पातारासीमा पाँच सय घरधुरीका महिलालाईः निःशुल्क प्याड

पहिले महिनावारी (छुई) हुँदा लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन्।जुम्लाको पातारासी गाउँपालिका –४ की तारादेवि बुढा । लगाउन नमिल्ने कपडालाई सानो – सानो टुक्रा बनाइ महिनावारी( छुई) भएको बेला प्रयोग गर्ने गरेको उनी बताउँछिन्।‘महिनावारी हुदा कुनामा फालेको टालो (कपडा) लगाउने गर्थाैँ’ बुढाले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो ।
एक पटक धोएर राखेको र राम्रोसँग नसुकेको कपडा लगाउँथ्यौँ।’महिनावारीको समयमा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आएकी हरिदेवि आजभोलि नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन् ।
‘बुढाले भनिन्, ‘प्याड प्रयोग गर्न थालेपछि सजिलो लाग्ने रहेछ।’महिनावारीको समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा उनी खासै जानकारी थिइनन् ।
त्यतिमात्र होइन, महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न पनि लज्जित हुन्थिन्।महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आएकी उनले अहिले सरसफाईका रुपमा पनि बुझ्न थालेकी छन्। उनी भन्छिन्, ‘यस्तो बेलामा सरसफाईमा ध्यान दिनुपर्ने रहेछ ।

पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले केही वर्षदेखि प्याड वितरण संगै प्रयोग गर्ने तरिका र डिस्पोज गर्ने उपायबारे सचेतना दिए बाट उनी प्रष्ट भइन्।छोरीहरूलाई पनि भन्ने गरेकी छु।’हरिदेवि जस्तै सोही वडाकी मुना बुढाले पनि झुत्रा कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेको बताइन् ।
अहिले सोही वडाकी प्रायःजसो महिलाहरु सेनेटरी प्याड प्रयोग गर्छन्।गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाले महिलालाई प्याड वितरण गरिरहेको शाखा प्रमुख भगवती गिरीले बताइन् ।
४ नम्बर वडामा स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको उनी बताउँछिन्। छुईगोठ मुक्त घोषणा कार्यक्रमबाट महिलालाई प्याड वितरण हुदैछ । ‘महिला शाखा र ४ नम्बर वडाको आर्थिक सहयोगमा उक्त वडा भित्रका पाँच सय घरधुरीका महिलाहरूलाई सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन उपलब्ध गराइएको हो ।
४ वडाका तिर्खु, डिल्लीचौर, डोल्काटी, लाम्री र वैसेनी गाउँका महिलाहरूलाई कतै घरदैलोमा त कतै वडा कार्यालयमा पुगेर बाडिएको थियोे। यसअघि सो वडाको लुम र भोटागउँमा पनि सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन र टावेल प्रदान गरिएको शाखाले जनाएको छ।यस्तै २ नम्बर वडाका पेरे र तल्फि गाउँका महिलाले पाइसकेकी छन् ।
यसैगरी गाउँपालिकाकोे – २,४ र ५ नम्बर वडा छाउपडीमुक्त घोषणा भइसकेका छन्।भने वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा पनि गरिएको छ ।
शाखा प्रमुख गिरीका अनुसार आगामी दिनमा किशोरीहरूलाई विद्यालयमा सेनेटरी प्याड बनाउने तालिम दिन आवश्यक छ ।
आगामी बजेटमा प्रस्ताव गरिनेछ।महिला शाखा र वडा पालिकाले सुरक्षित स्वास्थ्य सामग्री घरदैलोमा वितरण गर्दै आएको छ।निःशुल्क सेनेटरी प्याड पाए पाउन थालेपछि महिला र किशोरी खुशी छन्।
प्याड प्रयोग गर्नाले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको देखिन्छ। ‘प्याड वितरणसँगै छुईगोठ मुक्त घोषणा कार्यक्रमबाट महिनावारीको विषयमा जोडिएको नकारात्मक धारणा हटाउनुका साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो’ गिरी भन्छिन्, ‘महिनावारीको समयमा घरबाहिर अलैग्गै बस्ने चलन हटेको छ। उनी भन्छिन्, ‘विस्तारै कुप्रथा हट्दै गएको उनको दाबी छ ।
यता – ४ का वडाध्यक्ष कालिबहादुर ऐडीले प्याड वितरणले महिनावारी स्वच्छतामा सकारात्मक प्रभाव पारेको बताए। निःशुल्क प्याड वितरण कार्यक्रमले सरसफाईमा ध्यान दिनुपर्छ भन्ने चेतनाको विकास गराएको बताउँछन्।






