सोती घटनाः २४ जनालाई जन्मकैदको सजाय

रुकुम पश्चिमको सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय भएको छ । चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत, रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको हो ।

साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।

आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ शुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो । उनीहरुलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ ।

उक्त घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए भने तीन जना थुनाबाहिर थिए । थुना वाहिर रहेका दुई जनालाई जातीय छुवाछुतको कसूरमा दुई वर्ष कैदको सजाय सुनाइएको छ । दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ ।

२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।

नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा उक्त घटनामा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो । उनीहरूमध्ये एक जना ९किशोरीकी आमा० धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो । ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो ।

सोती घटनाः २४ जनालाई जन्मकैदको सजाय

हामी सरकारबाट हटेको होइन, हटाएको हो :

सोती घटनाः २४ जनालाई जन्मकैदको सजाय

YUGAAWHAN NATIONAL DAILY (2080-08-20)