लागूऔषध निषेधित प्रदेश बनाउने तयारी
सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई लागूऔषध निषेधित र मदिरा नियन्त्रित प्रदेश बनाउने बताएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आईतबार आयोजित ‘स्थानीय तहका जनप्रतिनिधिहरुका लागि विपद् व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय अभिमूखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लागूऔषध कारोबार तथा प्रयोगमा पूर्णनिषेध गरिने बताएका हुन् ।
‘प्रदेश सरकारले प्रदेश प्रहरी गठन भइसकेपछि यसलाई अभियानकै रुपमा स्थानीय तहसम्म लैजाने सोच बनाएको छ,’ उनले भने, ‘लागूऔषध कारोबार नियन्त्रण तथा प्रयोगकर्तालाई सुधार गर्न नसके युवाहरुमा सामाजिक विकृति निम्तिनसक्छ, त्यसैले स्थानीय र प्रदेश सरकारले सहकार्य गरेर अभियान सञ्चालन गर्नुपर्छ ।’
मन्त्री भण्डारीले सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) समूहलाई सहयोग नगर्न समेत स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । उनले भने, ‘उक्त समूहसँग साँठगाँठ गरेको, चन्दा सहयोग गरेको वा मिलेमतो गरेको पाइएमा तपाइँहरु सरकारी निगरानीमा हुनुहुनेछ, त्यसतर्फ पनि ख्याल गर्नुहोला ।’ देशभर व्यवस्थाविरोधी उक्त समूहका एकहजार दुइसय नेता÷कार्यकर्ता सरकारको नियन्त्रणमा आइसकेको बताए ।