इस्तानबुलबाट पोर्टो सर्यो च्याम्पियन्स लिग फाइनल, १२ हजार समर्थकलाई इन्ट्री
काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल टर्कीको स्तानबुलबाट पोर्चुगलको पोर्टो सरेको छ। कोरोना महामारीका कारण युइएफएले यो निर्णय गरेको हो ।
पोर्टोको स्टुडियो डो ड्रगाओमा हुने खेलमा दुबै क्लबले समान ६-६ हजार दर्शकलाई मैदानमा अनुमति दिन पाउने छन्। फाइनलमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दै छन्। फाइनल ३० मे मा हुने छ।
टर्की रेड लिस्टमा
यसअघि खेलाउने तय भएको इस्तानबुलको अतातुर्क स्टेडियम बढ्दो कोरोनाका कारण सारिएको हो। टर्कीलाई इङ्ल्याण्डले रेड जोनको लिस्टमा राखेको छ। यदि त्यहाँ खेल्न गएका खेलाडी १४ दिनको अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने थियो भने दर्शक प्रवेश पुर्ण रुपमा निषेध हुने थियो। लामो समय दर्शकविहीन बनेको प्रतियोगितामा यो पटक फाइनलमा भने केहि दर्शकको उपस्थिति युइएफएले चाहेको थियो ।
पोर्चुगल इङ्ल्याण्डको ग्रिन लिस्टमा भएकाले दर्शकले समेत सहज रुपमा मैदानमा इन्ट्री पाउने भएकाले तथा पोर्चुगलले छोटो समयमा तयारी सम्पन्न गरेकाले च्याम्पियन्स लिगको फाइनल खेलाउने अवसर पाएको हो।





