निकुञ्जको ९ सय बिघा जमिन भारतीयको कब्जामा

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिणी भागमा करिब ९ सय बिघा नेपाली जमिन भारतीयले कब्जा गरी खेती गर्दै आएका छन् ।

पुरानो जंगे पिल्लरको २७ र २८ नम्बर अर्थात् अहिलेको नयाँ ७८७ देखि ७८८ नम्बर सीमा स्तम्भबीचको क्षेत्रमा भारतीयले अतिक्रमण गरेर नेपाली भूभाग भोगचलन गर्दै आएका छन् । सो क्षेत्रमा सहायक सीमा स्तम्भहरू समेत गायब पारिएका छन् । जोर सीमा स्तम्भ र त्यसका सहायक स्तम्भहरू मर्मत सम्भारको जिम्मेवारी भारतीय पक्षको हो ।

तर, भारतीय पक्षले उक्त सीमा स्तम्भ मर्मत सम्भार समेत गरेको छैन । निकुञ्ज क्षेत्रको करिब ९ सय बिघा जमिन भारतीय पक्षले तीन दशकदेखि उपभोग गरिरहेको जानकारी पाएपछि जमिन फिर्ताक लागि पहल थालिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए । सो क्षेत्रको स्थलगत अनुगमन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।

निकुञ्जको दक्षिणतिर अन्दाजी ९ सय बिघा जमिन भारतीय नागरिकहरूले भोगचलन गरिरहेको पाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । तर, उक्त भूभाग अझै बढी हुन् सक्ने अनुमान गरिएको छ । सशस्त्र द्वन्द्वकाल र त्यसयता नेपालमा देखिएको अस्थिरताकै कारण भारतीय पक्षले नेपाली जमिन कब्जा गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

बउक्त जमिन भोगचलन गरिरहेका भारतीय नागरिक करिब तीन दशक भन्दा लामो समयदेखि बसोबास गरिरहेको बताउँछन् । उनीहरू भन्छन्, ‘केही जमिनको पुर्जा छ भने केही कब्जा गरेका हौं ।’ भारतीय नागरिकले खुलेआम ‘हामीसँग पुर्जा छ’ भनी दाबी गर्दा नेपाली जमिनको लालपुर्जा उनीहरूले कसरी पाए भनि प्रश्न समेत उठेको छ । उनीहरूले निर्धक्क नेपाली भूभाग कब्जा गरेर भोगचलन गरिरहेका छन्, तर निकुञ्ज क्षेत्र भएकाले नेपाली नागरिकहरूलाई आफ्नै भूमिमा प्रवेश गर्न रोक लगाइएको छ ।

अतिक्रमित क्षेत्रसम्म पुग्न नेपालतर्फबाट बाटो छैन भने निकुञ्ज भित्रका नदीनाला माथि पुल नभएका कारण सवारी साधन प्रयोग गर्न समेत सकिएको छैन । अनुगमनका लागि हात्तीको सहारा लिनुपरेको छ । पूर्वाधारको अभावले भारतीय पक्षलाई अतिक्रमण गर्न सजिलो बनाएको छ । यसै वर्ष मात्र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा पर्ने थप ५० बिघा नेपाली जमिन खनजोत गरिरहेको पाइएपछि दुई जना भारतीय नागरिकलाई पक्राउ गरी मुद्दा चलाइएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले बताए ।

नेपाली भूभाग यसरी भारतीय पक्षले दशकौंदेखि अतिक्रमण गरिरहँदा नेपाली पक्षले भने ढिलो गरी चाल पाएको छ । त्यसपछि सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । निकुञ्ज विस्तारका क्रममा विस्थापित हजारौं नेपाली नागरिकहरू वन जंगल र खोलानाला किनारमा कष्टकर जीवन बिताइरहेका छन् ।

यसअघि पनि कञ्चनपुरका विभिन्न भूभागमा भारतीय अतिक्रमणबारे आवाज उठाइएपनि ठोस निष्कर्ष निस्किएको छैन । कञ्चनपुरको प्यारातालदेखि ब्रह्मदेव र दोधारा चाँदनीसम्म भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ् । आनन्द बजारमा कल्भर्ट निर्माणका क्रममा भएको विवादमा गोविन्द गौतमको हत्या भएको थियो ।

निकुञ्जको ९ सय बिघा जमिन भारतीयको कब्जामा

बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

निकुञ्जको ९ सय बिघा जमिन भारतीयको कब्जामा

कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ