइएपनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । तर परिषदका सदस्य सचिव संज्याल खेल पूर्वाधारको अभावका कारणले खेलकुद प्रतियोगिता नरोकिने बताउँछन् ।

कुन जिल्लामा के पूर्वाधार बन्दैछन् ?
खेलकुद विकास परिषद्का अनुसार सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा धमाधम खेलपूर्वाधार बनिरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेल मैदानको प्रयोग गर्नेगरी जिल्ला–जिल्लामा खेलपूर्वाधार निर्माण थालिएको हो । ती मैदानहरूलाई विकल्पको रूपमा राखिने छ । वैकल्पिक मैदानहरूमा खेल तालिका अनुुसार प्रयोगात्मक खेलहरू हुनेछन् ।

जसअन्तर्गत कालिकोट र जाजरकोटमा कभर्डहल निर्माणको बहूवर्षीय खरिद स्वीकृत प्रक्रिया अघि बढेको छ । मुगु जिल्लामा कबड्डी मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

दैलेखमा कभर्डहल मर्मतको काम भइरहेको छ । उपभोक्ता समितिमार्फत् मर्मतको काम गरिएको हो । खेलकुद विकास समितिका संयोजक भेषराज भण्डारीका अनुसार २०८० माघ ९ गते ठेक्का सम्झौता भइ काम अघि बढेको छ । १३ लाख ८२ हजारमा २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

यस्तै हुम्लामा हकी खेलमैदान निर्माणको काम सुरु भएको छ । समुन्द्र निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाएको खेलकुद विकास समिति हुम्लाका अध्यक्ष विनोद बोहोराले बताए । उनका अनुसार २०८० फागुन ६ गते खेलमैदान निर्माणको ठेक्का सम्झौता गरिएको हो । २०८१ असार २० गते निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाइएको बोहोराले जानकारी दिए । एक करोड ५० लाखमा हकी खेलमैदान निर्माण हुनेछ । अहिले मैदान सम्माउने काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन् । भलिवल खेल मैदान तथा प्याराफिट निर्माणको काम थालिएको छ । हिरा नेपाल निर्माण सेवा जुम्लासँग ठेक्का सम्झौता गरी काम अघि बढाइएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ । २०८० पुष ५ गते मैदान निर्माणका लागि ठेक्का सम्झौता गरिएको समितिका अध्यक्ष धनकृष्ण पाण्डेले बताए । ४० लाखमा मैदान निर्माण हुनेछ । २०८१ वैशाख १ गते निर्माण सम्पन्न गर्नुपर्नेछ । अहिले मैदान निर्माणको काम धमाधम भइरहेको पाण्डेले जानकारी दिए ।

रूकुमपश्चिममा पनि कभर्डहल मर्मतको काम थालिएको छ । प्रतियोगिता लक्षित पूर्वाधार निर्माणका काम भइरहेको जिल्ला खेलकुद विकास समिति रूकुमपश्चिमले जनाएको छ । २०८० माघमा ठेक्का सम्झौता गरी मर्मतको काम सुरु गरिएको समितिका अध्यक्ष शैलेश शर्माले बताए । उनका अनुसार मुसिकोट कभर्डहल मर्मतको काम उपभोक्ता समितिमार्फत् भइरहेको छ । १५ लाखमा कभर्डहल मर्मतको काम गरिनेछ ।यस्तै सुर्खेतको चिसापानीमा फुटबल मैदान निर्माण भइरहेको छ ।

क्रिकेट मैदानको ८० प्रतिशत काम सकियो
दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा निर्माण थालिएको कालिञ्चोक क्रिकेट मैदानको ८० प्रतिशत काम सकिएको छ । २०८० मंसिर ८ गतेदेखि क्रिकेट मैदानको काम सुरु गरिएको थियो । २०८० चैत ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।

खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालका अनुसार क्रिकेट मैदान निर्माणका लागि केपीडीडी कन्स्ट्रक्सन वीरेन्द्रनगरले ठेक्का लिएको छ । ७३ लाख १८ हजार लागतमा निर्माण भइरहेको क्रिकेट मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने काम करिब सकिएको छ । अब दुबो लगाउने र ल्यान्ड स्क्यापिङ गरी हरियाली गर्ने काम मात्र बाँकीे छ ।

यस्तै वीरेन्द्रनगरमा देउडा पार्क सहितको अर्को क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ । चार करोड ५९ लाख लागत रहेको रंगशालामा संरचना निर्माणको ठेक्का जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ । २०८० चैत ५ गते अभियान कन्स्ट्रक्सन काठमाडौंसँग ठेक्का सम्झौता गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । यो क्रिकेट रंगशाला २०८१ असार २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

धमाधम निर्माण हँुदै खेलपूर्वाधार समयमै कामसक्न चुनौती

सम्पादकीय : के अब वीरेन्द्रनगरका सडक संधै

धमाधम निर्माण हँुदै खेलपूर्वाधार समयमै कामसक्न चुनौती

सरप र कुच्चो उत्पादनमा पाइनियर