स्थानीय तहमा महिला जनप्रतिनिधि विश्वास जित्दै, सरकार हाँक्दै

सुर्खेत : ‘सरकार चलाउनु भनेको स्कुलमा कखरा पढाए जस्तो होइन, महिलाले नगरपालिकाको नेतृत्व हाँक्न सक्दैनन्’ स्थानीय तहको चुनावताका कान्तिका सेजुवालको कानले यस्तै सुन्थ्यो ।

आफ्नै पार्टीका नेता र कार्यकर्ताले नै महिलाको क्षमतामाथि प्रश्न गरे । जतिबेला कान्तिका जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा उम्मेदवार बन्ने कसरतमा थिइन् ।
महिलालाई उम्मेदवार बनाउनु हुँदैन भन्ने मत बलियो थियो । उम्मेदवार छनौटको समय नजिकिंदै गर्दा उनको पार्टी कांग्रेसले उनलाई उपप्रमुखमा चुनाव लड्न सुझाव दियो । तर कान्तिकाले नगर प्रमुख पदमा लविङ गरिन् । तर पनि जिल्ला नेतृत्वले उनलाई प्रमुखमा सिफारिस गर्न मानेन । महिलाले नगरको नेतृत्व गर्न सक्दनै भन्दै राजुसिंह कठायतको नाम सिफारिस ग¥यो ।

तर अन्तिम समयमा पार्टीको केन्द्रिय नेतृत्वले कान्तिकाको नाम पठायो । कान्तिकाको नाम सुन्ने वित्तिकै जिल्ला नेतृृत्वले विरोध ग¥यो । नगर प्रमुखमा महिलालाई उठाएर चुनाव हारिने भन्दै आन्दोलन भयो । केन्द्रको निर्णय सच्चाउन जिल्लाले आग्रह ग¥यो । यति हुँदा पनि कान्तिकाले मन कमजोर बनाइनन् । बरु पार्टीले साथ नदिएर एक्लै भए पनि मतदाताको घरमा पुग्ने अठोट गरिन् । चुनावको मिति नजिकिदै गर्दा केन्द्रले निर्णय नसच्याउने जवाफ दियो ।

त्यति बेलासम्म विपक्षीले उनको विरुद्धमा राम्रै मसला बनाई सकेका थिए । ‘सरकार चलाउन केन्द्रसँग राम्रो पहुँच चाहिन्छ, जिल्लामा पनि पार्टीको साथ र सहयोग चाहिन्छ, महिलाले नगरको विकास निर्माण गर्न सक्दैनन् ।’  तर चुनावी नतिजा कान्तिकाको पक्षमा आयो । उनी चन्दननाथ नगरपालिकाको मेयर बनिन् । संयोग यस्तो मिल्यो, कान्तिकासँगै उपप्रमुख पदमा पनि महिला नै (अप्सरादेवी न्यौपाने) विजयी भइन् । ‘दुबै पदमा महिलालाई विजयी गराएर मतदाताले गल्ती गरे’ पार्टीभित्रकै नेताहरुले खासखुस गर्न छाडेनन् । कतिपयले भन्थे, ‘अब नगरपालिका विकास निर्माणमा पछिपर्ने भो, जनताले दुःख पाउने भए ।’ तर समय वित्दै गयो, कान्तिकाले आफूलाई अब्बल सावित गरिन् । महिलाले केही गर्न सक्दैनन् भन्ने आरोपलाई चिर्दै यतिवेला उनी जनअपेक्षा पूरा गर्ने दौडमा छन् । नगरको विकासमा पुरुष जनप्रतिनिधि सरह नै काम गरेपछि स्थानीयले पनि हिजोआज उनलाई पत्याउन थालेका छन् ।

यस्तै सल्यानको कुमाल गाउँपालिकाको नेतृत्व पनि महिलाको काँधमा छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुअघि सम्म दिलमाया बुढामगरलाई चुनावमा विपक्षीले ठूलै चुनौती दिए । ‘चुनाव भनेको मतदाताको मन जित्ने कुरा हो, बन्दुक देखाएर जनतालाई थर्काए जस्तो होइन’ जनयुद्धको पृष्ठभूमिबाट खुल्ला राजनीतिमा आएकी दिलमायालाई विपक्षीले यस्तै आरोप लगाउँथे । महिलाले काम गर्न सक्दैनन् भन्दै कुरा काट्थे । महिला भएकै कारण उनको क्षमतामाथि प्रश्न गरियो । महिलाले के काम गर्लान् र ? भन्दै कतिपय पुरुष जनप्रतिनिधिले नै निरुत्साहित नबनाएका होइनन् । तर पनि अध्यक्ष दिलमायाले हिम्मत हारिनन् ।

हाल उनी गाउँपालिका महासंघ कर्णाली प्रदेशको उपाध्यक्षसमेत बनेकी छन् । उनी भन्छिन्,‘महिलाले काम गर्न सक्दैनन् भन्नेहरु अहिले पनि हाम्रो वरपर नै छन्, हामीले जिम्मेवारी अनुसार स्थानीय सरकार चलाएकै छौं । अवसर पाए महिलाले पनि पुरुष सहर नै काम गर्न सक्छन्, यसको उदारण हामीले दिइसकेका छौं ।’ उनले गाउँपालिकाबाट महिलालाई आत्मनिर्भर बनाउन क्षमता विकास र महिलामैत्री कानून निर्माण गरेको बताइन् । त्यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रमा बोहोरालाई पनि सुरुमा कसैले विस्वास गरेनन् । नगरकार्यपालिकामा पनि महिला भन्दै पुरुष जनप्रतिनिधिले होच्याउने व्यवहार गरे । तर अहिले उनको कर्म र भूमिकाले सबैले विस्वास गर्छन् ।

‘घरको चुलोचौकोमा काम गर्नेले कसरी वडाध्यक्ष पद चलाउँछन्, महिलालाई जिताउनु हुँदैन’ यही शब्द अहिले पनि रमाले विर्सेकी छैनन् । महिला भएकै कारण आफूमाथि गरिएका प्रश्नको जवाफ यतिवेला उनले वडा र नगरकार्यपालिकामा काम गरेर दिन थालेकी छन् । उनको भूमिका र कामका कारण वडामा सबैले विस्वास गर्न थालेका छन् । काम गर्नका लागि पुरुष जनप्रतिनिधि नै हुनुपर्छ भन्ने भ्रमलाई महिला जनप्रतिनिधिहरुले चिर्न थालेका हुन् । कालिकोट महावै गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गौंकला सिंह र वडा नम्बर ३ का अध्यक्ष दाना सिंहलाई पनि सुरुमा काम गर्लान् भन्नेमा कसैले विस्वास गरेनन् । तर जनताको मतले विजयी भएका उनीहरुले महिलामैत्री वडा बनाउन र महिलाको क्षमता अभिबृद्धका लागि काम गरिरहेको छन् । पुरुष जनप्रतिनिधि भएका स्थानीय तहमा विवाद, राजनीतिक खिचातानी र आर्थिक अनियमितताका घटनाहरु बाहिर आइरहँदा यहाँका महिला जनप्रतिनिधिहरुले भने नागरिकको विस्वास जित्दै स्थानीय सरकार हाँकिरहेका हुन् ।

अवसर पाए, महिला कमजोर छैनन्

आजको समाज महिला र पुरुषबीचको अन्तर खोज्ने समाज होइन । अब पुरानतवादी सोच र पुरुषवादी चिन्तनबाट मुक्त हुनुपर्दछ । यही मूल्य र मान्यताका साथ हामीले लैगिंक समानताको मुद्धालाई प्राथमिकतामा राखेका छौं । म नगर प्रमुखको हैसियतले पुरुष र महिला दुबै हुँ ।

तुलनात्मक रुपमा हाम्रो समाजमा पुरुषभन्दा महिलाका समस्याहरु बढी हुन्छन् । हामी प्रमुख र उपप्रमुख दुबै पदमा महिला हुँदा सेवाग्राही बढेका छन् । महिलाहरुले आफ्ना समस्याहरु खुलस्त रुपमा राख्न पाएका छन् । जसले गर्दा महिलामैत्री नगरको परिचय दिन सफल भएका छौं । तर आजको समाज महिलामात्रै पुरुषबाट पीडित हुन्छन् भन्ने छैन । कयौं पुरुषहरु महिलाबाट पनि पीडित भएका घटनाहरु छन् । तसर्थ ंअब महिला र पुरुषबीचको फरकभन्दा पनि हरेक क्षेत्र लैगिंकमैत्री बनाउन आवश्यक छ । खासमा अधिकार मागेर लिने कुरा होइन । महिलाहरुले आफ्नो क्षमता बृद्धि गरेको खण्डमा हरेक क्षेत्रको नेतृत्व लिन सक्षम छन् । जो अहिले महिला जनप्रतिनिधिले गरेको काम र निर्वाह गरेको भूमिकाले पनि प्रष्ट पारिसकेको अवस्था छ ।

हिला जनप्रतिनिधिको भूमिका अब्बल छ

पुरुषवादी चिन्तनका कारण आज पनि महिलाहरु नेतृत्वतहमा पुगेका छैनन् । तर पछिल्लो समय नेपालको संविधान अनुसार स्थानीय सरकारमा महिलाको नेतृत्व ह्वात्तै बढेको छ । मुख्य नेतृत्वमा नपुगे पनि उपाध्यक्ष र उपप्रमुख पदमा जुनजुन महिलाहरु पुगेका छन् ।

उनीहरुले सफल र सक्षम तरिकाले भूमिका निर्वाह गर्दै आएका छन् । न्यायिक समिति जस्तो जिम्मेवार पदको नेतृत्व महिलाहरुको हातमा छ । स्थानीय सरकारले गरेका विकास निर्माणको अनुगमनको जिम्मेवारी पनि महिलाहरुको काँधमा छ । एक हिसावलेभन्दा स्थानीय सरकारको नेतृत्व नै महिलाहरुले गर्दै आएका छन् । यसले महिलाहरु पनि नेतृत्व हाँक्न सक्ने भइसकेका भन्ने देखाउँछ । कर्णालीका कुनै पनि स्थानीय तहमा महिला जनप्रतिनिधिहरु विवादमा परेका छैनन् । उनीहरुको कामलाई मूल्याङ्कन भने अवसर पाए महिलाहरुले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् । केही जनप्रतिनिधिहरु पुरुषको भन्दा पनि अब्बल छन् ।

तपाईको प्रतिक्रिया