साउन यता सुर्खेतमा ७९ जनामा डेंगी संक्रमण
सुर्खेत ।
सुर्खेतमा डेंगी संक्रमितहरुको संख्या बढ्दो अवस्थामा छ । साउन महिना यता मात्र सुर्खेतमा हालसम्म कुल ७९ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, सुर्खेतको तथ्यांक अनुसार हालको समयमा जिल्लामा प्रत्येक दिन डेंगी संक्रमितहरु फेला परिरहेका छन् ।
गत साउन महिनामा सुर्खेतमा ४३ जनामा डेंगी संक्रमण पुष्टी भएको थियो । भदौ महिनाको अन्तिम दोस्रो सातासम्म सुर्खेतमा ३६ जनामा संक्रमण पुष्टी भईसकेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९-०८० यता सुर्खेतमा अत्यधिक रुपमा डेंगी संक्रमण फैलन थालेको हो । अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा सुर्खेतमा मात्र एक हजार चार सय ४२ जनामा डेंगी संक्रमण पुष्टी भएको थियो । त्यसअघि २०७८-०७९ मा सात सय ३९ जना र २०७७-०७८ मा दुई सय ४१ जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका वरिष्ठ मलेरिया रोग निरीक्षक उदय विसीले जानकारी दिए ।
जोखिममा वीरेन्द्रनगर
२०७९-०८० मा सुर्खेतमा परिक्षण भई पुष्टी भएका मध्ये ५१ जना वाहिरबाट आएका नागरिक थिए । बाँकी एक हजार तीन सय ८९ जना नागरिकहरु सुर्खेतमै वसोवास गरिरहेका थिए । यस अवस्थाबाट हेर्दा हालको समयमा वीरेन्द्रनगर डेंगी रोगको मुख्य जोखिम रहेको पालिकामा देखिन्छ ।
यहाँ अघिल्लो आर्थिक वर्ष २०७९-०८० मा एक हजार दुई सय ७२ जनामा डेंगी संक्रमण पुष्टी भईसकेको छ ।
त्यसैगरी लेकवेशी नगरपालिकामा ३७ जना, वराहताल गाउँपालिकामा २१ जना, भेरीगंगा नगरपालिकामा १५ जना, गुर्भाकोट नगरपालिकामा १४ जना पञ्चपुरी नगरपालिकामा १२ जना, चिङ्गाड गाउँपालिकामा ११ जनामा संक्रमण पुष्टी भएको थियो । चौकुनेमा चार जना र सिम्ता गाउँपालिकामा तीन जनामा संक्रमण पुष्टी भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
नियन्त्रण प्रयास के छ ?
ढेंगी रोग नियन्त्रणका लागि जनस्वासथ्य सेवा कार्यालयले खासगरी चार रणनीति अपनाएको छ ।
नागरिकहरुलाई यस रोग तथा संक्रमण वारे जानकारी तथा सुरक्षित हुने वारेमा सूचनाहरु सम्प्रेषण गरिएको वरिष्ठ मलेरिया रोग निरीक्षक उदय विसीले जानकारी दिए । त्यसैगरी उच्च जोखिममा रहेका समुदायलाई लीाष्त गरी स्वास्थ्य सचेतना तथा विविध कार्यक्रमहरु समेत सञ्चालन भईसकेका छन् ।
डेंगी रोग नियन्त्रणका लागि स्थानीय तहसँगको समन्वय विना सम्भव पनि छैन । यसैलाई मध्यनजर गर्दै जनस्वास्थ्य सेवा कार्यालयले स्थानीय तहहरुसँगको समन्वयमा सम्भावित क्षेत्रमा लामखुट्टेको नास गर्ने तथा वासस्थानलाई नष्ट गर्ने अभियान समेत सञ्चालन भईरहेका छन् ।
सरसफाईमा ध्यान दिनुपर्छ
डेंगी रोगको मुख्य कारण एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस नामक लामखुट्टेले सार्ने डेंगी भाइरस हो ।
यसको औषधि समेत नभएकाले यसको टोकाइबाट बच्ने र लामखुट्टे तथा यसको वासस्थान नष्ट नै उत्तम उपाए रहेको वरिष्ठ मलेरिया रोग निरीक्षक उदय विसी बताउँछन् ।
यो लामखुट्टे बढीजसो बस्ने पानीको ड्रम, छतमा जम्मा भएको पानी, फ्रिजको पछिल्लो भाग, टायर, गमलाजस्ता ठाउँ साताको एक पटक सफा गर्ने गरे लामखुट्टेको संख्या घटाउन सकिन्छ । हाल लामखुट्टे भगाउन धुवाँ र फगिङ अपनाउनु भन्दा जीव वैज्ञानिकको सहयोगमा जैविक विधि अपनाएर लार्भा र अण्डा नष्ट गर्ने अन्तर्राष्ट्रिय विधि शीघ्र अवलम्वन गर्नु नै प्रभावकारी उपाय हो ।





