नेप्सेमा ८८ अंकको वृद्धि, २१७५ बिन्दुको रेकर्ड कायम

काठमाडौं, १९ पुस ।

आइतबार नेप्से सूचक ८८.११ अंकले सुधार भएर रेकर्ड कायम भएको छ। नेप्से सूचक ४.२२ प्रतिशतले सुधार भएर २१७५.३२ अंकको रेकर्ड बनेको हो। पछिल्लो समय दोस्रो बजारमा नयाँ नयाँ रेकर्ड बन्दै आइरहेको छ।

प्राविधिक विश्लेषकहरुका अनुसार पछिल्लो समय दोस्रो बजारमा दुई वटा बिन्दुको रेन्जमा चलिरहेको थियो। प्राविधिक विश्लेषक अरुण लामाले गएको साता दोस्रो बजारको प्रावधिक विश्लेषण गर्ने क्रममा नेप्से सूचक माथिल्लो बिन्दु २१ सय र तल्लो बिन्दु १९३० को रेञ्जमा सञ्चालन भइरहेको र यीमध्ये जुन बिन्दुलाई बजारले तोड्यो त्यही दिशामा बजार अगाडि बढ्ने विश्लेषण गरेका थिए।

उनको विश्लेषण अनुसार आइतबार नेप्से सूचले २१ सयको बिन्दुलाई तोडेर अगाडि बढेको हो। आइतबार नेप्से सूचकमा उल्लेख्य सुधार भएपनि कारोबार रकम भने ६ अर्ब ३४ करोड रुपैयाँको मात्रै भएको छ। बैंकबाट सेयर धितो कर्जा लिएका लगानीकर्ताको लगानी बैंकमा होल्ड हुँदा कारोबार रकमले भने रेकर्ड कायम गर्न नसकेको हो।

बैंकबाट लिएको सेयर धितो कर्जा नतिरेसम्म लगानीकर्ताले सेयर बिक्री गर्न वा फुकुवा गर्न पाउँदैनन्। लगानीकर्ताले अझै नाफा हुने विश्लेषण गर्दै होल्ड गर्दा उनीहरू बिक्री गरिहालेका छैनन्।

वणिज्य बैंकको सूचक मात्रै ७० अंकले सुधार भएको छ। वाणिज्य बैंकसँगै अन्य कम्पनीको मूल्यमा पनि उल्लेख्य सुधार भइरहेको छ। व्यापारको सूचक मात्रै ९.६४ प्रतिशतले सुधार भएको छ।

हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ तथा नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। दोस्रो बजारमा उछाल आउँदा पनि १४ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। मूल्य घट्नेमा अधिकांश जलविद्युत कम्पनी छन्।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड रुपैयाँको कारोबार भएको छ। आइतबार ११२ वटा कम्पनीको एक करोड ४० लाख कित्ता कारोबार भएको छ।

नेप्सेमा ८८ अंकको वृद्धि, २१७५ बिन्दुको रेकर्ड कायम

प्रधानमन्त्री कपकाे उपाधि प्रदेश १ लाई

सिद्धार्थ सहकारीको १९ औं साधारणसभा सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *