वामदेवले भने- ओलीको ठाउँमा म भएको भए राजीनामा दिन्थेँ

काठमाडौं, २३ पुस ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुअघि आफूलाई जानकारी नदिएको बताएका छन्। राष्ट्रिय सभामा बिहीबार बोल्दै उनले आफू प्रधानमन्त्री ओलीको कटु आलोचक रहेको पनि बताए।

‘म प्रधानमन्त्रीको कटु आलोचक हुँ। उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै विवाद उत्पन्न गराएका हुन्। उहाँ ४३ वर्षदेखि सहयोद्धा र मित्र हो। उहाँलाई धेरै पटक कार्यशैली सुधार गर्न सुझाव राखेको छु,’ उनले भने, ‘एमालेभित्र संगठन निर्माण गर्ने भित्र म पर्छु होला। कठिन परिस्थितिमा एक ठाउँमा छौं। तर प्रतिनिधि सभा भंग गर्दा उहाँले सोध्नुभएन, मलाई थाहा थिएन।’

प्रधानमन्त्री ओलीले आफूलाई बर्खास्त गर्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुने भनेको उल्लेख गर्दै गौतमले अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।

‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो। अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो।’ उनले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीबाट पराजित गर्ने काम होला भन्ने आफूले नसोचेको पनि बताए।

‘आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकतालाई जोगाइरहेको थिएँ। मैले अविश्वास प्रस्तावलाई असफल गरेको थिएँ। सामेल हुन सक्दैन भनेको थिएँ,’ उनले भने, ‘पार्टीमा आरोप प्रत्यारोप पत्र राख्दा पनि सुधारका लागि सम्भव उपाय हुन सक्छ भनेर राखेको थिएँ। अविश्वास प्रस्ताव लैजाँदा मलाई सोधिएन। पुस ५ गते अविश्वास प्रस्ताव जान्छ भनेर मलाई जानकारी दिइएन।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds