भेरी पुलको पुनः अध्ययन गरी १८ महिनामा निर्माण सम्पन्न गर्ने योजना


मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण कार्य पुनः अध्ययन गरी अघि बढ्ने भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकालाई जोड्ने उक्त पुल निर्माणका लागि यसअघि तयार गरिएको केबल स्पेयड सस्पेन्सन डिजाइनले व्यवहारिक चुनौतीहरू निम्त्याएपछि नयाँ सम्भाव्यता अध्ययन थालिएको हो ।
मध्यपहाडी लोकमार्ग आयोजनाका कायममुकायम निर्देशक रविन्द्रलाल दासका अनुसार, अध्ययनका लागि पुलचोक इन्जिनियरिङ क्याम्पसको टोली आउने तयारीमा छ । “पुनः अध्ययनबाट ट्रस्ट ब्रिज बनाउन उपयुक्त देखिएमा तत्परताका साथ काम अघि बढाइनेछ,” उनले बताए । नयाँ योजना अनुसार, निर्माण कार्य १८ महिनाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
निर्देशक दासका अनुसार, ट्रस्ट ब्रिज बनाउन आवश्यक सामग्री नेपालमै उपलब्ध हुने भएकाले आयातको झन्झट नहुने र अध्ययन प्रतिवेदन आएलगत्तै निर्माण कार्य अघि बढाइने छ । “सामान तयारी र स्थलमा ल्याइपुग्न समय लागे पनि जडानको काम २–३ महिनामै सकिन्छ,” उनले थपे ।
पुल निर्माणको वर्तमान अवस्था
२०७६ सालमा वाइपि कन्स्ट्रक्सन प्रालिले १३ करोड ४७ लाखको ठेक्का लिए पनि ३० प्रतिशत मात्र काम सम्पन्न गरी पुल अलपत्र छाडेको थियो । ठेक्का रद्द गरिएपछि दुई पटक टेन्डर आह्वान गरिएको भए पनि निर्माण व्यवसायीहरूको चासो नदेखिँदा काम अघि बढ्न सकेन ।
पुल निर्माण स्थलको हालैको अनुगमनमा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, र आयोजना कार्यालयका निर्देशक दासको टोलीले समस्या समाधानमा जोड दिएको छ ।
स्थानीय र जनप्रतिनिधिको आवाज
प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले पुल निर्माणमा व्यवसायीको लापरबाही र प्राविधिक समस्याले स्थानीय जनतालाई प्रत्यक्ष मारमा पारेको बताए । “हामीले दबाब दिएका कारण ठेक्का रद्द र नयाँ टेन्डर आह्वान भए पनि व्यवसायीहरू स्टामेट हेरेर निर्माण अघि बढाउन डराइरहेका छन् । अब डिजाइन परिवर्तन गरेर भए पनि पुल निर्माण गर्नुपर्छ,” उनले भने ।
राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको आयोजनामा यस्तो ढिलाइ हुनु लज्जास्पद भएको भन्दै पुलको तत्काल निर्माणमा जोड दिए । स्थानीय जनप्रतिनिधिहरूले पटकपटक अनुगमन भए पनि काम सुरु नभएकामा असन्तोष व्यक्त गर्दै दबाब जारी राख्ने बताएका छन् ।






