२०८२ बैशाख १७ गते
×

Now Playing

शिक्षा क्षेत्रमा कोरोना प्रभावः कोर्ष पूरा नहुने भएपछि ट्यूसनको सहारा लिँदै विद्यार्थी

सुर्खेत, १६ पुस ।

भेरी नगरपालिका–३ जाजरकोटका सेवक विसी कक्षा ९ मा अध्ययनरत छन् । त्रिभुवन माध्यमिक विद्यालयले परीक्षा लिने तयारी गरेको छ । कोरोनापछि मंसिर १४ गतेदेखि स्कुल खुले पनि आधाकोर्ष पनि पुरा भएको छैन । आउँदो चैत्रमा वार्षिक परीक्षा हुन्छ । तर त्यतिन्जेलसम्म पनि कोर्ष पुरा हुने स्थिति छैन । यही कारण पढाइ पुरा गर्न उनले ट्यूसन पढ्न थालेका छन् ।

वीरेन्द्रनगर–६ का रत्नप्रसाद ढकाल कक्षा १० मा पढ्छन् । वीरेन्द्रनगरको जन नमूना माविमा अध्ययनरत उनी हप्तामा दुईदिन मात्रै विद्यालय जान्छन् । विद्यालयमा नियमित पढाइ हुन्छ । तर उनको पालो भने हप्तामा दुईदिन मात्रै पर्छ । कोरोना भाइरसको महामारीका कारण विद्यालयले पालोअनुसार पठनपाठन गर्दै आएको छ । विद्यार्थीको अत्याधिक चाप हुने उक्त विद्यालयले कोरोना भाइरसबाट बच्नको लागि सिफ्टअनुसार अध्ययन गराउँदै आएको हो ।

लकडाउनको अवधिमा पनि विद्यालयले अनलाइन कक्षा चलाएको थियो । तर अधिकांश विद्यार्थीहरु अनलाइनको पहुँचमा भएनन् । हुम्लाको ताँजाकोट गाउँपालिकाका धेरै विद्यार्थी चैतदेखि सुरु भएको लकडाउनका कारण गाउँ फर्किए । हुम्लामा अनलाइन पढाइ सम्भव नभएपछि असोजमा उनीहरु वीरेन्द्रनगर झरे । वीरेन्द्रनगर झरे पनि विद्यालयमा नियमित पढाइ हुने अवस्था भएन । जोखिम मोलेर भए पनि स्कुल त नियमित सञ्चालनमा आएको छ । नियमित विद्यालय जान नपाएपछि उनीहरुमा परीक्षामा राम्रो राम्रो अंक ल्याउन सकिदैन कि भन्ने चिन्चा छ । उसो त स्कुलमा आधा कोर्ष पनि पुरा भएको छैन ।

परीक्षा नजिकिदै गर्दा पनि कोर्ष पुरा नहुने भएपछि उनीहरुले ट्यूसन पढ्नु परेको छ । कोरोना महमारीका कारण यो वर्ष लाखौं विद्यार्थीको पढाइ अुधरै छ । चैतदेखि बन्द भएका विद्यालयहरु मंसिरदेखि खुलेका छन् । विद्यालय खुले पनि कोरोनाको जोखिम कायमै छ । यही कारण धेरै विद्यार्थी हुने विद्यालयहरुले सिफ्ट अनुसार पढनपाठन गरेका छन् । तर आधा कोर्ष पनि पुरा भएको छैन । परीक्षा दिने समय भने आइसकेको छ । कोरोना नभएको भए अहिलेसम्म त्रैमासिक र अर्धवार्षिक परीक्षा भइसकेको हुन्थ्यो । चैत्रभित्रै वार्षिक परीक्षा हुने भएपछि अधिकांश विद्यार्थीहरुले ट्यूसन लिएर कोर्ष पुरा गर्न थालेका छन् । कुनै विद्यालयले शुक्रबार पनि पुर दिन पढाउँदै आएका छन् । कोष पुरा गर्न केही विद्यालयले भने सार्वजनिक विदासमेत कटौती गर्न थालेका छन् ।

हिउँदे विदामा पनि पठनपाठन

हुम्लाको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे विदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसैअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे विदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । अदानचुली गाउँपालिकामा चारवटा मावि, चारवटा निमावि र १० वटा प्रावि गरेर १८ सामुदायिक विद्यालय छन् । कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो विदा हुने गरेको छ । जिल्लाका अन्य ६ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्याधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।

शैक्षिक सत्र पुरा गर्न सातैबार पढाइ

कोर्ष पुरा गर्न रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले सातैबार विद्यालय खोलेर पढाउँदैै आएको छ । शुक्रबार पुरादिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । कोरोना कहरले पारेको प्रभावलाई न्यूनिकरण गर्न यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बनाएको योजनाअनुसार अबदेखि एक सय ५५ दिन विद्यालयमा पढाइ हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरी सञ्चालन हुने र २०७८ को जेठबाट अर्को शैक्षिक सत्र सञ्चालन गर्नेगरी कार्ययोजना पास भएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । नगरभित्रका ६३ वटै विद्यालयमा अब विदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुने उनको भनाइ छ ।

२०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि सुरु गरेको थियो । प्रधानाध्यापकहरूले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीले बताए । ‘कोरोना संक्रमणको कारणबाहेक अन्य कारणले पढाइ प्रभावित हुनेछैन’ उनले भने, ‘विदाको समयमा पनि पढाइ र अतिरिक्त क्रियाकलाप हुनेछ ।’ कार्ययोजनामा २०७८ को वैशाखमा भर्ना अभियान पनि चलाउने र चालु शैक्षिक सत्रको बाँकी पढाइलाई पनि निरन्तरता दिने उल्लेख छ ।

यस्तै हिमालय माविका प्रधानाध्यापक कृष्ण केसीले अर्को शैक्षिक सत्रको एकमहिना चालु शैक्षिक सत्रमा गाभेर पूर्णपठनपाठन गराउने गरी नगर कार्यपालिकाबाट कार्ययोजना पारित भएको बताए । यो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएको उनको भनाइ छ । आदर्श माविका प्रअ चिन्ताराम शर्माले यो शैक्षिक सत्रको व्यवस्थापनका कार्ययोजना महत्वपूर्ण भएको बताए । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन सुरु गरेको थियो ।

शिक्षा क्षेत्रमा कोरोना प्रभावः कोर्ष पूरा नहुने भएपछि ट्यूसनको सहारा लिँदै विद्यार्थी

YUGAAWHAN NATIONAL DAILY (2077-09-17)

Leave a comment

Your email address will not be published. Required fields are marked *