अस्ट्रेलिया जाने विद्यार्थी एजेन्टबाट यसरी ठगिन्छन् !
काठमाडौं, ३ फागुन ।
दक्ष र सक्षम माइग्रेसन एजेन्ट नभेट्दा अष्ट्रेलियामा कयौं नेपाली विद्यार्थीले दुःख पाइरहेका छन् । ती मध्येका एक हुन अशेष शर्मा । नक्कली एजेन्टको फन्दामा परेर उनी लामो समयदेखि एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राईब्यूनल (एएटी) धाउन बाध्य छन् ।
विद्यार्थीलाई शैक्षिक परामर्श दिन खोलिएका बग्रेल्ती दोकानमध्ये कुनै एकको फेला परेका शर्मा हुँदा खाँदाको जीवनलाई त्राश र आशमा अल्झाउन बाध्य छन् । घरैबाट अध्ययन गरेर हाल्न सकिने टीआर (टेम्पररी ग्राजुएट) भिसा आवेदनका लागि उनी एजुकेशन कन्सलटेन्सी पुगेका थिए ।
तर एजेन्टको लापरवाहीले उनको भिसा अध्यागमन विभागले रद्द गरिदियो। टिआर पाउने आशा गरेका उनी अध्यागमनको चिठी आएपछि अवाक बने। उनको ओठ तालु सुक्यो । अहिले साथीभाइको सल्लाहमा कानुनविदको शरणमा पुगेका छन् । अर्को महिना विवाह गर्ने तयारीमा रहेका अशेषले त्यो दिन काममा गएनन् र खाना पनि खाएनन् ।
पढाइमा अब्बल अशेष टीआर आएपछि विवाह गर्न नेपाल जाने र श्रीमतीलाई यता बोलाएर स्थायीत्वको योजनामा रिजनल जाने तयारीमा थिए । आइटीमा मास्टर्स सकि टीआर आउने पालो पर्खेर बसेका अशेषलाई भिसा रद्दको पत्र आउँदा कस्तो भयो होला ।
एजेन्टले लापरबाहीले आधिकारीक डकुमेन्ट अध्यागमनलाई नबुझाउँदा उनको भिसा रद्द भएको रहेछ । अध्यागमनले पठाएको पत्रमा करिब एक महिना भित्र उनले अस्ट्रेलिया छोडनुपर्नेसमेत उल्लेख थियो । ‘म त पागलजस्तै भएँ, तीन वटा काम थियो, सबैमा बिरामी भनेर घरै बसेँ, न खान मन लाग्छ, न सुत्न नै’,अशेषले भने ।
कानुनी परामर्शको लागि वकिलसँग सल्लाह गर्नु भन्दै एक साथीले एड्मिनिस्ट्रेटिभ अपिल्स ट्राईब्यूनल (एएटी) जान सकिने बताएपछि मात्र उनी सामान्य बनेका छन् । टीआर आउला, पैसा कमाउँला, पीआरको लागि बाटो बन्ला भन्ने सोचेर अगाडि बढेका अशेषको विवाह खर्चसमेत अब मुद्दा मामिलामा सकिने भएको छ ।
‘एजेन्टको एउटा सानो गल्तीले यहाँ विद्यार्थीको भविश्य वर्बाद हुनेरहेछ, यिनीहरूले कतिका भविष्यमाथि खेलवाड गरेका होलान् अहिले मनमनै सोच्दैछु’, अशेषले पीडा सुनाए । नेपालमा ब्याचलर गरेर मास्टर्स पढ्न अष्ट्रेलिया आएका उनले पढाइ र कामलाई उत्तिकै महत्वका साथ अगाडि बढाए ।
पढाइ सकेपछि टिआरको लागि बेहोरेको समस्या अरू कसैले भोग्न नपरोस् भन्ने उनको धारणा छ । काठमाडौं र अस्ट्रेलियामा बग्रेल्ती खुलेका शैक्षिक परामर्शका अफिस र आवश्यक योग्यता र दक्षताको प्रमाणपत्र नबोकेका एजेन्टले हरेक दिन विद्यार्थीको जीवनमाथि खेलवाड गरिरहेका छन् ।
शैक्षिक परामर्शको प्रमाणपत्र बोकेर माइग्रेशन एजेन्टको काम गरिदिन्छु भन्ने एजेन्टबाटै कयौं विद्यार्थी ठगिइरहेका छन् । सिड्नीका केही बदनाम शैक्षिक परामर्शदाताले कयौं विद्यार्थीबाट पैसा लिने अनि नाम फेरेर अर्कै नामबाट पुनःधन्दा चलाउने गरेको एक माइग्रेशन एजेन्टले बताए ।
अस्ट्रेलियाको कानुनका लचिलो पाटोको फाइदा उठाउँदै केही शैक्षिक परामर्शवालाले विद्यार्थीलाई बहकाउमा पारेर धमाधम अध्यागमनको कामसमेत गरिरहेका छन् । आफूकहाँ माइग्रेशन एजेन्ट नभए पनि अरू कुनै माध्यमबाट त्यो काम गराउने र कमिसन खाने शैक्षिक परामर्शदाताले कयौं विद्यार्थीलाई ठगिरहेका छन् ।
कोरोनाका कारण लामो समय बन्द रहेको सिमा खुलेसँगै नयाँ विद्यार्थीको ओइरो लाग्ने भएकाले यस्ता शैक्षिक परामर्शदाता कम्पनीले अपाच्य विज्ञापन गरेर विद्यार्थी तान्ने काम गरिरहेका छन् । काठमाडौंकी भूमिका शर्मालाई अस्ट्रेलियामा नर्सिङ पढने मन थियो, त्यसका लागि उनीसँग योग्यता थियो। तर उनी एक शैक्षिक एजेन्टको बहकाउमा लागेर बर्बाद भएको बताइन्।
‘एउटा शैक्षिक एजेन्टले के नर्सिङ पढ्छौ, पैसा महँगो छ, बरू कुकरीमा पीआर पनि हुन्छ पैसा पनि सस्तो पर्छ भनेर आफूलाई कुकरी भर्ना गरिदिएकाले पढाइ अजकिल्टीएर अगाडि बढ्न सकेन,’ भूमिकाले भनिन् । यसरी कमिसनको चक्करमा विश्वविद्यालय पढेका विद्यार्थीलाई डिप्लोमा र एडभान्स डिप्लोमा ट्रान्सफर गरेर दोहन गर्नेको पनि कमि नभएको उनको भनाइ छ ।
योग्यता र दक्षताको प्रमाण नहेरी लहलहैमा विद्यार्थी नचाहिने प्रलोभनमा परेर अध्यागमनको काम गर्न शैक्षिक एजेन्टका पुगेपछि ठगिने गरेको माइग्रेशन एजेन्ट निरज श्रेष्ठले बताए । ‘सर्वप्रथम त विद्यार्थीले आफूलाई कस्तो समस्या परेको हो र त्यसको निराकरणको लागि योग्य र दक्ष जनशक्ति भएको एजेन्सी कुन हो भनेर खोज्नुपर्ने हुन्छ’, श्रेष्ठले सल्लाह दिए, ‘अर्काको भरमा परेर पचास–सय सस्तोको मुख हेरेर जथाभावी नबुझिकन एउटा काम गर्न अर्काकोमा पुग्दा विद्यार्थीले समस्या झेल्नुपरेको छ ।’
श्रेष्ठका अनुसार अस्ट्रेलियाको कानुन अनुसार पनि एजुकेशन एजेन्टले माइग्रेशनको काम गर्न पाउँदैन । गरेको भेटिएमा दन्ड जरीवाना र सजायसमेत हुने व्यवस्था छ । ‘यस्तो कुनै विद्यार्थीलाई परेको छ भने सिधै कारबाही गर्ने निकायमा उजुरी दिन सकिने प्रावधान रहेको छ’, उनले भने, ‘माइग्रेशन एजेन्ट दर्तावाल हुन वा होइनन् भनेर थाहा पाउन सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको ओमाराको वेबसाइट चेक गर्न नेपाली विद्यार्थीलाई सल्लाह दिन्छु ।’
कुनै पनि एजेन्टकोमा जानुभन्दा पहिला उनीहरूको आधिकारिकता, उनीहरूको कर्मचारीहरूको अध्यागमन एजेन्ट दर्ता भएको वा मारा नम्बर छ कि छैन त्यो संस्थामा भन्ने कुरा जाँच गरेर सुझाव लिनुपर्छ ।
माइग्रेसन एजेन्टः दर्ता अनि गुनासो र उजुरी
अस्ट्रेलियामा नयाँ जीवनको सुरूआतका लागि धेरैले स्थानीय रूपमा कार्यरत अध्यागमन एजेन्टमार्फत काम गरेको पाइन्छ । अस्ट्रेलियाली अध्यागमन प्रक्रिया प्रायः लामो, झन्झटिलो हुने भएकाले रजिस्टर्ड माइग्रेसन एजेन्ट प्रयोग गर्दा सहज हुन्छ ।
करिब ७ हजार ५ सय माइग्रेसन एजेन्टले दर्ता गरेर काम गरिरहेका छन् । जसमा ३० प्रतिशतले कानूनी सल्लाहसमेत दिन्छन् । भर्खरै संशोधन भएको आप्रवासन सम्बन्धी कानुन अनुसार, वकिलको रूपमा काम गर्ने व्यक्तिले माइग्रेसन एजेन्टको लागि छुट्टै दर्ता नगरी अध्यागमन सम्बन्धी सल्लाह दिन सक्ने भएकाले यसमा संख्या थपिएको हो ।
यी दर्ता भएका माइग्रेसन एजेन्टलाई ओमारा वा गृह मामिला विभागद्वारा सञ्चालित माइग्रेसन एजेन्ट रेजिष्ट्रेसन अथोरिटीले नियमन गर्छन्। तर विदेशमा बसेर अस्ट्रेलिया पठाउने एजेन्टले ओमाराको नीति तथा नियमको भित्र बसेर काम गरेका हुँदैनन् ।
सिड्नी सहरमा दर्ता नभई पनि कतिपय नेपालीहरूले शैक्षिक एजेन्टका रूपमा अध्यागमनसम्बन्धी परामर्श दिने कार्य गरिरहेको आरोप यसै व्यवसायमा आवद्धहरूले नै लगाएका छन ्।
शैक्षिक परामर्श र अध्यागमन एक अर्कामा जोडिएका विषय हुन्, कलेज भर्ना र परिवर्तनजस्ता कयैन् कुराहरू भिसासँग जोडिने गर्छन्,यसैले पनि शैक्षिक परामर्श लिँदै गर्दा माइग्रेसन एजेन्टसँग पनि सल्लाह लिनु जरुरी हुन्छ ।
ओमाराले दर्ता भएका माइग्रेसन एजेन्ट र उनीको क्रियाकलाप माथि अनुगमन गरिरहेको हुन्छ तर अन्यलाई ध्यान दिँदैन । पछिल्ला समय बदमासी गर्ने केहि नेपाली सहितका कयौं माइग्रेशन एजेन्टको लाइसेन्स समेत खारेजी गरेको थियो । दर्ता नगरी व्यवसाय चलाउने माइग्रेसन एजेन्टहरू मिठा कुरा गर्ने, सस्तो प्रचारबाजी गर्ने र पैसा झार्ने कुरामा खप्पीस हुन्छन्।
यस्तो विषयमा विद्यार्थीले हेक्का राख्नुपर्छ । विद्यार्थीले आफ्नो अध्ययन र जीवनको महत्वपूर्ण विषयमा काम गर्दा जानेर, बुझेर र आधिकारिकता हेरेर मात्र गर्नुपर्ने शैक्षिक परामर्शदाताको छाता संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले बताए ।
‘अध्यागमनको विषय अझ बढी पेचिलो हुने भएकाले आधिकारीक माइग्रेशन एजेन्टको पुष्टी गरेर मात्र जान अनुरोध गर्छु’, उनले सल्लाह दिए । ‘हचुवा भरमा दिइएका कयैन् सुझाव अनि सल्लाहले थुप्रै विद्यार्थीहरूको भविष्य बिग्रने हुनाले हाम्रो समुदायभित्र रहेका यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्छ’, उनले भने ।





