सांसदलाई दसैं भत्ता फिर्ता गर्न कांग्रेसको निर्देशन
काठमाडौं, ३ कात्तिक ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएको छ। संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

‘पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिइसक्नुभएको छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘आजै संसदीय दलले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेखेर फिर्ता गर्नेछ।’ सांसदहरु सबै काठमाडौंमा नभएका कारण बैठक राख्न सम्भव नभएपछि दलको नेताका हैसियतले देउवाले निर्देशन दिएका हुन्।
जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए। उनले भने, ‘सरकारले परीक्षण पनि नगर्ने र उपचार पनि नगर्ने जस्ता निर्णय गरेर गैरजिम्मेवारी प्रस्तुत गरेको छ।’
प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्। संघीय सांसदहरूले ६४ हजार ७० रुपैयाँ दसैं भत्ता पाएका थिए। आफ्ना सांसदलाई खातामा जम्मा भएको रकम फिर्ता गर्न पार्टीले पनि निर्देशन दिइसकेको छ। नेता खाँणका अनुसार सरकारले गरेका पछिल्ला निर्णयमा पनि नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समयबाट साभार ।




