ग्यासको मनपरी मूल्य वृद्धिले विद्यार्थि मारमा

कालीकोट सदरमुकाम मान्ममा खाना पकाउने ग्यासको मूल्य वृद्धि हुँदा खरिदबिक्रीमा मनपरी देखिएको छ । त्यसले गर्दा विद्यार्थी मारमा परेका छन् । कक्षा ११ पढ्ने र एसइईको तयारी कक्षा पढ्न आएका विद्यार्थी सबैभन्दा बढी मारेमा परेका छन् ।
सदरमुकाम मान्ममा प्रतिसिलिन्डरको मूल्य दुई हजार दुई सय रुपैयाँ छ, भने सदरमुकाम मान्म आसपास दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म पर्ने गरेको छ ।
सदरमुकाम मान्मदेखि १९ किलोमिटर टाढा खाँडाचक्र नगरपालिका–७, पिली बजारमा प्रतिसिलिन्डर मूल्य दुई हजार पाँच सय रुपैयाँ पर्ने गरेको छ । रास्कोट नगरपालिका–२ का होटल व्यवसायी देवनाथ योगीले दसैँअगाडि दुई हजार ६ सय तिर्दै आए पनि अहिले दुई हजार पाँच सय रुपैयाँ तिर्ने गरेको बताए ।
एक सय कम भएपछि ग्यास धेरै खपत हुन थाले पनि अहिले डिलरबाहेकका खुद्रा ग्यास व्यापारीले पुरानै मूल्यमा किनबेच गरिरहेको पाइएको छ ।
सदरमुकाम मान्ममा सस्तोमा पाउने ग्यास महँगो हुँदा गाउँमा झन् मूल्यवृद्धि भएको छ । पलाँता गाउँपालिका निर्वमान अध्यक्ष लक्ष्मणबहादुर बमले गाउँपालिका केन्द्र रहेको थिर्पुमा ग्यासको मूल्य दुई हजार आठ सय रहेको बताए । कर्णाली कोरिडोरसँग जोडिएको क्षेत्रमा त यति धेरै मूल्य पर्छ भने माथि वडा नं. १, २ तिर अझै महँगो हुुने अनुमान अध्यक्ष बमले गरे । उही ग्यासको मूल्य सुर्खेत, नेपालगन्जमा एक हजार सात सय ९० रुपैयाँ पर्छ, भने कालीकोट सदरमुकाम मान्म आइपुग्दा पाँच सय १० रुपैयाँले वृद्धि हुन्छ ।
गाउँमा पुग्दा त एक हजार सात सय वृद्धि भएर तीन हजार पाँच सय पर्दा सुर्खेत र कालीकोटका गाउँमा मूल्य दोब्बरले वृद्धि भएको देखिन्छ ।





