दाङबाट एक करोड ३७ लाख बढी मूल्यका खसीबोका निर्यात


दशैंमा मात्रै दाङबाट एक करोड ३७ लाख बढी मूल्यका खसीबोका निर्यात भएका छन् । दशैंमा मात्र ती मूल्यको खसीबोका काठमाडौं पठाइएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा खसीबोका खरिद गरी काठमाडौं पठाइएको थियो ।

व्यापार कम्पनी तुलसीपुरले जिल्लाबाट उक्त रुपैयाँका खसीबोका खरिद गरी काठमाडौं पठाएको कम्पनीका तुलसीपुर प्रमुख तिलक सुुनारले बताए । यस बाहेक पनि व्यवसायीहरूले धेरै खरिद गरेर पठाएका छन् । यसले मासुको लागि जिल्लाबाट बाहिरीने रकम रोकिएको छ । बाहिरबाट रकम जिल्लामा भित्रिदा जिल्लाको आर्थिक विकासमा थोरै भएपनि सहयोग पुग्ने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् ।

यसरी अरु वस्तु पनि निर्यात गर्न सक्ने हो भने जिल्लाको विकासका सहयोग पुग्ने उनीहरूको भनाइ छ । खाद्यले दशैँका लागि जिल्लााट सात सय ५६ वटा खसीबोका खरिद गरेर पठाइएको हो । जुन अघिल्लो वर्षको भन्दाबढी थियो । पहिले सात सय खरिद गरेर पठाउन परिपत्र गरिएको थियो । पछि कोटा थप गरेर ५६ वटा थप गरिएको खाद्यले जनाएको छ ।

दशैंमा मासुको खपत घटेपनि जिल्लाबाट भने अघिल्लो वर्ष भन्दाबढी खसीबोको पठाइएको थियो । अघिल्लो वर्ष पाँच सय ९४ वटा खसीबोका खरिद गरेर काठमाडौं पठाइएको थियो । जुन यो वर्षभन्दा एक सय ६२ वटा कम रहेको खाद्य कम्पनीका प्रमुख सुनारले बताए । खसीबोका खरिद गर्दा पशु डाक्टरबाट परीक्षण गरेर खरिद गरिएको प्रमुख सुनारले बताए । कम्पनीले निरोगी खसी बोका मात्र खरिद गरेर पठाएको उनको भनाइ छ ।

जिल्लामा व्यावसायिक रूपमा बाख्रापालन गर्ने भएकाले खाद्यले हरेक वर्ष जिल्लाबाट खसीबोका खरिद गरेर लाने गर्छ । जिल्लाको तुलसीपुर क्षेत्र, रिहार, सुनडवरी, बनघुसीलगायतका स्थानबाट खसीबोका खरिद गरिएको थियो ।

खाद्यलाई खसीबोका खरिद गर्न कुनै समस्या नभएको कार्यालय प्रमुख सुनारले बताए । ‘जिल्लामा व्यावसायिक बाख्रा पालन गरिने भएकाले खरिद गर्दा कुनै समस्या भएन’ प्रमुख सुनारले भने । सबै कृषकहरूको खसीबोका खरिद गर्न नसकिएको उनको भनाइ थियो । ‘हामीलाइ तोकिएको कोटा मात्रै खरिद गर्नु पर्ने भएकोले सबै कृषकहरूको खसीबोका खरिद गर्न सकिएन’ उनले भने । आफूहरूसँग भएका खसीबोका खरिद गरी दिन भनेर धेरै कृषकहरूले आग्रह गरे पनि खरिद गर्न नसकिएको उनको भनाइ छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने समितिले मूल्य निर्धारण गर्ने गर्छ । समितीले यो वर्ष जिउँदो खसी २५ केजीभन्दा माथिको प्रति केजी ५ सय ६२ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । त्यस्तै खसी २० देखि २५ केजीसम्मको प्रति के जी पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको थियो । बोका १८ केजीभन्दा माथि प्रति केजी पाँच सय ४२ रुपैयाँ निर्धारण गरिएको प्रमुख सुनारले बताए ।

कम्पनीले गत असोज २८ देखि कार्तिक २ सम्म खसीबोका खरिद गरेर काठमाडौं पठाएको थियो । घर आगन मै गएर खाद्यले खसीबोका खरिद गरि दिँदा कृषकहरूलाई सहजतासमेत भएको उनीहरूले बताए ।

खसीबोका बिक्रीका लागि टाढा जान नपरेकाले आफूहरूलाई सहजता भएको उनीहरूको भनाइ छ । यस प्रकारको कार्यले कृषकहरूलाई प्रोत्साहान गरेको छ । सरकारले चाडपर्वको समयमा व्यवसायीबाट मूल्य वृद्धि रोक्नका लागि खसीबोका खरिद गरेर छुट दिने गर्छ । यसले मासुको मूल्य वृद्धि रोक्न सकिने सरकारको भनाइ छ ।

दाङबाट एक करोड ३७ लाख बढी मूल्यका खसीबोका निर्यात

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

दाङबाट एक करोड ३७ लाख बढी मूल्यका खसीबोका निर्यात

मुगुमा चार जनाको हत्या भएको १० दिन

This will close in 0 seconds