स्थानीय सरकारको नमूना काम
मानव विकासको सुचांकमा कर्णाली कमजोर छ । स्वास्थ्य पूर्वाधार र सेवा प्रवाहमा पनि कर्णालीले अपेक्षाकृत प्रगति गर्न सकेको छैन । यही कारण यहाँ वर्सेनी धेरै नागरिकले भरपर्दो उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ । सामान्य रोगसँग लड्न कठिन हुने कर्णालीमा विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रण गर्न सहज भने छैन ।
तर पनि यो महामारीसँग जुध्नुको विकल्प पनि छैन । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर फैलिएको छ । प्रदेशका हिमाली जिल्लामा सुरुवातको चरणमा रहे पनि सुर्खेत लगायतका आअसपासका जिल्लामा महामारी तीव्र बनेको छ । संक्रमित र मृतकको संख्या बढ्दो छ । एक हिसावलेभन्दा केन्द्र र प्रदेश सरकारले चालेका प्रयासहरु पर्याप्त छैनन् ।
यही कारण अस्पतालमा बेड भरिने अवस्था आएको छ भने संक्रमितले अक्सिजन नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ । यद्यपी यो महामारीसँग जुध्न यहाँका स्थानीय तहले सुरु गरेको प्रयास भने प्रशसनीय नै छ । स्थानीय सरकार भनेका सबैभन्दा नजिकका सरकार हुन् । स्थानीय तहले नै नागरिकलाई सबैभन्दा छिटो र सहज रुपमा सेवा प्रवाह गर्न सक्छन् ।
यही प्रयास प्रदेशका केही स्थानीय तहले थालेका छन् । अस्पतालहरुमा संक्रमितले सहज रुपमा उपचार नपाउने अवस्था आएपछि प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आफ्नै कोरोना अस्पताल संचालनमा ल्याएको छ । यो निकै सकारात्मक कार्य हो । यसले नगरभित्रका संक्रमितहरुलाई उपचार गर्न सहज हुनेछ । अर्कोतर्फ प्रदेशका अन्य नगरपालिका र गाउँपालिकाले पनि महामारीसँग जुध्न पूर्वतयारी गर्न थालेका छन् ।
कतिपय स्थानीय तहले त प्रदेश र केन्द्र सरकारभन्दा पनि अगाडि बढेर काम गरेका छन् । दुर्गम गाउँमा नै अक्सिजनसहितका आइसोलेसन तयार भएका छन् । यसले दुर्गममा कोही नागरिक संक्रमित भएको अवस्थामा पनि उपचार पाउने छन् । उपचार नै नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्ति दिलाउन स्थानीय सरकारको यो कदमले सहयोग पुग्नेछ ।
कर्णालीका अधिकांश वस्तीहरु विकट छन् । जहाँ चिकित्सक र औषधि उपलब्ध छैन । स्वास्थ्य उपचारको अवस्था पनि प्रभावकारी छैन । जहाँ गम्भिर प्रकृतिका संक्रमितहरुलाई हेलिकोप्टरबाट मात्र अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । यस्तो अवस्थामा स्थानीय तहले सोही स्थानमा भरपर्दो उपचारको व्यवस्था गर्न सकेमा नागरिकलाई यो महामारीबाट बचाउन सम्भव हुनेछ ।
प्रदेश र केन्द्र सरकारले सहयोग गरेनन् भन्दै गुनासो गर्नुभन्दा आफैले सकेजति पूर्वतयारीमा सक्रिय हुने स्थानीय तहले जुन भूमिका निर्वाह गरेका छन्, त्यो निकै प्रशंसायोग्य र नमूना कार्य भएको छ । प्रदेशका केही स्थानीय तहले थालेको यो कामबाट अन्य स्थानीय तहले पनि अनुशरण गर्नुपर्छ । यसो भएको खण्डमा यो महामारीबाट नागरिकलाई सहज उपचार र बचाउन सकिनेछ । महामारीसँग जुध्नका लागि थप बल पुग्नेछ ।





