कर्णालीका २२ स्थानीय तहको स्थानीय शिक्षा योजना बन्ने


कर्णाली प्रदेशका दश जिल्लाका २२ स्थानीय तहको स्थानीय शैक्षिक योजना निर्माण हुने भएको छ । शिक्षा क्षेत्रको बिकास सम्वन्धि स्थानीय तहको अगुवाई र साझेदार निकायको सहयोगमा स्थानीय शिक्षा योजना बनाउन लागिएको हो ।
हालसम्म आफैले स्थानीय शिक्षा योजना नबनाएको कारण पहिलो पटकका लागि कर्णालीका दश जिल्लाका २२ स्थानीय तहहरुको सो योजना निर्माण गर्न लागिएको समाज जागरण केन्द्र ( स्याक) नेपालका हरि तिवारीले बताए । यसका लागि युनिसेफ नेपालको आर्थिक सहयोग, स्याकको प्राविधिक सहयोगमा र सम्वन्धित स्थानीय तहको पनि सहलगानीमा यो योजना निर्माण हुने छ ।
यो योजना आगामी शैक्षिक सत्र सुरु हुनु भन्दा पहिले नै तयार पारिने छ । स्थानीय तहले शैक्षिक क्षेत्रका समस्याहरु समाधान गर्नका लागि पनि यो योजना निर्माण गर्नु आवश्यक देखिन्छ । जसमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका परेको छ, भने जुम्लाबाट कनका सुन्दरी र सिंजा गाउँपालिका छनौट भएका छन् । डोल्पाबाट ठुली भेरी गाउँपालिका, मुगु जिल्लाबाट छायानाथ रारा नगरपालिका, कालिकोटको सान्नी त्रिबेणी, रास्कोट र खाँडाचक्र गाउँपालिका परेका छन् ।
त्यसैगरि सुर्खेतबाट भेरीगंगा, चौकुने, बराहताल र सिम्ता गाउँपालिका परेका छन् । त्यसैगरि दैलेख जिल्लाबाट नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिका रहेका छन् । त्यसैगरि जाजारकोटको कुशे र छेडगाड नगरपालिका परेका छन् । सल्यानको सिद्ध र त्रिबेणी गाउँपालिका परेका छन् । रुकुमपश्चिमको चौझारी नगरपालिका र त्रिबेणी गाउँपालिका परेका छन् ।
यसका लागि तिवारीले हुम्लामा आएर स्थानीय शैक्षिक योजना निर्माणका लागि चार दिने कार्याशाला सञ्चालन गरेका हुन् । कार्यशालामा स्थानीय शैक्षिक योजना निर्माणका लागि गाउँपालिकाका सबै विद्यालयका प्रधानाध्यापक, शिक्षासंग सरोकार राख्ने निकायका प्रतिनिधिहरु सहभागी रहेका थिए । स्थानीय आवश्यकताका आधार योजना निर्माण गर्नु पर्ने भएको कारण कार्यशालामा स्थानीयलाई सहभागी गराएर उनीहरु कै रायका आधार योजना निर्माण गरिने छ ।
यस्तो कार्यशाला शैक्षिक योजना निर्माण हुने छनौटमा परेका कर्णालीका सबै स्थानीय तहमा सञ्चालन गरिनेछ ।






