ओली समूहका मन्त्री र सांसदले गुट बदले, मुख्यमन्त्री शाहीको पक्षमा बहुमत तत्कालका लागि सरकार सुरक्षित

सुर्खेत, २० पुस ।

नेकपा विभाजनपछि कर्णालीमापनि सत्ता समिकरण बदलिने आँकलनहरु भइरहेका थिए । पूर्वमाओवादीबाट निर्वाचित दुई जना सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका थिए । यसकारण पनि प्रदेश सरकार नै ढल्ने अड्कलबाजी भइरहेका थिए । तर कर्णालीमा तत्कालका लागि प्रदेश सरकार परिवर्तन नहुने देखिएको छ ।

प्रधानमन्त्री ओली समूहका एक मन्त्री र सांसदले गुट बदलेपछि प्रदेश सरकार सुरक्षित बनेको हो । ओली समूहका सामाजिक विकास मन्त्री दल रावल र सांसद पदमबहादुर रोकाय नेकपाकै अर्को समूह प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् । उनीहरुले गुट परिवर्तन गरेर अर्को पक्षलाई साथ दिएपछि कर्णालीमा मुख्यमन्त्री शाहीलाई राहत पुगेको हो । योसँगै प्रदेश सभामा मुख्यमन्त्री शाहीको पक्षमा बहुमत जुटेको हो । मुख्यमन्त्रीको पक्षमा बहुमत जुटैसँगै तत्कालका लागि प्रदेश सरकार पनि सुरक्षित देखिएको हो । पूर्वमाओवादीका सांसदहरु ठम्मर विष्ट र धर्मराज रेग्मी ओली समूहमा प्रवेश गरेसँगै प्रदेश सरकार अल्पमतमा परेको थियो । तर मन्त्री रावल र जुम्लाबाट निर्वाचित प्रदेश सांसद पदमबहादुर रोकाय आफ्नासमूहमा आएसँगै सरकार बहुमतमा रहेको प्रचण्ड–नेपाल समूहले दाबी गरेको हो ।

यद्यपी यो समूहले ओली पक्षका पर्यटन मन्त्री नन्दसिंह बुढा पनि आफ्नो समूहमा आएको दाबी गरेको छ । तर मन्त्री बुढा निकट स्रोतले भने त्यसलाई स्वीकार गरेको छैन । स्रोतका अनुसार ओली समूह छाड्ने तयारी गरे पनि अन्तिम समयमा मन्त्री बुढा नगएको स्रोतको भनाइ छ । यसअघि गत असोजमा नेकपाकै १८ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसबेला बल्लतल्ल मुख्यमन्त्री शाहीले उक्त प्रस्ताव असफल बनाएका थिए । कर्णाली प्रदेश सभामा रहेका नेकपाका ३३ जना सांसद मध्ये अब ओली समूहमा सभामुख राजबहादुर शाहीसहित १२ जना र प्रचण्ड–नेपाल समूहमा २१ जना पुगेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा २१ जना सांसदको समर्थन भएमात्र सरकार सुरक्षित हुन्छ ।

बहुमत सांसदको समर्थनसँग कर्णाली प्रदेश सरकार तत्काल फेरबदल नहुने देखिएको छ । यद्यपी यसअघि गत असोजमा मन्त्री बन्ने शर्तमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने नेपाल समूहका सांसदले चाल्ने कदमले प्रदेश सरकारको आयु निर्धारण गर्नेछ । असोज २५ गते मुख्यमन्त्रीविरुद्ध नेकपाका १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका थिए । केही नेतालाई मन्त्री र अन्य लाभदायी पद दिने शर्तमा आठ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्सासको प्रस्ताव फिर्ता लिएका थिए । मन्त्री नपाएमा नेपाल समूहका केही सांसदले मुख्यमन्त्रीको साथ छाड्ने स्रोतको दाबी छ । ओली समूहका मन्त्री र सांसद आफ्नो पक्षमा आएको मुख्यमन्त्री शाहीले पुष्टि गरे । उनले भने, ‘मन्त्री र एकजना सांसद हाम्रो समूहमा (दाहाल–नेपाल) आइसक्नु भएको छ’ शाहीले भने ।’ उनीहरुको गुट परिवर्तनलाई ओली समूहले मन्त्री पद जोगाउने कसरत भनेको छ भने प्रचण्ड–नेपाल समूहले भने ओलीको असंवैधानिक कदमकोविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् ।

सुर्खेतमा को बलियो ?

पार्टी विभाजन भएको दोस्रोदिन अर्थात पुस ८ गते कर्णाली प्रदेश सभाका सांसदहरु धर्मराज रेग्मी र ठम्मर विष्ट ओली समूहमा प्रवेश गरे । पूर्वमाओवादीबाट सांसद बनेका रेग्मी र विष्टको गुट परिवर्तनले कर्णाली प्रदेश सरकारलाई एक प्रकारको झट्का नै लाग्यो । पूर्वमाओवादीबाट कोटाबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार ढक्ल्ने चर्चा सुरु भयो । सुर्खेतका सांसद विष्ट त मुख्यमन्त्रीका जनयुद्धकालीन सहकर्मी थिए । दुबै सांसद ओली समूह प्रवेश गरेपछि दैलेख र सुर्खेतमा नेकपाको राजनीतिले निकै चर्चा पायो ।

पुस १८ गतेसम्म आइपुग्दा सुर्खेतको राजनीतिमा ओली समूहका कट्टर आलोचक मानिने नेता डण्डिप्रसाद शर्माले नेता माधवकुमार नेपालको साथ छोडे । बर्षाैदेखि नेपाललाई साथ दिँदै आएका शर्मा ओली समूहमा फर्किएपछि सुर्खेतको नेकपा भित्रको राजनीतिमा ठूलै हलचल हुने आँकलन गरिएको छ । नेकपाका जिल्ला अध्यक्ष धु्रवकुमार शाही र सचिव कृष्ण जिसी प्रचण्ड र नेपाल समूहका हुन् । तर पनि शर्माको ओली समूहसँगको निकटताले जिल्लामा नेकपा भित्रको समिकरणमा को बलियो अहिले नै भन्न नसकिने कतिपय नेकपाका नेताहरु नै बताउँछन् । शर्माको जिल्लामा नेकपामा पकड राम्रो भएकाले पनि प्रभाव पार्ने उनीहरुको भनाइ छ ।

जुम्लामा दाहाल–नेपाल समूहको दबदबा

नेकपा विभाजनपछि नेता र कार्यकर्ता तानातानका कारण जुम्लामा ओली समूह निकै कमजोर भएको छ । पूर्वएमालेबाट सांसद बनेका प्रदेश सभा सदस्य पदमबहादुर रोकायले ओली समूह परित्याग गरेसँगै जुम्लामा ओली समूह शुन्य जस्तै भएको हो । सांसद रोकायाले गुट परिवर्तन गरेसँगै अब जुम्लामा दाहाल–नेपाल समूहको बर्चस्व भएको छ । त्यहाँ विघठित प्रतिनिधि सभाका सांसद गजेन्द्र महत, जिल्ला अध्यक्ष विरबहादुर कुँवर र सचिव तिर्थबहादुर बुढा, केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लगायतका नेताहरु दाहाल–नेपाल समूहमा छन् ।

हुम्लामा कमजोर बन्यो ओली समूह

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री एवम् नेकपा हुम्लाका पार्टी सचिव दल रावल प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेसँगै हुम्लामा ओली समूह कमजोर बनेको छ । प्रचण्ड–नेपाल समूहमा दर्जन नेताहरु हुँदा ओली समूहमा सिमित नेतामात्रै देखिएका छन् । हुम्लामा ओली समूहका नेकपा कर्णाली प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी, उनकी श्रीमति एवम् राष्ट्रिय सभा सदस्य कविता बोगटी, अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा, चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाही, गोकुल बुढा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष रूपा शाही रहेका छन् । तर मन्त्री रावलसँगै विघठित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, नेकपाका हुम्ला जिल्लाका अध्यक्ष लालकेश जैसी, जिल्ला इन्चार्ज विजय भण्डारी लगायत प्रभावशाली नेताहरु प्रचण्ड–नेपाल समूहमा लागेका छन् । मन्त्री रावलेले आफूसँगै दर्जन कार्यकर्तालाई पनि प्रचण्ड–नेपाल समूहमा प्रवेश गराएका छन् । ओली पक्षभन्दा जिल्ला कमिटीमा आफ्नो बहुमत भएको प्रचण्ड–नेपाल समूहको भनाइ छ ।

ओली समूहका मन्त्री र सांसदले गुट बदले, मुख्यमन्त्री शाहीको पक्षमा बहुमत तत्कालका लागि सरकार सुरक्षित

सम्पादकीयः जग्गा व्यवस्थापन

ओली समूहका मन्त्री र सांसदले गुट बदले, मुख्यमन्त्री शाहीको पक्षमा बहुमत तत्कालका लागि सरकार सुरक्षित

हुम्लामा दैनिक ११ घण्टा लोडसेडिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds