सरकारी जग्गाको भाडा ब्यक्तिले असुल्दै


कर्णाली करिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा ब्यक्तिले असुल्दै आएको पाइएको छ ।
सो स्थान राष्ट्रिय सडक सञ्जाल जोडिएपछि ब्यापारीले कटेरो निर्माण गरेर व्यापार व्यवसाय गर्न शुरु गरेपछि सर्केगार्ड गाउँपालिका–१ को जैर गाउँका स्थानीय व्यक्तिहरुले त्यसको भाडा उठाउँदै आएको पाइएको हो ।
सलीसल्लामा ब्यापार गर्दै आएका व्यापारी जनमराज शाहीले तीन कोठे कटेरो निर्माण गरिएको जमिनको वर्षमा एक लाख रुपियाँ भाडा तिर्दै आएको बताए । हाल उनले एउटा कटेरो छोडेको र बाँकी दुईवटा कटेरो निर्माण गरिएको जग्गाको भाडा तिर्दै आएका छन् ।
उनले जैर गाउँका स्थानीय ब्यक्तिले यसरी सरकारी जग्गामा ढुङ्गा राखेर रोजेको र त्यसैका आधारमा मन परी भाडा असुल गरिरहेको बताए । अर्का व्यापारी जयराज सन्ज्यालले कहीँ नभएको नियम सलीसल्ला बजारमा जैर गाउँका स्थानीय ब्यक्तिहरुले लगाएर सरकारी जग्गाको भाडा असुल गर्दै आएको बताए ।
उनले भाडा पनि जग्गा रोजेका व्यक्तिले मनोमानी रुपमा असुल्ने गरेको बताउँदै अर्कोतर्फ वार्षिक वडालाई प्रतिवर्ग मिटर पच्चीस रुपियाँ छुट्टै राजस्व तिर्नु परिरहेको बताए ।
उनले सरकारी जग्गाको भाडा असुल्न नपाइने बताउँदा उल्टै स्थानीय झगडा गर्न आउने गरेको बताउँदै चुप लागेर वार्षिक रुपमा एक लाख १५ हजार रुपैयाँ भाडा तिर्ने गरेको बताए । उनले दुई वर्षदेखि सरकारी जग्गाको भाडा तिर्दै आएका छन् । सडक सञ्जाल नजोडिनु अघि सो स्थानमा मानिस बस्ने स्थान थिएन ।
उनले राष्ट्रिय सडक सञ्जाल जोडिनु र कर्णाली नदी माथि सलीसल्लामा पुल निर्माण नभएको कारण बजार स्थापना हुँदा सरकारी जग्गा ब्यक्तिले रोजे कै भरमा भाडा तिर्नु परिरहेको गुनासो गरे । सलीसल्लामा सत्तरीभन्दा बढी कटेरोहरु निर्माण गरी ब्यापारीले ब्यापार ब्यवसाय गर्दे आएका छन् ।
सलीसल्लाको जैर गाउँ पट्टीको सरकारी जग्गामा कटेरो स्थापना गरेर ब्यापार गर्दै आएका ब्यापारी कम्तीमा वार्षिक चालीस हजारदेखि बढीमा डेढ लाख रुपियाँ भाडा ब्यक्तिलाई तिर्दै आएको ब्यापारीको भनाइ रहेको छ ।
बिगत तीन वर्षदेखि उक्त जग्गाको भाडा ब्यक्तिले असुली रहेको पाइएको हो । सो स्थानमा हुम्लाका साथै मुगु, जुम्ला, कालिकोट, बाजुरा, दैलेख र सुर्खेतबाट ब्यापारीहरु आएर ब्यापार गर्दै आएका छन् । लक्ष्मण मल्लसहित ३१ जना जैर गाउँका स्थानीय ब्यक्तिले जग्गाको भाडा असुल गरिरहेको ब्यापारीले बताउने गरे ।
राज्यलाई नियम अनुसार कर तिर्न पाएको भए स्वाभाविकै हुने बताउँदै उनले गैरकानूनी रुपमा भाडा तिर्नु परे पनि सर्केगार्ड गाउँपालिकाले कुनै सुनुवाइ नगरेको बताए ।
सो स्थानमा प्रहरी चौकीसमेत स्थापना हुन सकेको छैन । यस सम्बन्धमा सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष चन्द्रसिंह कार्कीसँग सम्पन्न गर्न खोज्दा दुवै जनाको मोवाइल अफ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले यस सम्बन्धमा सरकारी जग्गामा यसरी ब्यक्तिले भाडा असुल्न नपाइने बताउँदै आफूलाई यस सम्वन्धमा जानकारी नभएको र अब बुझ्ने बताए ।






