सम्पादकीय: हुम्लीका अधुरा सडक सपना

हुम्ला, राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक्लो जिल्ला । कर्णालीको विकट हिमाली जिल्ला हुम्लालाई यसरी चिनाउने गरिन्छ । कैलाश पर्वतको प्रवेशद्धार भएपनि सडक सञ्जाल नहुँदा महंगो हवाइ यात्रा र तिब्बतको लामो बाटोको प्रयोग हुने गरेको छ ।
उत्तरी छिमेकी चीन र यसको स्वशासित क्षेत्र तिब्बतसंग सीमा जोडिएको हुम्ला सडक सञ्जालमा नजोडिँदा विकासका अन्य सूचकांकमा समेत पछाडि परेको छ । हुम्लालाई सडक सञ्जालमा जोड्ने हरेक सरकारको प्राथमिकता रहेपनि कार्यान्वयनको गति भने धिमा छ । जसले गर्दा हुम्लाबासीको गाडी चढ्ने सपना पुरा हुन सकेको छैन् ।
सरकारले आव २०५५÷५६ देखि कर्णाली करिडोरलाई हुम्ला सदरमुकाम सिमीकोट हुँदै उत्तरी नाका हिल्सासम्म सडक सञ्जाल विकास गर्ने लक्ष्य लिएको थियो । त्यसयताका हरेक सरकारले बजेट विनियोजन पनि गरिरहेका छन् । नेपाली सेनाले यसको जिम्मा लिएको छ । यद्यपि यो हुम्लामा सडक पु¥याउने आयोजना कर्णाली करिडोर निर्माण अन्तिम चरणमा पुगेको छ ।
नेपाली सेनाका अनुसार हुम्लाको लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर कडा चट्टानी ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । आगामी बैशाखबाट करिडोर सञ्चालनमा आउने भएको बताइएको छ । करिडोर अन्तर्गत पर्ने सडकमध्ये ट्रयाक खुल्न बाँकी छहारेदेखि लिप्चेसम्म ८ सय मिटर भिर काट्ने काम अन्तिम चरणमा पुगेसँगै बैशाखबाट सञ्चालनको तयारी रहेको हो । यो हुम्लीका लागि सुखद समाचार हो ।
कर्णाली करिडोर अन्तर्गतको लालीबगर–दुल्लीकुना सडकको ट्रयाक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिनेछ । सेनाले अहिले काम गरिरहेको लालीबगर–दुल्लीकुनाअन्तर्गत पर्ने छहारेदेखि लिप्चेसम्मको भीर सबैभन्दा कठिन मानिन्छ । कडा चट्टान फुटाउनका लागि ब्लास्टिङको काम सकिएको छ । सडक विभागले काम गरिरहेको बोक्चे गौडा, भी–गौंडा, दुली कुना र याङ्चुका मोड काट्नुका साथै सडकको लेभल मिलाउँदैछ ।
कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँके अन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी ५०५ किलोमिटर पर्दछ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सीमा क्षेत्र हिल्सासम्म पुग्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हिल्सा पुग्न ४१९ किलोमिटर पार गर्नुपर्ने हुन्छ । कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ । कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी २ सय ६८ किलोमिटर हो । सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन् ।
२०७८ साउनमा सेनाले कर्णाली करिडोर अन्तर्गतको खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो । हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक अहिले पनि सञ्चालनमा छ । कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन ।
त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट जोडिनु कर्णालीका लागि महत्वपूर्ण छ । कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार पुन सुरु हुनुका साथै मानासरोवर यात्रा गर्नेका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा छोटो र सहज हुनेछ । नयाँ वर्षको अवसर पारेर राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र जिल्ला हुम्ला सदरमुकाम सिमकोटमा गाडी पु¥याउने लक्ष्य पुरा होस् ।






