टहरा बनाउँदै विभिन्न पार्टीका कार्यकर्ता


भूकम्पबाट भत्किएका घर पन्छाउन र अस्थायी टहरा बनाउन राजनीतिक दलका नेता तथा कार्यकर्ता खटिएका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कार्यकर्ता भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । भूकम्प प्रभावित जनतालाई चिसोबाट बचाउन उनीहरूले अस्थायी टहरा निर्माणको कामलाई तीव्रता दिएका छन् ।

भूकम्पका कारण भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका, बारेकोट गाउँपालिकाका विभिन्न गाउँबस्तीका घर भत्किएर भग्नावशेष भएपछि राहतको भरमा कष्टकर जीवन बिताएका उनीहरूलाई अस्थायी टहरा निर्माण गरी न्यानो दिलाउन पार्टीका नेता कार्यकर्ता गाउँबस्तीमा खटिएका हुन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार नेता प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले नलगाड नगरपालिका–५ रघुनाथटोल, ऐरारी, पोखरा र मूलीमा एक सय अस्थायी टहरा निर्माण गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले एक हजार अस्थायी टहरा निर्माण गर्ने जनाएको छ । नेता पौडेलको नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्रमा एक हजार टहरा निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य लिएको कांग्रेस नेता महेन्द्र शाहले जानकारी दिए ।

नेकपा (एमाले) को भ्रातृ सङ्गठन नेपाल टे«ड युनियन महासङ्घ (जिफन्ट) ले भेरी नगरपालिका–३, थाप्ले, पिपलडाँडा, भेरी नगरपालिका–१, रावतगाउँ, रिम्ना, नलगाड नगरपालिका–१, चिउरी, पाली तथा कुशे गाउँपालिका–७, धनराशिमा एक सय ४९ भत्किएका घरको भग्नावशेषको सफाइ गरेको छ । ४१ वटा अस्थायी टहरा निर्माण गरी जनतालाई हस्तान्तरण गरिसकेको नेकपा (एमाले) का केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

जाजरकोटका विभिन्न बस्तीमा २५ जनाको दरले सबै टोलबस्तीमा भग्नावशेष सफाइ, अस्थायी टहरा निर्माणमा लागेको उनको भनाइ छ ।

नेकपा (एमाले) ले एक हजार अस्थायी टहरा निर्माण गर्ने लक्ष्य लिएको उनले बताए । नेकपा (माओवादी केन्द्र) निकट वाइसिएलका जिल्ला संयोजक यज्ञ बस्नेतका अनुसार माओवादी केद्रका नेता कार्यकर्ताले भेरी नगरपालिका–१, रिम्ना, वडा नं. ३ का ३० वटा भत्किएका घरको भग्नावशेष पन्छाएका छन् ।

भग्नावशेषको काम सम्पन्न गरेपछि अस्थायी टहरा निर्माणमा लाग्ने बताइन्छ । त्यतिमात्र होइन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले भग्नावशेष पन्छाउने काम गरेको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्मका प्रमुख विकास थापाका अनुसार भेरी नगरपालिका–३ पिपलडाँडा, माथिल्लो थाप्ले रावतगाउँका भग्नावशेष पन्छाउन लागेको छ ।

सुर्खेत, नेपालगन्जबाट आएको थप ४३ जनाको टोलीले नलगाड नगरपालिका–१, चिउरी, पाली, कल्पतमा भग्नावशेष पन्छाउने कामसँगै अस्थायी आवास निर्माण गरिरहेको बताए । भूकम्पले घर भत्किएपछि नेता, कार्यकर्ता, सुरक्षा निकाय र स्थानीयवासी पीडित क्षेत्रमा केन्द्रित भएर अस्थायी टहरा भग्नावशेष पन्छाउने कार्य गरिरहेका छन् ।

टहरा बनाउँदै विभिन्न पार्टीका कार्यकर्ता

मेलामा युवाहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

टहरा बनाउँदै विभिन्न पार्टीका कार्यकर्ता

उजाडिएको वन संरक्षण पछि फेरियो स्वरूप