कर्णालीमा हिमपात, हवाई उडान प्रभावित

हिमाली जिल्ला जुम्ला लगायतका अन्य जिल्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ ।
आइतवारदेखि मौसम बदली भई रातिदेखि भारी हिमपात भएको हो । गत वर्ष ढिला हिमपात सुरु भए पनि यस पटक भने मंसिर तेस्रो सातामा हिमपात भएको हो। हिमपातसँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । हिमपातले हिमाली जिल्ला हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएका छन् ।

जुम्लाको सिंजा क्षेत्र कनकासुन्दरी, सिंजा, तिला र हिमा गाउँपालिका सदरमुकाम क्षेत्र पातारासी, गुठिचौर, तातोपानी र चन्दननाथ नगरपालिकाको माथिल्लो क्षेत्रमा बढी हिमपात भएको छ । बिहानैदेखिको प्रतिकूल मौसमपश्चात हिउँ परिरहेको छ ।
लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू हिउँ पर्न थालेपछि खुसी भएको सिंजा–६ वडा अध्यक्ष लालबहादुर बुढाले बताए ।
त्यस्तै डोल्पा, मुगु र कालिकोट जिल्लाका माथिल्लो भागमा पनि हिँउ परिरहेको छ । हिमपातले हिमाली जिल्लामा हवाई सेवा बन्द भएको छ । सोमवार मुगु , डोल्पा, हुम्ला र जुम्लामा हवाई उडान हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।






