मौन अवधिमा आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना

काठमाडौँ,२ मंसिर ।

निर्वाचन अनुगमन समितिले मौन अवधिमा निर्वाचन अचारंसहिता उल्लंघन गर्नेलाई २५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो अडचालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था छ । सो व्यवस्था अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्न पाइँदैन।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।

सोही दफाको उपदफा ७ मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । आयोगले त्यही व्यवस्थाअनुसार आचासंहिताविपरीत गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले बिहीबार राती १२ बजेपछि निर्वाचन प्रचारप्रसारसम्बन्धी वा राजनीतिक दल वा उम्मेदवारको गतिविधि वा प्रचारप्रसारसम्बन्धी कुनै पनि समाचार प्रकाशन वा प्रसारण नगर्ने तथा नगराउने प्रबन्ध गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल प्रेस काउन्सिललाई निर्देशन दिने निर्णय भएको छ ।

बिहीबार राति १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि नगर्न पनि आयोगको निर्देशन दिएको निर्वाचन अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।

बिहीबार राति १२ बजेपछि निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन पनि आयोगले सर्वसाधारणलाई आह्वान गरेको छ ।

बिहीबार राती १२ बजेपछि कसैले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ विपरित निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गरेमा सोही दफाको उपदफा ७ बमोजिम तत्काल जरिवाना गरी सोको जानकारी आयोगमा गराउन सम्पूर्ण निर्वाचन अधिकृत तथा अनुगमन अधिकृतलाई निर्देशन दिएको छ ।

मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

बिहीबार राति १२ बजेपछि सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै राजनीतिक विज्ञापन नगर्ने नगराउने, यसअघि गरिएका यस्ता विज्ञापन हटाउन सम्बन्धित सञ्चार माध्यमलाई अनुरोध गर्ने र त्यसको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिने दिएको छ ।

कान्तिपुर

मौन अवधिमा आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना

निर्णायक खेलमा यूएईले नेपाललाई दियो मध्यम लक्ष्य

मौन अवधिमा आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना

नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २०

Leave a comment

Your email address will not be published. Required fields are marked *