दुर्गममा अक्सिजनको व्यवस्थापन गर

कर्णालीका दुर्गम जिल्लामा अहिले पनि उपचार सेवा भरपर्दो छैन । न गाउँमा औषधि उपलब्ध हुन्छ, न त डाक्टरहरु नै गाउँमा बस्छन् । त्यसमा पनि यो कोरोना महामारीको समयमा थप समस्या भएको छ । महामारीका कारण दिनहुँ नागरिकको ज्यान गइरहेको छ । संक्रमण सहरबाट गाउँ फैलिएको छ ।

तर यतिबेला सहरमा जसोतसो संक्रमितले उपचार पाए पनि दुर्गम स्थानमा बढी समस्या छ । कारण यसपालीको संक्रमणमा अक्सिजन अनिवार्य बनेको छ । संक्रमितलाई उपचारमा अक्सिजन नभएसम्म कठिन भइरहेको छ । तर दुर्गम जिल्लाहरुमा अक्सिजन नहुँदा समस्या छ । अझ भनौं स्थानीयले संक्रमितलाई उपचारका लागि जिल्ला बाहिर लैजानुपर्ने बाध्यता छ ।

जिल्ला सदरमुकाममा समेत अक्सिजन नहुँदा स्थानीयले हेलिकोप्टर नै चाटर्ड गरेर संक्रमितलाई उपचार गराउन लैजाने गरेका छन् । यसले एकातिर संक्रमितले सहजै उपचार पाउन सकेका छैनन् भने अर्कोतर्फ हेलिकोप्टर चाटर्ड गर्नुपर्ने बाध्यताका कारण स्थानीयहरु थप ऋणमा डुब्दै गएका छन् । यसको मुख्य कारण भनेको जिल्लाहरुमा अक्सिजनको व्यवस्थापन नहुनु नै हो ।

कर्णाली सरकारले दुर्गम जिल्लाहरुमा पनि अक्सिजन व्यवस्थापन गर्ने योजना नल्याएको होइन । तर प्रदेश सरकारको उक्त योजना कार्यान्यन हुन सकेको छैन । दुर्गम जिल्लामा बिरामीको उपचारमा सहज होस् भन्नका लागि अक्सिजन प्लान्ट सांचालन गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । यसका लागि अधिकांश जिल्लाहरुमा अक्सिजन प्लान्ट संचालनका लागि मेसिन र उपकरणहरु पनि पुगेका छन् ।

केही जिल्लामा टेण्डर पनि भइरहेको छ । तर हालसम्म जिल्लामा अक्सिजन प्लान्ट नै जडान हुन सकेका छैनन् । प्राविधिक जनशक्ति नहुँदा मेसिन जडान गर्न नसकिएको हो । अक्सिजन अभावमा ति जिल्लाहरुमा आईसीयु र भेन्टिलेटर पनि थन्किएका छन् । कोरोना महामारीमा नागरिकले अक्सिजन नपाएर ज्यान गुमाइरहेका बेला जिल्लामा अक्सिजन प्लान्ट संचालनमा खेलाँची गरिएको छ । प्रदेश सरकारले यसमा चासो नदिएको देखिन्छ । आफ्नो योजना सफल बनाउन प्रदेश सरकारले तत्काल दक्ष जनशक्ति उपलब्ध गराउन आवश्यक छ ।

दुर्गममा अक्सिजन नहुँदा नागरिकले उपचारै नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ । यस्तो अवस्था आउनु स्रोत र साधनको कमीले होइन । भएका स्रोत र साधनको सही परिचालन नहुनु यो समस्या हो । यसकारण प्रदेश सरकारले कुनै पनि हालतमा जिल्लाहरुमा पनि अक्सिजनको सहज उपलब्धतामा ध्यान दिनु पर्दछ । यसका लागि जिल्लामा अलपत्र अवस्थामा रहेका अक्सिजन प्लान्टहरु तत्काल संचालनमा ल्याउनु पर्दछ ।

प्लान्ट संचालन भएमा त्यहाँ अक्सिजनको सहज उपलब्धता हुनेछ । यसले संक्रमितको उपचारमा सहज हुनेछ । हेलिकोप्टरमै जिल्ला बाहिर लैजानुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ । यसकारण प्रदेश सरकार र स्थानीय सरकारले पनि आपसमा समन्वय गर्दै यो महामारीसँग जुध्न आवश्यक छ । यसो भएमा दुर्गममा पनि संक्रमितले सहजै उपचार पाउनेछन् ।

दुर्गममा अक्सिजनको व्यवस्थापन गर

कोरोनाबाट सल्यानमा थप चार जनाको मृत्यु

दुर्गममा अक्सिजनको व्यवस्थापन गर

बेमौसमी चुनावको भार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds