स्वास्थ्य क्षेत्रमा फड्को
केही वर्ष अघिसम्म कर्णालीमा स्वास्थ्य पूर्वाधारको अवस्था कमजोर थियो । दुर्गम जिल्लामा सिटामोलसमेत नपाउने अवस्था थियो । दक्ष स्वास्थ्यकर्मी जानै मान्थेनन् । कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्थाहरु हुन्थे । सुत्केरी र गर्भवतीहरुले उपचार नै नपाउने अवस्था थियो ।
सामान्य रोग लाग्दा पनि स्थानीयहरु डाक्टर र अस्पतालभन्दा गाउँकै धामीको शरणमा पुग्थे । अवस्था यस्तो थियो की, धामीले नै विरामीको जीवन रक्षा गर्छन् भन्ने विश्वास नागरिकमा गढेको थियो । आर्थिक अवस्था बलियो हुनेहरुले उपचारका लागि कर्णालीभन्दा बाहिर जान्थे ।
तर पैसा नहुनेहरु उपचार नै नपाएर मर्नुपर्ने बाध्यता थियो । यस्तो अवस्थाबाट पीडित बनेको कर्णालीको स्वास्थ्य क्षेत्रमा पछिल्लो समय केही सुधार आएका छन् । स्वास्थ्यका पूर्वाधार निर्माण हुन थालेका छन् । उपकरणहरुको व्यवस्थापन भइरहेको छ । दुर्गम जिल्लामा समेत आईसीयू र भेन्टिलेटर तथा अक्सिजन पनि उपलब्ध हुन थालेको छ । चिकित्सकहरु पनि दुर्गममा भेटिन थालेका छन् ।
देश संघीयतामा गएसँगै प्रदेश सरकारहरु सक्रिय बनेका छन् । कर्णालीमा पनि प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ । प्रदेश सरकारले स्वास्थ्यमा लगानी बढाएकै कारण केही सुधारका संकेतहरु पनि देखिन थालेका हुन् । प्रदेश सरकारले सुर्खेतमा रहेको प्रदेश अस्पतालमा लगानी बढाएकै कारण यसको मुहार नै बदलिएको छ ।
त्यतिमात्र होइन, हिजो सामान्य रोगका विरामीलाई पनि बाहिर रिफर गर्ने यो अस्पताल अहिले जटिल प्रकृतिका शल्यक्रिया गर्न सक्षम बनेको छ । साथै दुर्गममा टेलिमेडिसियन सेवा उपलब्ध गराउन पनि यसले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । आज दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकहरु उपलब्ध छन् ।
यसले यहाँका विरामीले सहज रुपमा उपचार पाउने अवस्था आएको छ । अर्कोतर्फ प्रदेश सरकारले दुर्गममा हवाइ उद्धार सुरु गरेको छ । यसले दुर्गममा उपचार अभावमा छट्पटाइरहेका विरामीलाई सरकारले निशुल्क उद्धार गरेर अस्पतालसम्म लैजाने व्यवस्था गरेको छ । यसले पनि यहाँको स्वास्थ्य प्रणाली बलियो बन्दै गएको हो ।
मानिसको पहिलो अधिकार भनेको बाँच्न पाउने हो । हरेक नागरिकले उपचार पाउनु पर्दछ । अझ देशको संविधानले नै नागरिकलाई उपचारका हक दिएको छ । यस्तो अवस्थामा नागरिकको अभिभावकको रुपमा रहेको सरकारले नागरिकलाई सहज रुपमा उपचार सेवा दिनु पर्ने हुन्छ ।
अन्य प्रदेशको तुलनामा कर्णाली भौगोलिक रुपमा विकट छ । यही विकटताका कारण स्वास्थ्य सेवा प्रवाह गर्न कठिन छ । यद्यपी प्रदेश सरकारले जसरी प्राथमिकता दिएर स्वास्थ्यमा लगानी गरिरहेको छ, यसले यहाँको स्वास्थ्य पूर्वाधारलाई बलियो र सक्षम बनाउन सहयोग पुगेको छ । जब नागरिक स्वस्थ बन्छ, तब मात्र विकास निर्माणले गति लिन सक्छ ।
आज स्वस्थ नागरिक पनि देशका सम्पति हुन् । किनकी त्यही जनशक्तिको बलमा विकास निर्माणको अभियान सफल बनाउन सकिन्छ । तसर्थ प्रदेश सरकारले जसरी स्वास्थ्यमा लगानी बढाएको छ आगामी दिनमा पनि यसलाई प्राथमिकता दिइनु पर्दछ ।





