वचन पूरा गर
देशमा कोरोना कहरमा थियो । कोरोनाका कारण लकडाउन हुँदा आर्थिक अवस्था जर्जर बन्यो । विदेशमा रोजगारी गुमाएकाहरु गाउँ फर्किए । त्यही क्रममा कतिपयको कोरोनाकै कारण ज्यान पनि गयो । केन्द्र, प्रदेश र स्थानीय सरकारले आफ्ना योजना र कार्यक्रमहरु सार्वजनिक गरे । त्यसैमा कोरोना रोकथाम र नियन्त्रणका लागि भन्दै प्रदेश सरकारले पनि केही योजनाहरु ल्यायो । जसअन्र्तगत चालु आर्थिक वर्षको बजेटमै कतिपय कार्यक्रमहरु समावेश गरिए । जसमा कोरोनाका कारण प्रदेशमा कसैको ज्यान गएमा मृतकका आफन्तलाई राहत स्वरुप एकलाख दिने घोषणा प्रदेश सरकारले गरेको थियो ।
बजेट भाषणमै समावेश भएको यो कार्यक्रम हालसम्म कार्यान्वयन भने हुन सकेको छैन । प्रदेशभर आइतबारसम्म कोरोनाका कारण ३० जनाको मृत्यु भइसकेको छ । जसमध्ये सरकारी घोषणा अनुसार एक जनाले पनि राहत रकम पाउन सकेका छैनन् । प्रदेश सरकारले महामारीको समयमा आफैले गरेको बाचा पूरा गर्न सकेको छैन । साथै आफ्नै कार्यक्रम कार्यान्वयनमा ल्याउन सकेको छैन । प्रदेश सरकार गठन भएदेखि नै विभिन्न योजना र कार्यक्रमहरु अगाडि सारिएका छन् । ती मध्ये अधिकांश कार्यक्रमहरु अलपत्र परे । सरकारले आफ्नै योजना पूरा गर्न सकिरहेको छैन । कहिले कर्मचारीको अभाव त, कहिले कानुन नहुँदा काम गर्न नसकिएको सरकारले बताउने गरेको छ । तर सरकारले सामान्य काम पनि गर्न नसक्ने अवस्था देखिएको छ । बजेट कार्यान्वयनमा असफल बन्दै आएको प्रदेश सरकारले विभिन्न बहाना देखाउने गरेको छ । पछिल्लो समय महामारीसँग जोडिएको कार्यक्रम नै अलपत्र परेको छ । यो सरकारका लागि पनि लजास्पद हो । किनभने पीडितलाई राहत स्वरुप उपलब्ध गराउने भनिएको रकम नै दिएको छैन ।
यसले नागरिकलाई आश्वासन दिने काम मात्र भएको छ । कोरोना महामारीमा पीडितलाई राहत दिने र अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकारले नै यस्तो गर्नु राम्रो संकेत होइन । किनभने सरकार नागरिकको अभिभावक हो । अभिभावकले गलत र पूरा गर्न नसकिने आश्वासन दिनु राम्रो होइन । प्रदेश सरकारले सुरुवातमा लोकप्रियताका लागि जे पनि बोल्ने ? पूरा गर्न नसकिने योजना किन ल्याउने ? अधुरै र अलपत्र पार्ने कार्यक्रम निर्माण किने गर्ने ? वास्तवमा प्रदेश सरकारले यसबारेमा गम्भिर बन्नै पर्दछ । सरकारको सफलता र मुल्याकंन उसले गर्ने काम र कार्यशैलीमा भर पर्दछ । तर पनि कर्णाली सरकारले अधिकांश योजना र कार्यक्रमहरु नै कार्यान्वयन गर्न सकिरहेको छैन । यसो किन भइरहेको छ ? यसको कारण र प्रगतिको उपाय खोज्नेतर्फ सरकार समयमै गम्भिर बनोस् । कोरोना महामारीमा नागरिकलाई राहत दिने खालका धेरै कार्यक्रम घोषणा भएका छन् । धेरै बाचा र प्रतिवद्धता गरिएका छन् । ती बाचा र प्रतिबद्धताहरु सरकारले कार्यान्वयन गर्नु पर्दछ । यसो भएको अवस्थामा मात्र नागरिकले सरकारबाट सेवा र भाव प्राप्त गर्न सक्छन् भने सरकारको पनि कार्यप्रगति देखिन सक्छ ।





