मुख्यमन्त्री शाहीबाट जनगणनाको शुभारम्भ

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाको शुभारम्भ गरेका छन् । मुख्यमन्त्री शाहीले बिहीबार पारिवारिक तथा व्यक्तिगत विवरण संकलन कार्यको शुभारम्भ गरेका हुँन् ।
शाहीले कर्णाली प्रदेशका नागरिकहरूको घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह समेत गरेका छन्। नागरिकले दिएको सही तथ्याङ्कले मात्रै योजना तथा कार्यक्रम बनाउन सरकारलाई सहज हुने शाहीले बताएका छन् ।
मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनामा प्रत्येक घर–घरमा पुगेर ८० वटा प्रश्न सोधिने छन्। यस पटकको जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नारा तय गरिएको छ । मुख्यमन्त्री शाहीले जनगणनाबाट आउने सही तथ्याङ्कको आधार गराएर सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर सबैले गणकहरुलाई सहयोग गर्नुपर्ने बताए ।
‘जनगणनाबाट आउने सही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाती, धार्मिक समुदाय, महिला वा फरक क्षमता भएका व्यक्तिहरुका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउछ,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले आफुले टिपाएको सही तथ्याङ्कले आफ्नै लागि प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुनेछ भन्ने बुझ्नुहोला।’ उनले घर–घरमा तथ्याङ्क संकलन गर्न आउने गणकहरुलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गरे।





