राहुल गान्धी सहभागी कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि‘

काठमाडौं,१ कात्तिक ।
भारतीय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी सहभागी भारत जोडो यात्राको एक कार्यक्रमको भिडिओ अहिले भाइरल बनेको छ । कार्यक्रममा राष्ट्रिय गान बजाउने बेलामा नेपालको राष्ट्रिय गान बजेपछि उक्त भिडिओ भाइरल बनेको हो। बिबिसी हिन्दीका अनुसार उक्त घटना बुधबारको हो ।
त्यसमा गान्धीले माइकमार्फत राष्ट्रिय गान बजाउन भन्छन्, मन्चमा उपस्थित नेताहरू पनि उभिन्छन् । तर प्राविधिक टोलीले भारतको राष्ट्रिय गान नबजाइ नेपालको बजाउँछन्। गीत बजेको केही सेकेन्ड बितेपछि मात्रै नेताहरूले नेपालको राष्ट्रिय गान बजेको थाहा पाउँछन् ।
यो घटनाको भिडिओ भाइरल बनेपछि राहुल गान्धीको आलोचना भइरहेको छ। आन्ध्रा प्रदेशका इकाइ सचिव रमेश नायडूले ट्विटरमार्फत गान्धीको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘डियर राहुल गान्धी, तपाईंको भारतीय कंग्रेसलाई हाम्रो देशको राष्ट्रिय गानसमेत थाहा छैन जस्तो छ।’
सेतोपाटी






