२०८३ जेष्ठ ३० गते
×

Now Playing

जंगलका राजा राउटेलाई दैनिकी चलाउनै मुस्किल

सुर्खेत : कर्णालीका विभिन्न जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकहरुलाई दैनिकी चलाउन मुस्किल भएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका राउटे समुदायलाई निषेधाज्ञाका कारण खाद्यान्नको जोहाे गर्न समस्या परेको हो।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै सुर्खेतमा पूर्णरुपमा एक महिनादेखि निषेधाज्ञा जारी हुँदा राउटे समुदायलाई परिवारको पेट पाल्नका लागि खाद्यान्न जोहो गर्न समस्या उत्पन्न भएको हो। गाउँमा जाँदा पनि पहिलेको जस्तो सहजै रुपमा अन्न पाउँने वातावरण छैन्। कुनै समय आफूले बनाएका सामग्री बोकेरै गाउँ–गाउँ डुलेर अन्नसँग साटेर जीविकोपार्जन गर्ने राउटे समुदायको सीपसमेत संकटमा पर्ने खतरा बढेको छ।

बजारमा आधुनिक प्रविधि भित्रिएसँगै राउटे समुदायले निर्माण गरेका सामग्री संकटमा पर्न थालेको राउटेहरु बताउँछन्। त्यसैमाथि कोरोना महामारीमा निर्माण गरेका सामग्रीहरु कसैले नकिन्दा गास जुटाउनै समस्या परेको राउटे समुदायका मुखिया ऐनबहादुर शाही बताउँछन्। राउटे समुदायका व्यक्तिले विभिन्न काठबाट थाल, कचौरा, झुमा, कोसी, आडी, मधुस, खाट, नाउलगायत सामग्री समेत बनाउँदै आएका छन्।

खाद्यान्न समस्या भएर राहत मागेपछि पछिल्लो समय केही सहयोगी दाँताहरुले उनीहरुलाई खाद्यान्न सहयोगसमेत गरेका छन्। उनीहरुलाई एइआएन लक्जेम्बर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न सहयोग गरेको छ। निषेधाज्ञाको समयमा राउटेहरुलाई खाद्यान्न अभाव भएको खबर आएपछि खाद्यान्न सहयोग गरिएको हो।

अहिले राउटे बस्तीमा ४६ परिवारका एक सय ४३ जना जनसंख्या छ। प्रतिपरिवार एक बोरा चामल, तेल, दाल र खुर्सानी वितरण गरिएको सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए।

खाद्यन्नसहित राउटे नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य सामग्रीहरु मास्क, सेनिटाइजरसमेत वितरण गरिएको संस्थापक अध्यक्ष थापाले बताए। संस्थाले झण्डै तीन वर्ष समुदायको शिक्षा, स्वास्थ्यसहितको सामाजिकीकरणका लागि राउटे परियोजना सञ्चालन गरेको थियो।

परियोजना सकिएको छ। यस्तै भेरी नदी किनारमा बसोबास गर्ने राउटे मध्ये ११ जनाको कोरोना परीक्षण गरिएको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे नागरिकहरुलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको छ।

उक्त पालिकाको स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परीक्षण गरेको गुराँस गाउँपालिकाले जनाएको छ। एक हप्ता अघिमात्रै उक्त बस्तीका राउटे युवा शिवराज शाहीको निधन भएको थियो। त्यसपछि राउटे समुदायमा पनि कोरोना संक्रमण फैलिएको आशंकामा कोरोना परीक्षण गरिएको हो।

एन्टिजेन विधिबाट कोरोना परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए।

जंगलका राजा राउटेलाई दैनिकी चलाउनै मुस्किल

आज जेठ १९ – राजा वीरेन्द्रको वंशनाश

जंगलका राजा राउटेलाई दैनिकी चलाउनै मुस्किल

सल्यानमा सेनाले बनायो २५ बेडको आइसोलेसन भवन

Leave a comment

Your email address will not be published. Required fields are marked *