२०८२ फाल्गुन ५ गते
×

Now Playing

नाग्म–गमगडी सडकको ८७ किमी अझै हिलाम्य


नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक सञ्चालन भएको करिब डेढ दशक भयो । सरकारले रारा पर्यटन वर्ष २०७५ मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा राराताललाई छनोट गरे पनि त्यहाँ पुग्ने मुख्य सडकको स्तरोन्नतिमा ध्यान दिन सकेन । कर्णालीको आर्थिक समृद्धिको लक्ष्यसहित सुरु गरिएको रारा पर्यटन वर्ष पनि असफल भयो ।

अपेक्षित पर्यटक भित्र्याउन नसक्नु र आएका पर्यटक पनि सन्तुष्ट नहुनुमा सडक पूर्वाधार भरपर्दाे नहुनु र होटल व्यवस्थित नहुनु मुख्य कारण हुन् । यसका कारण रारामा आर्थिक समृद्धिको प्रचुर सम्भावना भए पनि कर्णालीले लाभ लिन सकेको छैन । नाग्म–गमगडी सडक सञ्चालन भएको डेढ दशकपछि ६ किमीमात्रै कालोपत्रे भएको छ । कुल ९३ किलोमिटर दूरी रहेको उक्त सडकको ६ किमी कनकासुन्दरी–८ को रोकायाबाडादेखि बोतासम्म कालोपत्रे भएको हो ।

२०७९ पुस ९ गतेबाट सञ्चालनमा आएको नाग्म–गमगडी सडकको ९३ किमी दूरीमध्ये अझै ८७ किमी हिलाम्य र धुलाम्य नै छ । रारा घुमेर नयाँ अनुभव बटुल्दै आएका पर्यटक नाग्म–गमगडी सडक र कर्णाली राजमार्गमा हिउँदको धुलो र बर्खाको हिलो सम्झेर फेरि रारा नफर्किने दुःख सुनाउँछन् । सम्भावना भए पनि गतिलो पूर्वाधार नहुँदा एकपटक आइसकेका पर्यटक फेरि आउने स्थिति छैन । यो सबैको मुख्य कारण भनेकै हिलाम्य र धुलाम्य सडक हो ।

साउन–भदौको हरियाली वातावरणमा पर्यटक आउने उपयुक्त समय भए पनि हिलाम्य सडकका कारण आउन सकिरहेका छैनन् । सम्भावना भएर पनि पूर्वाधार अभावले अपेक्षित पर्यटक नआँउदा प्रत्यक्ष घाटा कर्णालीले व्यहोरेको छ । सरकारलाई भने यसको कुनै मतलब छैन । राराताल, सिञ्जा सभ्यता, चन्दननाथ, भैरबनाथ, गिडिदह लगायतका पर्यटक क्षेत्रलाई लक्षित गरी नाग्म–गमगडी सडक र कर्णाली राजमार्गलाई विशेष प्राथमिकता दिएर स्तरोन्नति गर्नुपर्ने कर्णालीबासीको पहिलेदेखिकै माग हो । संघीय सरकारले हरेक आर्थिक वर्षको बजेटमा उपेक्षा गरेकै कारण धुलो र हिलो नभनी जोखिम मोलेर सास्तीपूर्ण यात्रा गर्न बाध्य भएको सिञ्जाका स्थानीय दिपेन्द्र उपाध्याय बताउँछन् ।

उनले भने, ‘‘सडक खुलेको वर्षांैपछि थोरै भए पनि कालोपत्रे भयो । यसमा खुसी छौं । तर, कर्णालीको समृद्धि र जनजीवनसँग जोडिएको कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको सुधारलाई सधै उपेक्षा गर्नु ठूलो अन्याय हो । जुम्लाका सांसदहरुको पनि यसमा ठोस पहल देखिएन । आखिर कहिलेसम्म हिलो–धुलोमै यात्रा गर्ने ?’ जुम्लाबाट प्रायः आन्तरिक तथा बाह्य पर्यटक रिजर्भमा लिएर जाने चालक लोकेन्द्र कट्टेलले नाग्म–गमगडी सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बताए । उनले भने, ‘हिलो र धुलोका कारण यात्रुले त सास्ती पाएका छन् नै । विभिन्न ठाउँमा गाडी फस्ने, पट्टा भाँचिने, खोलामा फसेर इन्जिन नै फेर्नुपर्ने जस्ता समस्याले आम्दानीभन्दा बढी खर्च छ । कष्टका बीच पनि पर्यटकको ओइरो लाग्दा सरकारले किन नबुझेको होला भन्ने लाग्छ । सडक सुधार र होटल राम्रो भए पर्यटक थामी नसक्नु आउँछन् ।’

कालोपत्रे गर्न बजेट छैन
नाग्म–गमगडी सडक कालोपत्रे गर्न चालु आर्थिक वर्षमा ठोस बजेट छैन । डेढ दशकपछि ६ किमी सडक कालोपत्रे भए पनि बाँकी सडक हिलाम्य र धुलाम्य नै हुने भएको छ । कनकासुन्दरी गाउँपालिका क्षेत्रमा पर्ने कनकासुन्दरी–७ रोकायाबाडा गाउँदेखि वडा नं. २ बोतागाउँसम्म ६ किमी सडक कालोपत्रे गरिएको हो ।

कालोपत्रेका लागि छुटै बजेट नआएको र महावु हुँदै नाग्म–गमगडी सडक निर्माणको ठेक्काअन्तर्गत ३५ करोड लगानीभित्र ६ किमी सडक कालोपत्रे गरिएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताए । २०७८ पुस १२ गते सम्झौता भएको उक्त योजना २०८१ पुसमा सक्नुपर्ने सम्झौता भएको छ । कालोपत्रेदेखि नाग्म–गमगडी सडकको अन्य निर्माणको ठेक्का थोदुङ बासना जेभी निर्माण कम्पनीले लिएको छ । कालोपत्रेका लागि भनेर छुट्टै कुनै बजेट नरहेको र महावु–नाग्म–गमगडी सडक स्तरोन्नति अन्तर्गतको बजेटबाट यो वर्ष ६ किमी सडक कालोपत्रे गर्न थालिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा नाग्म–गमगडी सडकका लागि १५ करोड विनियोजन भए पनि सबै पुरानै दायित्व तिर्न ठिक्क हुने अवस्था छ । प्रमुख मण्डलले भने, ‘कालोपत्रेका लागि छुट्टै बजेट आएको छैन । अन्य काम गर्न पनि बजेट अभाव छ । १५ करोड विनियोजन भएको छ । गत वर्षकै दायित्व करोडौं छ । बजेट अभाव र काम नगर्ने ठेकेदारका कारण निकै समस्या छ ।’

नाग्म–गमगडी सडकको ८७ किमी अझै हिलाम्य

लघुउद्यमबाट आयआर्जन गर्दै बाँकेका दलित महिला

नाग्म–गमगडी सडकको ८७ किमी अझै हिलाम्य

राष्ट्रपतिद्वारा तीन राज्यमन्त्री नियुक्त