बाँकेको बैकुण्ठधाम महायज्ञमा तीन करोड रुपैयाँ संकलन


सरला सुवेदी ।
नेपालगन्जको रामलिला मैदानमा आयोजित सिधनियाघाट बैकुण्ठधाम निर्माणार्थ भागवत कथा महायज्ञबाट तीन करोड रुपैयाँ संकलन भएको छ । कात्तिक २२ देखि ३० गतेसम्म चलेको महायज्ञमा दीनबन्धु पोखरेलले कथा वाचन गरेका थिए ।
बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार महायज्ञबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपैयाँ संकलन भएको छ । संकलित रकममध्ये ७५ लाख खर्च भइसकेको छ ।
कोषाध्यक्ष श्रेष्ठले १ करोड ४५ लाख ९७ हजार ४२८ रुपैयाँ नगद, २१ लाख ६६ हजार १५२ रुपैयाँको चेक, र ६० लाख ४४ हजार ४७ रुपैयाँ प्रतिज्ञा गरिएको जानकारी दिए । चेक साट्न र प्रतिज्ञा गरिएको रकम उठाउन बाँकी रहेको छ ।
नेपालगन्जका मेयर प्रशान्त विष्टले डुडुवा गाउँपालिका वडा नं. ४ मा एक कठ्ठा र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष दीपक बर्माले नेपालगन्ज–१९ मा १६ धुर जग्गा दान गरेका छन् ।
मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले अझै दुई करोड रुपैयाँ जुटाउने लक्ष्य राखिएको र महायज्ञका लागि गठित उपसमिति तथा सचिवालय विघटन गरिएको बताए । महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समाजमा सहयोग भावनाको जागरण ल्याएको उनले उल्लेख गरेका छन् ।






