भूकम्पमा नलगाड उपप्रमुख सिंहसहित ७० बढीकाे मृत्यु, सयाै घाइते
गएरातीको भूकम्पले जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखसहित ७० जना भन्दाबढीकाे मृत्यु भएको र सयाैकाे सख्यमा घाइते भएकाे प्रारम्भिक विवरण आएको छ । भूकम्पमा परेर नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए ।
उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी विहान ६ः०० बजेसम्मको विवरण अनुसार ७० जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालका अनुसार शनिबार विहान ६ः०० बजेसम्मको विवरणअनुसार दुई जिल्लामा गरी ७० जनाको मृत्यु भएको हो । ‘रूकुम पश्चिममा ३५ जना र जाजरकोटमा ३६ जनाकोम मृत्यु भएको भन्ने बिहान ६ बजेसम्मको रिपोर्ट छ,’ डिआइजी ढकालले दुबै जिल्लामा गरी ९७ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । राहतको काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने डीआइजी ढकालले जानकारी दिए ।
भूकम्प लगत्तै प्रदेश प्रहरी कार्यालयबाट ३६ जनाको उद्धार टोली राति नै परिचालन गरिएको डिआइजी ढकालले जानकारी दिए । त्यस्तै २० जना चौरजहारीबाट र २० जना अन्य सिमानाका प्रहरी कार्यालयहरूबाट राति नै उद्धार टोली पठाइएको उनले बताए ।
भूकम्पका कारण केही क्षेत्रहरू केही गाउँपालिकामा टेलिफोन सेवा पनि अवरूद्ध भएका छन् । रूकुम पश्चिम र जाजरकोटको सिमाना पर्ने रिम्ना भन्ने ठाउँमा पहिरोका कारण सडक अवरूद्ध भएको पनि डिआइजी ढकालले जानकारी दिए ।






