डीपीआरको विरोध भएपछि अस्पताल भवन निर्माण प्रभावित
डोल्पा, २५ भदौ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गलत भएको भन्दै स्थानीयस्तरमा विरोध भएपछि डोल्पा जिल्ला अस्पतालको भवन निर्माण कार्य प्रभावित भएको छ । टेण्डरको प्रक्रिया सुरु हुनै लागेको बेला स्थानीयवासीले बिरोध गरेका हुन् । नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले पुरानै शैलीमा भवन बनाउन थालिएपछि स्थानीयस्तरमा विरोध भएको बताए ।
उनका अनुसार हाल बनाइएको डीपीआर नेपाल सरकारको भवन पूर्वाधार निर्माण मापदण्ड–२०७३ विपरीतको छ । उनका अनुसार डीपीआरमा पुरानै शैलीका भवन निर्माण गर्ने उल्लेख छ । जस्तापाता र स्थानीयस्तरमा पाइने ढुंगा, माटो प्रयोग गरेर एकतले ४ वटा भवन निर्माण गर्ने उल्लेख रहेको नागरिक समाजका अध्यक्ष बुढाले बताए ।
‘नयाँ बन्ने संरचनामा आरसीसी ढलानयुक्त बहुतले भवन हुनुपर्ने, आवश्यक उपकरण जडानका लागि आवश्यक संरचना हुनुपर्ने, पोस्टमार्टम घर तथा काउन्टर समेतको व्यवस्थित व्यवस्था हुनुपर्ने हाम्रो माग रहेको छ,’ उनले भने, ‘तर डीपीआरमा यी कुरालाई पूरै बेवास्ता गरिएको छ ।’अस्पतालका संरचना छुट्टाछुट्टै ठाउँमा बनाउने उल्लेख भएकोले यसलाई एकै स्थानमा राख्नुपर्ने पनि उनले बताए ।
अस्पताल व्यवस्थापन समितिले पनि डीपीआर परिवर्तन गर्नुपर्ने माग गरेको छ । समिति अध्यक्ष तेजेन्द्र रोकायाले अहिलेको समयमा अत्याधुनिक भवन बनाउनुपर्ने बताए । ‘डोल्पा सडक सञ्जालमा जोडिसकेकोले पक्की संरचना बनाउन कुनै समस्या छैन,’ उनले भने, ‘यति धेरै बजेट छुट्याएपछि कच्ची भवन बनाउन खोज्नु राम्रो होइन ।’ हालको डीपीआरमा टिकट काउन्टर, बहिरंग सेवा, प्रयोगशाला कक्ष, फार्मेसी कक्षसमेत नरहेको उनले बताए ।
अस्पताल भवनको डीपीआर स्वास्थ्य मन्त्रालयको नेपाल स्वास्थ क्षेत्र सहयोग कार्यक्रमले तयार पारेको हो । हाल १५ शय्या रहेको अस्पतालको स्तरोन्नती गरेर ५० शय्याको बनाउन बहुवर्षीय योजनाका लागि २९ करोड बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि १० करोड बजेट विनियोजन गरिसकेको छ ।





