विपन्न घरधुरीमा शौचालय बनाउँन डकर्मी तालिम

विपन्न परिवारका घरमा शौचालय बनाउँने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा डकर्मी तालिमको आयोजना गरिएको छ ।

स्तरिय तथा शौचालय नै नभएका विपन्न समुदायका नागरिकका लागि गाउँपालिका २० वटा घरधुरीमा शौचालय निर्माण गर्ने उद्देश्यले डकर्मी तालिमको आयोजना गरिएको वास इकाईका प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए ।

तालिम अवधिमा प्रशिक्षकका साथमा रहने प्रशिक्षार्थीहरुले घरघरमा शौचालय निर्माण गर्नेछन् । यसले पूर्ण सरसफाई उन्मुख गाउँपालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बुधवार शुरु भएको तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले तालिमका सहभागिले विगतमा पनि डकर्मीको काम गरेको र तालिमले उनीहरुलाई थप दक्ष बनाउँन सहयोग गर्ने जनाए । सीपलाई थप निखार्न तथा नया ढंगले निर्माण कार्य गर्न तालिम महत्वपूर्ण रहेको विश्वास गर्दै ध्यानपूर्वक सीप सिक्न र दक्षतालाइ बढाउँन उनको आग्रह थियो ।

तालिमको प्रमुख प्रशिक्षकमा हरीबहादुर खड्का र सहायक प्रशिक्षकमा युवराज खत्री रहेका छन् । सहभागिहरुले वस्ती स्तरमा नै पुगेर प्रयोगात्मक रुपमा भूकम्प प्रतिरोधी संरचना निर्माणबारे पनि ज्ञान र सीप सिक्ने वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।

शौचालय बनाउन आवश्यक पर्ने स्थानीय सामग्री वाहेक सिमेन्ट, छड, सिट, जस्तापाता लगायतका निर्माण सामग्री गाउँपालिका (सुस्वा) बाट नै उपलब्ध गराइने उनले जनाए । डकर्मी तालिममा सम्बन्धीत वडाबाट सिफारिस भए अनुसार १० जना प्रशिक्षार्थी सहभागि छन् ।

सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा) अन्तर्गत पालिकाभित्रका डकर्मीलाई तालिम आयोजना गरिएको हो । विशेष गरेर शौचालय निर्माणलाई जोड दिदै तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सांकन, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, भारबहन पद्दती, निर्माण सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाको वास ईकाइले जानकारी दिएको छ ।

विपन्न घरधुरीमा शौचालय बनाउँन डकर्मी तालिम

महशुल भुक्तानी नभए सडक बत्तीको लाइन काटिने

विपन्न घरधुरीमा शौचालय बनाउँन डकर्मी तालिम

ओखर बिक्रि गरेरै आम्दानी