भेरी अस्पतालमा सिटीस्क्यान मेसिनको अभाव, बिरामी थप समस्यामा


सरला सुवेदी ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच महिनादेखि सिटीस्क्यान मेसिन बिग्रिएपछि कर्णाली, सुदूरपश्चिम, र लुम्बिनी प्रदेशबाट आउने बिरामी गम्भीर समस्यामा परेका छन् । मुख्य रिफरल सेन्टर मानिने यो अस्पतालमा दैनिक झन्डै २० बिरामीले सिटीस्क्यान सेवाका लागि निजी अस्पताल वा अन्यत्र जानु परिरहेको छ ।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार १६–स्लाइस सिटीस्क्यान मेसिनको ट्यूब बिग्रिएको हो । मर्मतका लागि करिब १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । “हामीले १२८–स्लाइस मेसिन आवश्यक भएको बताउँदै आएका छौं। पुरानो मेसिनले टाउको मात्र स्क्यान गर्न सक्छ, तर नयाँ मेसिन किन्न ७–१० करोड रुपैयाँ लाग्न सक्छ,“ डा. सुवेदीले जानकारी दिए ।

कालिकोटका कृष्ण बमले उपचारका लागि धेरै खर्च गरेर भेरीमा आएका थिए । “सरकारी अस्पतालमा सेवा लिन्छु भन्ने आशा थियो । तर, सिटीस्क्यान गर्न निजी अस्पताल जानु प¥यो। आर्थिक भार झन् बढ्यो,“ उनले गुनासो गरे ।

दैलेखकी सुमित्रा शाहीले आफ्ना गुनासा राख्दै भनिन् । “सिटीस्क्यान मेसिन नहुँदा निजी अस्पतालमा १० हजार रुपैयाँ तिर्नुप¥यो । गरिबका लागि सरकारी सेवा मात्र भए पनि ठूलो राहत हुने थियो। सरकारले यस्तो समस्या चाँडै समाधान गर्नुपर्छ ।“

भेरी अस्पतालको वित्तीय समस्या झन् जटिल बन्दै गएको छ । अस्पताललाई बिमाबाट भुक्तानी लिन बाँकी १० करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षको २२ करोड रकम अझै तिर्नुपर्ने अवस्था छ । यस्तो आर्थिक संकटका बीच पुरानो मेसिन मर्मत गर्ने वा नयाँ मेसिन किन्न सक्ने सम्भावना टाढा देखिएको छ ।

डा. सुवेदीले बारम्बार नेपालगञ्जमा आउने मन्त्री र सांसदलाई समस्या राखे पनि सुनुवाइ नभएको बताए । “जुनसुकै उच्च अधिकारी आए पनि म सिटीस्क्यान मेसिनको विषय प्राथमिकताका साथ उठाउँछु । तर, समस्या समाधानका लागि पहल भएको छैन,“उनले भने ।

सिटीस्क्यान मेसिनको अभावले भेरी अस्पतालमा आउने बिरामीलाई नजिकको सुविधा लिने मौका गुमाएको छ । गरिब र टाढाबाट आउने बिरामीलाई थप आर्थिक भारले सताएको छ । यस समस्याको तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयको ठोस पहल आवश्यक छ ।
भेरी अस्पताललाई समग्र प्रदेशका बिरामीको स्वास्थ्य सेवामा सुदृढ बनाउने हो भने सिटीस्क्यान मेसिनको मर्मत वा नयाँ मेसिन खरिदका लागि प्रभावकारी योजना आवश्यक छ ।

भेरी अस्पतालमा सिटीस्क्यान मेसिनको अभाव, बिरामी थप समस्यामा

YUGAAWHAN NATIONAL DAILY (2081-09-19)

भेरी अस्पतालमा सिटीस्क्यान मेसिनको अभाव, बिरामी थप समस्यामा

कर्णालीको दोस्रो आवधिक योजना स्वीकृत