विप्लव वामपन्थको निहुरमुन्टी न
भनिन्छ, वामपन्थ अन्ततः दक्षिणपन्थमा परिणत हुन्छ । उग्रवामपन्थको अन्तिम नियति चरम दक्षिणपन्थ हुन्छ । विश्व र नेपालका राजनीतिक अनुभवले यो तथ्य पटकपटक पुष्टि गरेको छ । वामपन्थी नेताहरूका चर्का भाष्य, भाषण र नाराबाट रोमाञ्चित क्रान्तिकर्म थला मात्र परेका छैनन्, त्यसले ‘यु–टर्न’ गर्दै दक्षिणपन्थी र प्रतिगामी रुझानसमेत देखाउने गरेको छ । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली झापा 
विद्रोहताका एक उम्दा उग्रवामपन्थी थिए । माओ विचारधारा, नक्सलवाद, चारु मजुमदार लाइन, व्यक्तिहत्या उक्त आन्दोलनको मुख्य चरित्र थियो । सर्वहारा अधिनायकत्वको सिद्धान्तमा आधारित ‘जनवादी गणतन्त्र’ स्थापनाको लक्ष्य मूल परियोजना थिए । शास्त्रीय साम्यवादी भाष्यमा ‘जनवाद’ को अर्थले ‘लोकतन्त्र’ को सार्वभौम मान्यतासँग मेल खाँदैनथ्यो । माओ विचारधारा र नक्सलवादले ‘संयुक्त जनवादी अधिनायकत्व’ भएको एकदलीय राजनीतिक प्रणालीका रूपमा परिभाषित
गथर््यो । आज पनि प्रधानमन्त्री ओलीलाई ती दिन र एजेन्डा सम्झना रहेछ । ‘५० वर्षअघि म पनि विप्लवजीहरूको जस्तै आन्दोलनमा थिएँ’ वाक्यको निहितार्थ त्यही हो । यो स्वीकारोक्ति इमानदार हो भने धर्मराज ढकाललगायत निहत्था नागरिकको व्यक्तिहत्या अभियोगमा १४ वर्ष जेल बसेको तथ्य उनका लागि आरोप नबन्नुपर्ने हो । इतिहासका तथ्य बदलिँदैनन्। बदलिने भनेको इतिहासको व्याख्या वा भाष्य मात्र हो । भाष्य निःसन्देह बदलियो । ओलीको १४ वर्ष जेलजीवन झापा विद्रोहको व्यक्ति
हत्याका लागि नभएर लोकतन्त्रका लागि थियो भन्ने नयाँ भाष्य हामी सबैले मान्दिएका छौं । तर नक्सलवाद र लोकतन्त्रबीच कहिल्यै कुनै गोरु बेचेको साइनोसमेत थिएन र हुनै सक्दैन । यस्तै तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र संघर्ष र मधेस
आन्दोलनपछि केही नयाँ भाष्य आए । कमरेड विप्लवका पनि त्यस्तै केही नयाँ भाष्य आउलान् । ठिक छ मानिदिउँला । समाज, राष्ट्र र जनतालाई फाइदा गर्छ भने अकाट्य तथ्यका फरकफरक भाष्य पनि पत्याइदिनु मानव जीवनको अर्को नियति हो । यहाँनेर ध्यान दिनयोग्य अहं विषय छ– उग्रवामपन्थको दुर्भाग्य हो, उसले आफ्नो
इतिहास आफैंले सम्झनयोग्य बनाउन सक्दैन । आफ्नै कर्म आफैंले गौरव गर्नलायक गर्न सक्दैन । यस्तै आफ्नै भाष्य आफैंले विश्वास योग्य बनाउन सक्दैन । आफ्नै क्रियाकलाप आफैंले स्वीकार योग्य बनाउन सक्दैन । यो ओलीको मात्र हैन, उग्रवामपन्थको साझा चरित्र र नियति हो । यही चरित्र र नियतिको लस्करमा अर्का पात्र थपिएका छन् नेत्रविक्रम चन्द अर्थात् कमरेड विप्लव । विप्लव हिंसात्मक
क्रान्तिको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिको बाटोमा फर्किए । निःसन्देह त्यो स्वागतयोग्य कुरा हो । एक्काइसौं शताब्दीको विश्व राजनीति र उत्तरलोकतान्त्रिक युगको नेपाली लोकतन्त्रमा उग्रवामपन्थ आफैंमा एउटा बोझिलो सत्य थियो । यस्तो सत्य जसलाई अस्वीकार गर्न पनि सजिलो थिएन । उग्रवापन्थको कुनै न कुनै विन्दुमा
रूपान्तरण हुनैपर्दथ्यो । कुनै न कुनै प्रकारको राजनीतिक व्यवस्थापन हुनैपर्दथ्यो । हिंसा र बल प्रयोगको आमसंस्कृतिभित्र उन्नत तथा सुसंस्कृत लोकतन्त्रको अपेक्षा पुष्टि हुन सक्दैन । उग्रवामपन्थले प्रत्यक्ष, सहभागितामूलक, समावेशी र समानुपातिक
लोकतन्त्रलाई असम्भव बनाइदिन्छ । शान्ति, सुशासन, विकास, समृद्धि र समाजवादको प्रक्रिया झनै टाढा बनाइदिन्छ । वामपन्थी रोमाञ्चकताको ज्वरो नेपालमा मात्र हैन, संसारभरि कहीं पनि सजिलै उत्रिएको छैन । चीनको सांस्कृतिक क्रान्तिदेखि भारतको नक्सलवादसम्म, कम्बोडियाको खमेरुज आन्दोलनदेखि पेरुको साइनिङपाथसम्म त्यसको आफ्नै दुर्दान्त कथा छ । यस्ता दुर्दान्त कथाका अनेक आयाम र अध्याय छन् । ती कतै त्रासद छन् र कतै परिहासपूर्ण । त्रासद होस् कि
परिहासपूर्ण समृद्ध, सुशासित, समतामूलक समाजको अपेक्षासँग तिनीहरूले सधैं विमति राखेका छन् । विप्लव वामपन्थको अन्तर्य यी सबै परिप्रेक्ष्यभन्दा भिन्न र टाढा थिएन न त नेत्रविक्रम चन्द कुनै अज्ञात टापुका ‘रविन्सन क्रुसो’ नै थिए । माओवादी जनयुद्ध र त्यसको पराकाष्ठामा जुन घटनाक्रम संयोगले वा योजनाबद्ध, स्वस्फूर्त वा
सचेतन ढंगले निर्माण भए, चन्दलाई ती प्रक्रियाले राजनीतिक सीमान्तकरणमा लगेका थिए । उनी स्वयं आफ्ना नेता, सुप्रिम कमान्डर तथा आदर्श मानक व्यक्तित्व प्रचण्डबाट विरक्त थिए तर प्रचण्डपथको रोमान्टिसिज्म उनको हृदयमा तरंगित थियो । एक निष्कलंक व्यक्तित्व र निष्कन्टक राजनीतिक यात्रीका रूपमा विप्लवलाई जान्ने,
बुझ्ने र संगत गर्नेहरूको मानमा सम्मानको भावना हुनु स्वाभाविक थियो । तर, एक फरक आन्दोलनको उठान, विकास र बैठानका लागि त्यति मात्र कुरा पर्याप्त थिएन । अर्को, प्रचण्ड हुने लालसा स्वाभाविक रूपमा एक बचकना मनोदशाको प्रकटीकरण थियो, जो सफल हुन सम्भव नै थिएन । त्यसैले तीव्र आवेग, आँट र सहासले भरिएको
विप्लवको व्यक्तित्व कुण्ठित हुनु किमार्थ र कसैका लागि उचित थिएन । किन र कुन प्रयोजनका लागि प्रचण्डले विप्लवलाई किनारामा पारेर वर्षमान पुन र शक्ति बस्नेतहरूलाई अगाडि बढाएका थिए, त्यसको भिन्नै अध्ययन र विश्लेषण हुन सक्ला
तर देशको समग्र राजनीतिक ग्रन्थावलीका लागि त्यो एक लाइनको फुटनोटभन्दा बढी महत्वको थिएन । फुटनोटलाई मूलग्रन्थ बनाउने अभीष्टले विप्लवले ‘महापतन’ लेखे । तर, अब पुष्टि भयो कि महापतन कुनै महाग्रन्थ थिएन केवल अर्को फुटनोट रहेछ । विप्लवको एकीकृत जनक्रान्ति तथा आहूतिको ‘वैज्ञानिक समाजवाद’ का वास्तविक
अध्येता एक गुमनाम व्यक्तित्व रमेश सुनुवार हुन् । सुनुवार बागबजारको गल्लीमा एक सानो अध्ययन केन्द्र चलाउँछन् । कम्युनिस्ट कार्यकर्तालाई उनी ‘विज्ञान प्रविधिको युगमा मानव श्रमको साटो आर्टिफिसियल इन्टेलिजेन्स कसरी प्रमुख उत्पादक शक्ति’ बन्दछ भनेर अनेक छिमलका व्याख्या गरिरहेका हुन्छन् ।
सुनुवारको बौद्धिक भोक र सादगीपूर्ण जीवन आफ्नो ठाउँमा एकदमै स्तुत्य छ । तर, उनको अध्ययन केन्द्रले एक विशद तथा बहुआयामिक विवेचनाको साटो कुनै खास कोणबाट शास्त्रीय माक्र्सवादको तुष्टिकरण गरिरहेको हुन्छ । ‘कम्युनिस्ट हुनु राम्रो’ हो तर मोहनविक्रम सिंहदेखि मोहन वैद्यसम्म, केपी ओलीदेखि सीपी मैनालीसम्म ‘साँचो कम्युनिस्ट’ नै हैनन् भन्ने तत्त्वज्ञान दिइरहेको हुन्छ । यही तत्त्व ज्ञानमा बहकिएर
विप्लवले एकीकृत जनक्रान्तिको अन्योलपूर्ण भाष्य निर्माण गरेका थिए । कुनै महान् चित्रकारको अमूर्त चित्रकलाजस्तो जसरी अथ्र्याए पनि हुने शास्त्रीय साम्यवादको उभिन्डो क्यानभासमा अलिकति आफ्नो रङ पोतेर साम्यवादको पुनर्भाष्य गर्ने यो प्रक्रिया त्रासद त थिएन नै परिहासपूर्ण पनि बन्न सकेन । ‘यो नाटकै हो, यो नौटंकी नै
हो’ जस्ता घोचपेच लोकप्रिय बनेका बेला स्वाभाविक रूपमा नयाँनयाँ नाटक र नौटंकीका पर्दा खुल्ने नै भए । त्यही शृंखलाभित्र एकीकृत जनक्रान्तिको पनि पर्दा खुल्यो । यो नयाँ नाटक न त एक्काइसौं शताब्दीको कालचिन्तन थियो न त विज्ञान प्रविधिको युगको इतिहास चेत ।




