भूकम्पीय क्षति घटाउन घर तथा भवन बनाउँदा नक्सा पास अनिवार्य

गत कार्तिक १७ गते जाजरकोट रामिडाँडा केन्द्र विन्दु भएर गएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पले ठुलो जनधनको क्षति ग¥यो । भूकम्पले जाजरकोट र रुकुम पश्चिमा गरी एक सय ५४ जनाको ज्यान गयो । हजारौँको संख्यामा घरहरू भत्किएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट भूकम्प र त्यसको पराकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख, कालिकोट, जुम्ला, बाजुरा, बझाङ लगायतका १२ जिल्लामा २६ हजार पाँच सय २८ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । ३५ हजार तीन सय ९५ घरमा आंशिक क्षति भयो ।

जसमा जाजरकोटमा नौ हजार सात सय ९४ घर पूर्ण क्षतिग्रस्त हुँदा २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको छ । उता पश्चिम रुकुममा मात्र साढे १६ हजार पाँच सय ७० घर ध्वस्त भएको तथ्यांक छ । नौ हजार नौ सय ६१ घरमा आंशिक क्षति छ ।

पहिलो कारण परम्परागत शैलीका घर र दोस्रो कारण नक्सा पास बिनै हचुवामा घर तथा भवन निर्माण गर्नुले यसरी भूकम्प तथा बाढी पहिरोबाट अनपेक्षित रुपमा धेरै भौतिक क्षति हुने गरेको छ ।

ग्रामीण भेगमा त परै जावस सदरमुकाम क्षेत्रमा पनि नक्सा पास बिना घर भवन निर्माणका लागि नक्सा पास अनिवार्य गरिएको छैन । जसका कारण भूकम्प तथा प्राकृतिक प्रकोपबाट नेपालमा ठुलो संख्यामा भौतिक क्षति हुने गरेको पाइन्छ ।

विपद्, प्रकोप भूकम्पभन्दा पनि कमजोर संरचनाका कारण मानवीय क्षति बढ्दो छ । जाजरकोट भूकम्पमा एक सय ५३ जनाको ज्यान जानुमा केही बृद्धबृद्धा, बालबालिका भाग्न नसक्नु एउटा कारण भएपनि मुख्य कारण कमजोर संरचना हो ।

विज्ञहरूका अनुसार कर्णाली भूकम्पको उच्च जोखिममा छ । त्यसैले पनि कर्णालीका सुगमदेखि दुर्गमसम्म अब बन्ने सबै संरचनाहरू भूकम्प प्रतिरोधी बनाउन आवश्यक छ ।

त्यसका लागि घर नक्सा पास तथा भवन निर्माण आचारसंहिताको कार्यान्वयनमा स्थानीय तहले जोड दिन जरुरी छ । तर स्थानीय तहको ध्यान डोजरमैत्री विकासमा मात्रै केन्द्रित छ । भविष्यमा आइपर्ने क्षतिलाई कम गर्न अपनाउनुपर्ने उपायमा पालिकाहरू बेखबर छन् । नक्सा पास बिना घर निर्माण गर्न नदिने, अटेरी गर्नेलाई सरकारी सेवाबाट रोक्ने जस्ता नीति स्थानीयतहले ल्याउन सक्छन् । तरपनि त्यसतर्फ ध्यान दिएका छैनन् ।

तिला गाउँपालिकामा घर नक्सा कार्यविधि कार्यान्वयन
कर्णाली प्रदेशका ७९ वटा स्थानीय तह मध्ये अधिकांशले घर नक्सा तथा भवन निर्माण कार्यविधि ऐन कानुन बनाउन सकेका छैनन् । तर जुम्लाको तिला गाउँपालिकाले भने बढ्दो भूकम्पीय जोखिमलाई मध्यनजर गर्दै जुम्लामै पहिलो ‘घर नक्सा तथा भवन निर्माण कार्यविधि–२०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन् । साविक कर्णालीको पहिलो चन्दननाथ नगरपालिकाले टाउन प्लानिङ अघि सारे पनि घर भवन निर्माण गर्दा नक्सा पास अनिवार्य गर्न सकेको छैन । यद्यपि प्रयासमै छन् । तर तिला गाउँपालिकाले भने भौगोलिक विकटता, भूकम्प, बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै ‘घर नक्सा तथा भवन निर्माण कार्यविधि–२०८०’ कार्यान्वयनमा ल्याएको तिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले बताए ।

तिला गाउँपालिकामा नीजि घर, व्यापारिक तथा सार्वजनिक भवन बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने छ । अन्यथा निर्माण गर्न नदिने र सरकारी सेवा सुविधाबाट समेत बञ्चित गराइने छ । निमित्त प्रशासकीय अधिकृत बुढाले भने, ‘कार्यविधि नै कार्यान्वयनमा ल्याई सकेका छौँ । जुनसुकै प्रयोजनका लागि भौतिक संरचना बनाए पनि अनिवार्य नक्सा पास लिनु पर्ने छ । नक्सा पास नगर्दा र गर्दाका फाइदा बेफाइदाबारे समुदाय स्तरमा समेत जनचेतना फैलाइने छ ।’

नक्सा पास बिना निर्माण भएका भौतिक संरचनाले क्षति मात्र बढाउदैन् । बैंक तथा वित्तीय संस्थाहरूले पनि नक्सा पास बिना निर्माण भएको घरलाई ऋण उपलब्ध गराउँदैनन् । कुनै कार्यालय समेत बस्न मान्दैनन् । त्यसैले पनि नक्सा पास अनिवार्य छ ।

९ वटा वडा रहेको भौगोलिक हिसाबले विकट रहेको तिला गाउँपालिका का दुर्गम बस्तीमा कमजोर संरचना धेरै छन् । जसले भविष्यमा क्षति हुन सक्ने सम्भावना पनि उत्तिकै छ । नागरिकको जिउधनको सुरक्षाका लागि समेत ‘घर नक्सा तथा भवन निर्माण कार्यविधि कार्यान्वयनमा ल्याइएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए ।

कार्यविधि कार्यान्वयनमा आएसँगै तिला गाउँपालिका–१ राराका स्थानीय कलबहादुर शाहीले पहिलो व्यक्तिका रुपमा नक्सा पास गरि पालिकाबाट घर निर्माणको आंशिक इजाजतपत्र लिएका छन् । १५ दिनपछि पूर्ण इजाजत पत्र दिइने छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्र निजी तथा सार्वजनिक भवन बनाउनुपर्ने प्रावधान छ । पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा अनिवार्य नक्सा पास गराउनु पर्ने विषयमा ९ वटै वडालाई परिपत्र पनि गरिएको छ ।

सुरक्षित एवम् व्यवस्थित र जोखिममुक्त घर भवन बनाउनका लागि नक्सा पास गर्दा नागरिकताको प्रतिलिपि–एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि, ट्रस नक्साको प्रतिलिपि कागजात पेश गर्नुपर्ने छ । नक्सा पास गरेर घर निर्माण सम्पन्न भएपछि घरधनीलाई पालिकाले प्रमाणपत्र उपलब्ध गराउने तिला गाउँपालिकाले जनाएको छ ।(रेडियो नेपाल)

भूकम्पीय क्षति घटाउन घर तथा भवन बनाउँदा नक्सा पास अनिवार्य

भूकम्पका लाभग्राहीको संख्या अझै बढ्ने

भूकम्पीय क्षति घटाउन घर तथा भवन बनाउँदा नक्सा पास अनिवार्य

कर्णालीको लगातार चौथो हार