गतिलो सडक नहुँदा निर्माण सामाग्री ढुवानी गर्नै मुस्किल


विकासका महत्वपूर्ण पूर्वाधार मध्यको एक हो सडक । सडक पूर्वाधारको विकास विना समृद्धिको कल्पना असम्भव छ । देशमा विभिन्न समयमा भएका क्रान्तिको बलमा आमुल परिवर्तन भएको राजनीतिक नेतृत्वले दावी गरिरहदा कर्णालीले भने अझै पनि समृद्धिको पथ समाउन सकेको छैन ।

कर्णालीमा बाह्रै महिना सहज यातायात सञ्चालन हुने सडकहरु छैनन् । भएका पनि सहज यातायात सञ्चालनका लागि मापदण्डअनुसारका छैनन् । गतिलो सडक सञ्जाल नभएको कर्णालीमा ठुला प्रकृृतिका आयोजना सञ्चालनका लागि आवश्यक पर्ने निर्माण सामाग्री सहज ढुवानी गर्न समस्या छ ।

जसको उदाहरण बनेका छन् केही सातायता दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि आवश्यक पर्ने मेसिनरी सामान बोकेका ट्रक । चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि निर्माण सामाग्री बोकेका ट्रकहरु साघुरो सडकका कारण सहज आयोजनास्थलसम्म पुग्न सकेका छैनन् ।

आयोजनाका लागि निर्माण सामाग्री बोकेका एक सय २८ वटा ट्रक दैलेख पुग्नुपर्ने हुन्छ । हालसम्म २५ वटा मात्र त्यस्ता ट्रक मुस्किलले आयोजनास्थल भैरवी गाउँपालिका–१ जलजले पुगेका । रुपैडियाँ नाकाबाट बन्दोबस्तीका सामानसहित हिँडेका अधिकांश ट्रक साघुरो कर्णाली राजार्गका कारण बाटोमै अलपत्र परेका छन् । नेपालगन्जदेखि प्रदेश राजधानी सुर्खेतसम्म जेनतेन आइपुगेका केही ट्रकहरु उक्त सडक खण्डमा मोड नपुगेपछि बाटो मै अलपत्र परेका छन् ।

४१ फिटसम्म लामा पाँच वटा ठुला मालबहाक ट्रकहरू कर्णाली राजमार्ग खण्डमा मोड नपुगेका कारण तीन दिनदेखि बाटोमै अलपत्र अवस्थामा छन् । रोकिएका ट्रकहरू पास गर्न सडकको मोड व्यवस्थापन गर्ने काम तीव्र पारिएको छ । क्रेन र ठूलो डोजरको सहायतामा अन्वेषणस्थल जलजले ल्याउने तयारी भइरहेको छ ।

यसअघि नै डिजाइन गरेर सडक चौडा गर्न सडक विभागलाई भनिएको भए पनि सडक विभागका प्राविधिकहरुको गैर जिम्मेवारीपन र निर्माणको जिम्मा लिएका कम्पनीको लापरबाहीले समस्या उत्पन्न हो । रुपैडिया नाकाबाट झण्डै एक सय बढी ट्रकहरू दैलेखका लागि हिँडिसकेका छन् । कर्णाली राजमार्ग आफैमा मृत्यु मार्गको रुपमा परिचित छ । यस सडककै कारण वितेका दुई दशकको अवधिमा झण्डै एक हजार बढीले अनाहकमा ज्यान गुमाइ सकेका छन् । यस्तै कर्णालीमा जथाभावी खनिएका असुरक्षित सडकका कारण नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था त छ दै छ वर्षेनी यस्ता सडककै कारण सयौं बस्ती जोखिममा पर्दै गएका छन् ।

धमाधम हुँदै अन्वेषणको काम
आएका सामानहरू अनलोड गर्दै धमाधम अन्य काम सुरु गरिएको र पहिलो लटका ठूला ट्रकहरू सहज पास गरिसकेपछि अन्यका लागि समस्या नहुने खानी तथा भूगर्व विभागका अन्वेषण परियोजना प्रमुख दिनेशकुमार नापितले बताए ।

यी ट्रकहरु मार्फत पुग्ने मेसिन पेट्रोलियम पदार्थ रहे नरहेको बारेमा अन्तिम अन्वेषणका लागि प्रयोग हुनेछन् । ‘अन्तिम अन्वेषणपश्चात् दैलेखको भूभागमा कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुराको पत्ता लाग्नेछ’ उनले भने, ‘सोहीअनुसार अर्को प्रक्रिया सुरु गरिनेछ ।’

नेपाल सरकार र चीन सरकारसँग भएको जिटुजी सम्झौताअनुसार सुरु गरिएको अन्वेषणको कामले पूर्णता पाएमा नेपाल समृद्धिको नयाँ बाटो खुल्ने नापितको बताउँछन् । आयोजना स्थलको सुरक्षा दैलेखमा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गर्दै आएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको बताए ।

त्यस्तै आयोजनाको अन्तिम ड्रिलिङको पोइन्टबाट करिब ४० मिटर उचाइसम्म मेसिन पुग्ने, मेसिन जडानको करिब ४० मिटरमाथि ड्रिलिङको लागि इन्जिनियर बस्ने गरी संरचना तयार गर्नुपर्ने भएकोले सोहीअनुसारका ठूला समानहरू ल्याउने र जडान गर्ने काम तीव्र पारिएको छ । अन्तिम अन्वेषणका लागि करिब ४ किलोमिटरमुनिसम्म ड्रिलिङ गरिनेछ ।

पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण सफल भए यसबाट निकालिने पेट्रोलियम पदार्थ प्रशोधन पनि दैलेखमै हुनुपर्ने माग स्थानीयहरुले राख्दै आएका छन् । दैलेखका राजनीतिक दल, नागरिक समाज, निर्वाचित जनप्रतिनिधि सबैले दैलेखको भूभागमा कच्चा पदार्थ भेटिएपछि अन्यत्र लिन नदिने र दैलेखमै प्रशोधन गर्नेमा ऐक्यबद्धता जनाएका छन् ।

राजमार्ग सुधार्न सांसद थापाको माग
दैलेखका संघीय सांसद अम्मरबहादुर थापाले पेट्रोलियम अन्वेषण परियोजनाका लागि कर्णाली राजमार्ग साघुरो भएकाले कारणले राजमार्ग सुधार गर्नका लागि बजेटको माग गरेका छन् । परियोजनास्थल जानका लागि आएका ट्रक बीच बाटोमा रोकिएका कारणले राजमार्ग सुधारका लागि बजेटको व्यवस्था गर्न माग गरेका हुन् ।

परियोजनाको काम अगाडी बढाउनका लागि आवश्यक सामग्री लैजानका अप्ठयारो भएका कारणले उनले सडक सुधार गर्न संघीय सरकार तथा कर्णाली प्रदेश सरकार र सडक विभागसँग माग गरेका हुन् । ‘मैले मन्त्रीज्यूलाई फोन गरेर बजेटको व्यवस्था माग गरेको छु ।’ उनले भने,‘अब सडक सुधारका लागि पहल चाल्छु ।’

आयोजनाको सामाग्री बोकेको ट्रक दुर्घटना
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक मंगलबार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली राजमार्गको पालीमा दुर्घटना भएको हो । नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा लगिँदै गर्दा दुर्घटना भएको हो । ठूला ट्रक, साँघुरो सडक हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

ठूला उपकरण बोकेका ट्रक दैलेख पुग्न कठिन भएको आयोजना विभागका प्रमुख दिनेश नापितले बताए । ‘साना ट्रकलाई दैलेखको खण्डबाट लगेका छौं तर ठूला ट्रकलाई कर्णाली राजमार्गमै मोड पुग्दैन ।’ उनले भने,‘मोडैमा समस्या भएको छ ।’

गतिलो सडक नहुँदा निर्माण सामाग्री ढुवानी गर्नै मुस्किल

अलपत्र संचालन गर्न ऐन बनाउने तयारी

गतिलो सडक नहुँदा निर्माण सामाग्री ढुवानी गर्नै मुस्किल

मौसमी फ्लुका बिरामीले स्वास्थ्य संस्था भरीए