सल्यानमा पूर्व प्रेमिका हत्याकाे योजनासहित विदेशबाट फर्किएका थिए अभियुक्त

सुर्खेत । सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानीगाउँ निवासी कर्णबहादुर बस्नेत सन् २०१८ मा दुबई पुगेका थिए ।
तर उनको व्यक्तिगत जीवनसँग नेपाल घटेको घटनाक्रमले दुबईमा काम गर्दागर्दै उनी आठ महिना अगाडी देखि नै नेपाल फर्कने योजना गरिरहेका थिए । नेपालमा रहेकी प्रेमिकाको हत्या योजना सहित उनी स्वदेश फर्कन खोजिरहेका थिए । तर कम्पनीसँग विदा माग्दा उनले समयमा विदा नै पाएनन् । अन्तमा, गत भदौ २६ गते उनी नेपाल आईपुगे, नेपाल आएको दुई दिन पछि भदौ २९ गते नै उनले २९ वर्षिय महिला र उनकी नौं महिने छोरीको हत्या गरे ।
मृतक महिलासँग अभियुक्त बस्नेतको सम्वन्ध प्रेमसँग जोडिएको छ । विगत १० वर्षदेखि वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका बस्नेत र मृतक महिलाको फेसबुकमै चिनाजान भएको थियो ।
करिव सात वर्ष पहिले बस्नेत विदेशमै भएको बेला मृतक महिलासँग चिनाजान भयो । फेसबुकमा कुराकानी हुँदै जाँदा बस्नेत ति महिलासँग गहिरो प्रेममा परेका थिए । एउटै पालिका निवासी भएकाले पनि बस्नेतलाई नेपाल फर्केको समयमा ति महिलासँग भेट्न समस्या थिएन । उनीहरु विच सहमतिमै पटक–पटक शारिरिक सम्पर्क समेत भएको थियो । उनीहरुले शारिरिक सम्बन्धको क्रममा सहमतिमा अश्लिल तस्विर र भिडियो समेत खिचेका थिए ।
बस्नेत वैदेशिक रोजगारीका लागि तीन वर्ष मलेशिसा, पाँच वर्ष दुवई, दुई वर्ष भारत र पुनः दुवई पुगेका थिए ।बस्नेत विवाहित पुरुष हुन् । उनका घरमा श्रीमती सहित एक छोरा र एक छोरी छन् । मृतक महिलाको प्रेम सम्बन्धमा रहेका बस्नेतले उनीसँग दोस्रो विवाह गर्न चाहन्थे, अभियुक्त वस्नेतले प्रहरी समक्ष दिएको वयानमा उल्लेख छ ।
बस्नेत विदेशमा नै रहेको समयमा मृतक महिलाले अर्कै पुरुषसँग विवाह गरिन् । यो समयमा वस्नेत दुवईमै थिए । अर्कै पुरुषसँग विवाह भएकोमा बस्नेतले यसलाई धोकाका रुपमा लिन थाले ।
मृतक महिलाले विवाह गरेपनि अभियुक्त बस्नेतसँग पुन सम्बन्ध स्थापित भयो । पुराना समयमा लिइएका अश्लिल तस्विर तथा भिडियोका कारण उनीहरु विच मनमुटाव समेत शुरु भईसकेको थियो । यस विच उनीहरुविच ठुलो झगडा समेत भएको उनले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी निरीक्षक नविन कार्कीले जानकारी दिए ।
पेट्रोल बोकेर पुगेका थिए अभियुक्त
दुवईबाट काठमाडौं फर्केर अभियुक्त बस्नेत दुई दिन जति आफ्नो घरमा बसे । सो पछि योजनावद्ध रुपमा भदौ २९ गते शनिवारका दिन उनी गाडी चढेर स्थानीय बजार पुगेका थिए । बजारमा उनले पेट्रोल र सलाई खरिद गरे अनि पैदल सरासर मृतकको गाउँमा पुगे ।
शनिवार साँझको समयमा उनी मृतकको गाउँमा पुगिसकेका थिए । तर मृतकको घरमा भने ९ः५० बजेको समयमा पुगेको उनले प्रहरी समक्ष स्विकार गरिसकेका छन् ।

शुरुमा ति महिलाको घाँटी कसेर लडाएपछि उनले शरिरमा पेट्रोल छर्केर आगो लगाईदिए । आगोका कारण ति महिलासँग ओछ्यानमा सुतिरहेकी नौं महिनाकी छोरी पनि जलिन् । घटना घटाएपछि उनी गाउँमा अरु कसैको घरमा बास बसे र आईतवार विहानै त्यहाँबाट आफ्नो घर फर्किए ।
स्थानीयले ३० गते विहान प्रहरीलाई घटनाका वारेमा जानकारी गराएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
आजन्म कैद सजायको माग
योजनावद्ध रुपमा महिला सहित शिशुको समेत हत्या गरेका कर्णबहादुर वस्नेतलाई प्र्रहरीले बुधवार साँझ पक्राउ गरेको हो । विहिवार जिल्ला अदालत, सल्यानमा उपस्थित गराएर प्रहरीले थप अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ ।
योजनावद्ध रुपमा हत्या आरोपमा प्रहरीले अभियुक्तका लागि आजन्म कैदको दावी गर्दै मुद्दा अघि बढाउने जिल्ला प्रहरी कार्यालय, सल्यानमा प्रहरी नाउव उपरीक्षक नविक कार्कीले जानकारी दिए । उनले भने, ‘अभियुक्तले विभत्स तरिकाले हत्या गरेको पुष्टी भएको छ । उनलाई आजन्म कैद सजाय सहितको माग गर्दै हामी मुद्दा प्रक्रिया अघि बढाउछौ ।’






