कँडेललाई नेम्वाङको सुझाव- अविश्वासको प्रस्ताव अघि नबढाउनुहोस्
काठमाडौं, २७ असोज ।
पूर्वसभामुख एवम् नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएका छन्। उनले अविश्वासको प्रस्ताव अगाडि बढाउन नेतृत्व गरेका प्रदेश सभा सदस्य यामलाल कँडेलसँगको टेलिफोन कुराकानीमा अविश्वासको प्रस्ताव अगाडि नबढाउन सुझाएको बताए।

‘मलाई साथीहरूले अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रिया सोधेका थिए’, नेम्वाङले भने, ‘मैले पार्टीभित्रको विषय भएकाले सरसल्लाह गरेर मिलाउन भनेको छु।‘ आफूलाई अविश्वासको प्रस्ताव अगाडि बढाउने प्रक्रियाको विषयमा जानकारी भएपनि बताउँदा त्यसलाई समर्थन गरेको आशय देखिने भएकाले नबताएको उल्लेख गरे।
‘मैले उहाँहरुलाई अहिले कर्णाली प्रदेशमा जे भैराखेको छ, त्यसमा मेरो सहमति छैन। यो पार्टीभित्र सहमति गरेर अगाडि बढ्ने विषय हो भनेको छु।‘ नेम्वाङले कर्णाली प्रदेशमा भैरहेको गतिविधिबारे आफूले टेलिफोनमा प्रधानमन्त्रीसँग पनि कुराकानी गरेको बताए।
‘म अहिले घरबाहिर निस्किएको छैन’, नेम्वाङले भने, ‘प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भयो। उहाँलाई पनि कर्णाली प्रदेशका सांसदसँग भएको कुराकानीबारे जानकारी दिएको छु।‘ नेम्वाङले प्रधानमन्त्री ओलीले पनि केन्द्रसँग सल्लाह नगरी प्रदेशमा अराजकतापूर्ण कार्य भएको टिप्पणी गरेको बताए।
‘मैले जानकारी पाएसम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकमै कर्णालीमा ल्याइएको अविश्वासको प्रस्तावलाई राजनीतिक अराजकता भन्नुभएको छ। साथी भाइले मलाई सोध्दै नसोधी, जानकारी नदिई अविश्वासको प्रस्ताव ल्याएका छन् भनेर प्रधानमन्त्रीले भन्नुभएछ।‘
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव अगाडि बढाएका छन्। ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ सांसद छन् । शाहीविरूद्ध अविश्वासको प्रस्ताव अगाडि बढेपछि नेकपाका प्रदेश सभाका सचेतकले संसदीय दलको बैठक डाकेका थिए। तर दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक परिवर्तन गरेका छन्।
यसैबीच स्रोतका अनुसार कर्णाली प्रदेश सरकारमा सहभागी केही मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। पूर्वाएमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएर शाही माथि दबाब बढाउने तयारी गरेका थिए। तर केन्द्रबाट हस्तक्षेप पछि मन्त्रीहरूको राजीनामा रोकिएको छ।
‘राजीनामा गर्ने विषयमा केही मन्त्रीहरूले सोधपुछ गर्नु भएको थियो’, प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक नेताले भने, ‘हामीले अहिले राजीनामाको हतारो नगर्नुस् भनेका छौँ।‘ कर्णाली प्रदेशकी कृषि मन्त्री विमला केसीले अविश्वासको प्रस्ताव अघि नबढाउन केन्द्रबाट लिखित निर्देशन आउन लागेको आफूले बुझेको बताइन्।
बिहान मन्त्री दल रावलसँग केन्द्रबाट कुरा भएको रहेछ। केन्द्रबाट लिखित निर्देशन आउँदैछ भन्ने सुनेकी छु, मन्त्री केसीले भनिन्, एक बजेभन्दा पहिला केन्द्रको लिखित निर्देशन आए अहिलेको समस्या समाधान हुन्छ। कँडेललगायत सांसदहरू भने अहिले पनि दिउँसो १ बजेको बैठक बसेर निर्णय गर्ने पक्षमा छन्। केन्द्रबाट निर्देशन आएन, उहाँहरूको बैठकमा बहुमत पुग्यो भने त निर्णय गर्नुहुन्छ होला,ु केसीले भनिन्।
सेतोपाटीबाट साभार ।





